बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार, हानेपाका बज्राचार्य बने मन्त्री

मूलखबर संवाददाता
हेटौंडा, १५ चैत

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । बागतती प्रदेश सरकार अल्पमतमा परिरहेको समयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री जम्कट्टेलको हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । बज्राचार्यले बिहीबार साँझ बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

यसअघि मन्त्री बन्न अस्वीकार गर्नुभएको बज्राचार्य पाँच बुँदे सहमतिपछि सरकारमा सहभागी हुनुभएको हो । केन्द्रमा सत्ता समीकरण फेरिएपछि बागमती प्रदेश सरकारमा रहेको नेपाली कांग्रेस बाहिरिएपछि सरकार अल्पमतमा परेको छ ।

विश्वासको मतका लागि सङ्ख्या जुटाउन लाग्दै आउनुभएका मुख्यमन्त्री जम्कट्टेलको सरकारमा बज्राचार्य मन्त्री बनेसँगै नयाँ बनेको समीकरणका लागि विश्वासको मत लिन बहुमत पुग्नेछ ।