सपनाको रङ फेर्दे …कहाँसम्म पुगौँ ? ( कविता )
गहिरो घाउ बोकेर
यो मरेको शहरमा
परिक्रमा गरिरहेकोछु
भोक मेटाउने औषधिको खोजिमा
अलिकति आशा बोकेर ।
दैनिकीलाई एटीएम कार्ड बनाएर
हावाहुरीले फालेको कसिङ्गर भएर
पत्थरको मन बनाएर
जीवन रुपान्तरणको- अभियानमा ।
हरेक सम्बन्धबाट टाढा हुनु भनेको
झन नजिक र बिर्सन नसकिने हुनु हो
जिन्दगीको सुरुवात हरेकपल भइरहनु हो।
कल्पनाको जीवन र,
यथार्थको जीवन फरक हुने रहेछ
काखीमा तन्नेरी सपना च्यापेर
उदास मनको भङ्गालाहरुमा
छट्पटाइरहेकाछन् साँझविहानका
भात पकाउने ताउलाहरु!
तिमी भन
भरोसाको पोथ्राहरुमा अल्झिरहेको
यो उमेरको मखमली- समय र सम्झना
मनको आँखीझ्यालबाट
सपनाको रङ फेर्दे – आस्था र निष्ठाको लागि
म अब कहाँसम्म पुगौँ ?
-(तिमल्सिना प्रगतिशील साहित्यकार हुन् ।)