बेलायती राजकुमारीलाई भएको क्यान्सर कस्तो हो, उपचार सम्भव छ कि छैन

मूलखबर संवाददाता
काठमाडौं

वेल्सकी राजकुमारी क्याथरिनले आफूले क्यान्सरको उपचार गराइरहेको सार्वजनिक गरेकी छन्। पेटको एउटा शल्यक्रिया गर्ने क्रममा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो।

फेब्रुअरीको अन्त्यबाट क्याथरिनले क्यान्सर बढ्न नदिन अवलम्बन गरिने किमोथेरापी उपचार सुरु गरेकी छन्।

क्यान्सर कहिले पत्ता लागेको थियो?

राजकुमारीको शल्यक्रिया गत ज्यानुअरीमा भएको थियो। दरबारले त्यसको ठ्याक्कै समय सार्वजनिक नगरे पनि शल्यक्रियाको योजनाबारे बताएको थियो र उक्त शल्यक्रिया “क्यान्सर सम्बन्धी नभएको” जनाएको थियो।

राजकुमारीलाई भएको क्यान्सर कस्तो प्रकृतिको हो?
केन्सिङ्टन प्यालेसले उनलाई भएको क्यान्सरको प्रकृतिबारे खुलाएको छैन।

दरबारका एकजना प्रवक्ताले भने, “हामी स्वास्थ्य सम्बन्धी व्यक्तिगत जानकारी सार्वजनिक गर्दैनौँ। हामी सबैलाई जस्तै राजकुमारीलाई पनि आफ्नो स्वास्थ्य गोपनीयता राख्ने अधिकार छ।”

प्रिभेन्टिभ किमोथेरापी के हो?
क्याथरिनले चिकित्सकहरूको टोलीले आफूलाई “प्रिभेन्टिभ किमोथेरापी” भनिने क्यान्सर थप पैलन नदिने उपचार गराउन आफूलाई सुझाव दिएको बताएकी छन्। उनका अनुसार उनी उपचारको प्रारम्भिक चरणमा छिन्।

किमोथेरापी भनेको क्यान्सरका कोशिकाहरू मारेर गरिने उपचार विधिको नाम हो। यो तरल औषधी वा चक्कीको रूपमा पनि दिन सकिन्छ।

यस्तो उपचारमा परामर्शदाताको काम गर्दै आएका प्राध्यापक एन्ड्रू बेग्सका अनुसार शल्यक्रियापछि दिइने प्रिभेन्टिभ किमोथेरापी भविष्यमा क्यान्सर बल्झिने जोखिम रोक्नका लागि दिइन्छ।

यस्तो किमोथेरापी कति मात्रामा र कति समयको अन्तरालमा आवश्यक पर्छ भन्ने कुरा क्यान्सरको प्रकार र त्यसको फैलने दरमा निर्भर रहन्छ।

चिकित्सकहरूले कसरी क्यान्सर पत्ता लगाए?

केन्सिङ्टन प्यालेसले ज्यानुअरीमा भएको शल्यक्रिया सफल भएको जनाएको थियो। तर चिकित्सकहरूले गरेका परीक्षणहरूबाट क्याथरिनलाई क्यान्सर पनि भएको पत्ता लागेको थियो।

साधरणतया शल्यक्रियाबाट निकालिने तन्तुहरूमा रहेका कोषहरू पहिचानका लागि परीक्षण गर्न प्रयोगशालामा पठाइने गरिन्छ।

उनले निजी कहाँ उपचार गराइरहेकी छिन्?
क्याथरिनको पहिलो शल्यक्रिया लण्डनस्थित एक निजी क्लिनिकमा भएको थियो। तर अहिले उनले कहाँ उपचार गराइरहेकी छिन् भन्नेबारे दरबारले केही खुलाएको छैन। भिडिओ सन्देशमा क्याथरिनले आफ्नो उपचारमा संलग्न डाक्टरहरूको टोलीलाई धन्यवाद भनेकी छिन्।

बीबीसीबाट साभार