दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ, जेलबाटै सरकार चलाउने आपको चेतावनी

मूलखबर संवाददाता
काठमाडौं

भारतको नयाँ दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टी (आप) नेता अरविन्द केजरिवाल बिहीबार पक्राउ परेका छन् ।

उनलाई अन्तःशुल्क नीति (सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा इन्फोर्समेन्ट डायरेक्टोरेट अथवा प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोलीले दुई घण्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरेको हो ।

निर्देशनालयले दिल्लीको मदिरा नीतिलाई लिएर उनीमाथि छानबिन गर्दै आएको थियो । यसअघि बयानका लागि पटक पटक बोलाए पनि केजरीवाल उपस्थित भएका थिएनन्।

दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ ।

केजरिवाल पदमै रहँदा पक्राउ पर्ने पहिलो मुख्यमन्त्री बनेका छन् । पक्राउ पर्नुअघि दिल्ली उच्च अदालतले उनको सुरक्षा माग गर्ने निवेदनलाई अस्वीकार गरेको थियो ।

आम आदमी पार्टीका सुप्रमो केजरीवालले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न झुटो आरोप लगाइएको दाबी गर्दै आएका छन् ।

यसअघि दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया र अर्का एक मन्त्री पनि अनियमितता गरेको भन्दै पक्राउ परेका थिए ।

दिल्लीकी मन्त्री एवं आप पार्टीकी नेतृ अतिशी मार्लेनाले अरविन्द केजरिवाल मुख्यमन्त्रीको रूपमा रहने र जेलबाटै दिल्ली सरकार चलाउने बताएकी छन् ।

“उहाँ दिल्लीको मुख्यमन्त्रीको रूपमा जारी रहनुहुनेछ । यदि आवश्यक पर्‍यो भने उहाँले जेलबाट नै सरकार चलाउनुहुनेछ । उहाँलाई जेलबाट सरकार चलाउनबाट रोक्ने त्यस्तो कुनै नियम छैन,” अतिशीले राष्ट्रिय राजधानी दिल्लीमा पत्रकारहरूसँग बोल्दै भनेकी छन् ।