बजेट बहसः अर्थमन्त्री अनन्तलाई सांसदको सुझाव- सिद्धान्त र प्राथमिकता परिवर्तन गर्नुस्

मूलखबर संवाददाता
काठमाडौं

माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका वर्षमान पुन अन्तत नयाँ बजेटको अन्तिम तयारीमा जुटिरहेका छन्।

फागुन १४ गते तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेटका सिद्धान्त र प्राथामिकतामाथि बिहीबारदेखि संसदमा छलफल थालिएको छ। तर अर्थमन्त्री वर्षमान पुनलाई सिद्धान्त र प्राथमिकता परिवर्तन गर्न सुझाव आएको छ।

बहसमा भाग लिँदै पूर्वअर्थमन्त्री समेत रहेका एमाले सांसद विष्णु पौडेलले महतले पेश गरेको बजेटका सिद्धान्त र प्राथामिकता ‘शब्द र वाक्यको भीड मात्रै’ भनेर कटाक्ष गरे।

पौडेलले अर्थमन्त्री पुनलाई भने, ‘यो बजेटको सिद्धान्त र प्राथामिकतालाई शिरदेखि तरसम्मै पुर्नलेखन गर्नुहोस्। यसलाई परिमार्जन गर्नुहोस्। यसलाई समर्थन गर्न लाएक नै छैन।’

महतको प्रस्तावले बजेटका कुनै समस्या समाधान गर्ने उनको दाबी छ। ‘यसमा न सिद्धान्त न प्राथामिकता छ। पेपर पोलुसन मात्रै गर्नुभएको छ। यस्ता प्रस्तावमा छलफल गरेर संसदको समयको अपव्यय मात्रै गर्छ। शब्द र वाक्यको भीड मात्रै भयो। यसले अर्थतन्त्रका विषयलाई कुनै निर्देशित गर्दैन, पौडेलले भने।

गठबन्धन फेर्नु पर्ने आवश्यकता बजेटको सिद्धान्त र प्राथामिकताले देखाउने पौडेलले बताए। कांग्रेसकै सांसदले समर्थन गर्न नसक्ने प्रस्तावले देशको समस्या समाधान गर्नै नसक्ने उनको जिकिर छ।

सांसद पौडेलले सिद्धान्त र प्राथामिकताले अर्थतन्त्र मन्दीमा छ भन्ने तथ्यलाई समेत स्वीकार गर्न नसकेको दाबी गरे। उनले भने, ‘अर्थतन्त्र मन्दीमा छ भन्ने तथ्यलाई नै अस्वीकार गरेको छ। उहाँले डाटालाई गलत ढंगले प्रस्तुत गरेर अर्थतन्त्रको स्वरुपलाई ढाँट्नु भएको छ। संसद र जनतालाई ढाँट्ने काम भएको छ। उहाँलाई लाज लाग्नुपर्ने हो।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्ले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर ल्याउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छन्।

बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै वाग्लले पछिल्लो समय मुलुकको सार्वजनिक वित्तमा संकट देखिएको भन्दै त्यो विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए।

वाग्लले चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय अवस्था दयनिय रहेको बताए। चालु आर्थिक वर्षको ८ महिना ८ खर्ब खर्च रहेको भन्दै चालु खर्च ५ खर्ब ८२ अर्ब, पुँजीगत खर्च ८१ अर्ब र वित्तीय व्यवस्थापन १ खर्ब ३८ अर्ब रहेको बताए।

राजश्व संकलन ६ खर्ब ३९ अर्ब रुपैयाँ रहेको भन्दै लक्ष्य पूरा गर्न नसक्ने अवस्थामा रहेको उनको भनाइ छ।

निवर्तमान अर्थमन्त्री प्रकाशशरण महत ८ महिनामा बजेट कार्यान्वयन गर्न नसक्ने असफल अर्थमन्त्रीका रुपमा प्रस्तुत भएको उनले आरोप लगाएका छन्।

गत वर्ष आफूले अर्थमन्त्रीलाई भनेका कुरा सत्य सावित भएको उनको भनाइ थियो।

‘चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय अवस्था दयनिय छ। १७ खर्ब ५१ अर्बको बजेटलाई अर्धवार्षिक समीक्षामा २ खर्ब घटाएर १५ खर्ब ३० करोडमा ल्याउनु भयो। खर्च हेर्दा ८ खर्ब खर्च गरेका छौं। चालु खर्च ५ खर्ब ८२ अर्ब र पुँजीगत खर्च ८१ अर्ब छ। वित्तीय व्यवस्थापन १ खर्ब ३८ अर्ब जति छ। राजश्व संकलन ६ खर्ब ३९ अर्ब रुपैयाँ छ। हिजोसम्मको ग्याप नै १ खर्ब ६० अर्बको छ,’ उनले भने, ‘अर्थतन्त्र भयावह छ। कुनै हालतमा सफल हुँदैन भन्दा सकिन्छ गर्छु भन्नु भएको थियो।’

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले स्रोत, साधनहरुको व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्र संकुचनमा परेको बताएका छन्।

सांसद शर्माले पर्याप्त स्रोत, साधनहरुको व्यवस्थापन गर्न नजान्दा अर्थतन्त्र संकुचनमा परेको बताए। स्रोत, साधनहरुको सही परिचालन, सही उपभोग र सही व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्रमा समस्या आएको उनको दाबी थियो।

अर्थतन्त्रमा समस्या आउनुको कारण संरचनागत कमजोरी र संस्थागत असक्षमता भएको उनले बताए। संरचना र संस्थाहरु बलियो बनाउन सके परिणाम निस्कने उनले दाबी गरेका छन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार महतले पेश गरेको सिद्धान्त र प्राथामिकतालाई छलफलपछि सुझावसमेतलाई आधार मानेर परिमार्जन गर्ने तयारी अर्थमन्त्री पुनले गरेका छन्।