रुसमा सुरु भयो चुनावः देशको मात्र होइन विश्वका सबैजसो चुनाव पुटिनकै पक्षमा
मार्च १५ अर्थात आज शुक्रबारदेखि रुसमा राष्ट्रपतीय चुनाव हुँदैछ । चुनावमा वर्तमान राष्ट्रपति भ्लादिभिर पुटिन पाँचौं पटक उम्मेदवार बन्दैछन् ।
युनाइटेड रसिया पार्टीका नेता पुटिनको यो चुनावी यात्रा सहजै रहेको रुसी मिडियामात्रै होइन, उनका कट्टर विरोधी पश्चिमा मिडियाहरुले पनि भन्दै आएका छन् ।
अलेक्सी नभाल्नीको मृत्युले अन्ततः भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय समुदायमा बहिष्कृत व्यक्ति बनाइदिनेछ– यस्तो सोच्दा आनन्द आउँथ्यो। तर, हालैको इतिहास र वर्तमान राजनीतिले यसको उल्टो संकेत गर्छ। रुसी नेता पुटिनप्रति विश्वको अधिकांश हिस्सामा सम्मान र प्रशंसाजनक व्यवहार जारी रहनेछ।
रुसमा कसैको अचानक मृत्यु हुँदैमा सी चिनफिङले पुटिनसँगको सम्बन्ध विच्छेद गर्लान् भन्ने अपेक्षा कसैले राख्नु हुँदैन। किनकि लोकतन्त्र समर्थक कार्यकर्ताप्रति सी र पुटिनको दुस्मनी साझा छ। तर, यसभन्दा आश्चर्यको कुरा के छ भने पुटिनसँग अझै पनि विश्वका सबैभन्दा शक्तिशाली लोकतन्त्रका केही नेताहरुले मैत्रीपूर्ण सम्बन्ध कायम राखेका छन्।
वास्तवमा विश्वका तीन ठूला मुलुकले यो वर्ष पुटिनका प्रशंसकहरुलाई आआफ्नो नेताका रुपमा चुन्ने सम्भावना छ। ती तीन मुलुक हुन्ः भारत, अमेरिका र इन्डोनेसिया।
इन्डोनेसियाका प्रबोओ सुबियान्तो, भारतका नरेन्द्र मोदी र अमेरिकाका डोनाल्ड ट्रम्प तीनै जनाले पुटिनको अन्तर्राष्ट्रिय भर्त्सनामा सहभागिता जनाएका छैनन्। यथार्थवादी राजनीतिका कारण मात्र यसो भएको होइन।
इन्डोनेसियाको राष्ट्रपतीय निर्वाचनमा प्रबोओले गत साता निर्णायक जित हात पारेका छन्। राष्ट्रपति पदमा उनको विजयले इन्डोनेसियाली लोकतन्त्रका थुप्रै समर्थकलाई चिन्तित तुल्याएको छ। उनीहरुलाई डर छ– प्रबोओले पुटिनको शैलीमा शासन त चलाउने होइनन्? उनीमाथि सेनामा रहँदा मानवअधिकार उल्लंघनको आरोप लागेको छ।
गत वर्ष प्रबोओले युक्रेन युद्ध अन्त्यका लागि एउटा शान्ति सम्झौता प्रस्ताव अघि सारेका थिए। यो पुटिनको महत्वाकांक्षाका लागि यति अनुकूल थियो कि त्यसलाई युक्रेनले ‘रुसी योजना’ भन्दै खारेज गरिदियो।
द जाकर्ता पोस्टका प्रबन्ध सम्पादक कर्नेलिअस पुर्बाले हालै पुटिनप्रति प्रबोओको ‘प्रशंसा’ उल्लेख गर्दै भनेका छन्, ‘इन्डोनेसियाका थुप्रै मतदाता यसकारण अवकाशप्राप्त जर्नेल प्रबोओका समर्थक बनेका छन्, किनकि ती पुटिनका कट्टर प्रशंसक हुन्।’
यो वर्षको सुरुवातमा मोदीले पुटिनसँग मैत्रीपूर्ण फोनवार्ता गरे। जसमा यी भारतीय र रुसी नेताहरुले एकअर्कालाई आउँदो चुनावका लागि शुभकामना पनि दिए। पुटिनभन्दा विपरीत मोदी वास्तविक चुनावमा भाग लिँदैछन्। जसमा उनले सहजै जित्ने अनुमान छ।
भारतीय कूटनीतिज्ञहरु तर्क गर्छन्– पुटिनसँग मोदीको कामकाजी सम्बन्ध सरल व्यावहारिकता र राष्ट्रिय हितको मामिला हो। भारतले आफ्ना धेरै सैन्य सामग्री रुसबाट किनेको छ। त्यसैले उसले तत्काल रुससँगको सम्बन्ध तोड्न सक्दैन। सस्तो रुसी तेलबाट भारतीय अर्थतन्त्रले फाइदा पनि पाएको छ।
निष्पक्ष भएर भन्दा मोदीले २०२२ मा सार्वजनिक रुपमै पुटिनलाई अलिकति हप्काएका थिए। उनले पुटिनलाई भनेका थिए, ‘आजको युग युद्धको युग होइन।’ तर, त्यसयता यी दुई नेताबीचको सम्बन्ध फेरि न्यानो बनेको छ। हालै पुटिनले ‘साह्रै बुद्धिमान व्यक्ति’ भन्दै मोदीको प्रशंसा गरेका छन्।
नभाल्नीको मृत्युका सम्बन्धमा सोधिएको एक प्रश्नमा मोदीको भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता जयवीर सेरगिलले निकै फिका तरिकाले भने, ‘रुस भारतको बलियो साथी र सहयोगी थियो, छ र रहनेछ।’
पुटिनको पश्चिमविरोधी र उपनिवेशविरोधी अभिव्यक्तिको प्रशंसा गर्ने ठूलो समूह भारतमा छ। जहाँ मुलुकलाई अन्ततः उपनिवेशको विरासतबाट मुक्त गरिरहेको बलियो राष्ट्रवादी नेताका रुपमा मोदीले आफूलाई उभ्याएका छन्।
मोदीका आलोचकहरुको तर्क छ– मोदीको सरकारले भारतको लोकतन्त्र कमजोर पारिदियो र विरोधीहरुमाथि मुद्दा चलाउन राज्यका संस्थाहरुको दुरुपयोग गरे। गत साता मुलुकको सबैभन्दा ठूलो विपक्षी दल कंग्रेसले अचानक आफ्ना ब्यांक खाता सरकारले रोक्का गरिदिएको बताएको थियो। कंग्रेस नेताहरु मोदीमा पुटिनको जस्तै सबै विपक्षीलाई दमन गर्ने महत्वाकांक्षा रहेको आरोप लगाउँछन्।
अनि आउँछन् ट्रम्प। अमेरिकी राष्ट्रपति जो बाइडेनले नभाल्नीको मृत्युमा पुटिन जिम्मेवार रहेको आरोप लगाएका छन्। तर, ट्रम्प चुपचाप छन्। उनी चुप लाग्नुको कारण के पनि हुनसक्छ भने न्युयोर्कको अदालतले आफूमाथि लगाएको विशाल जरिवानाको निन्दा गर्नुमा उनी व्यस्त थिए।
तर, सामान्यतयाः अपमानजनक भाषा प्रयोग गर्न र अरुलाई विभिन्न उपनाम दिन फुर्सद पाउने ट्रम्पले पुटिनको आलोचनामा एक शब्द पनि खर्चेका छैनन्। बरु उनले पुटिनलाई मजबुत र चलाख भन्दै तारिफ गरेका छन्।
पुटिनसँग ट्रम्पलाई ‘ब्ल्याकमेल’ गर्ने केही चिज छ कि भनेर पत्ता लगाउनमा केही डेमोक्र्याटहरुले समय खेर फालिरहेका छन्। तर, यसको सरल कारण पनि हुनसक्छ। त्यो कारण के हो भने ट्रम्प वास्तवमै पुटिनको प्रशंसा गर्छन्।
ट्रम्पका सल्लाहकार र पिछलग्गूहरुको ठूलो झुण्डमा पुटिनका केही निर्भीक प्रशंसक छन्। २०१४ मा रुसले क्रिमिया टुक्र्याउनेबित्तिकै ट्रम्पका निकट सल्लाहकार रुडी जुलिआनीले पुटिनबारे भनेका थिए, ‘यस्तालाई भनिन्छ नेता!’
नभाल्नीको मृत्युको ठिकअघि ट्रम्पसमर्थक टिप्पणीकर्ता टकर कार्लसनले मस्को मेट्रोको सुन्दरताको प्रशंसा गर्दै भिडिओ पोस्ट गरिरहेका थिए।
रुसको चमत्कारहरुबाट कार्लसन यति छक्क परेछन् कि उनले अर्का शक्तिशाली नेता हंगेरीका भिक्टर अर्बान संकटमा परेको मेसो पाएनन्। बाल यौन दुर्व्यवहार मुद्दालाई ठिकसँग सम्हाल्न नसकेपछि उनको सरकारविरुद्ध बुडापेस्टमा विशाल प्रदर्शन भएका छन्।
अर्बानको यो अप्रत्याशित आलोचनाले एउटा शिक्षा दिन्छ। शक्तिशाली नेताहरु आफ्नो राष्ट्रवाद र उन्नति देखाएर विदेशीहरुलाई प्रभावित पार्न निपुण हुन्छन्। तर, पर्दापछाडिको यथार्थ स्थानीयले बुझेका हुन्छन्।
पुटिन र उनको व्यवस्थाभित्रको भ्रष्टाचार र हिंसा उजागर गर्न नभाल्नी माहिर थिए। उनले आफ्नो बहादुरीको मूल्य ज्यान दिएर चुकाए। पुटिनका विदेशी फ्यान क्लबहरुले ती घृणित यथार्थप्रति ध्यान दिन निकै ढिला भइसकेको छ।
फाइनान्सियल टाइम्सबाट साभार आलेखमा सम्पादनसहित