अमेरिकी चुनावः धारणामा पुनर्विचार गर्दै टिकटकको पक्षमा आइपुगे ट्रम्प

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले टिकटकको माउ कम्पनीले यो एप बेच्नुपर्ने, अन्यथा अमेरिकामा उक्त एप बन्द गर्ने प्रस्तावसहित संसद्‌मा दर्ता भएको एक विधेयकको विरोध गरेका छन्।

राष्ट्रपति पदमा बहाल रहँदा सन् २०२० मा टिकटकमा प्रतिबन्ध लगाउने प्रयास गरेका ट्रम्पले अहिले भने त्यस्तो प्रतिबन्धले फेसबुकको माउ कम्पनी मेटालाई अनुचित लाभ दिने बताए।

टिकटक सञ्चालन गर्ने चिनियाँ कम्पनी बाइट्ड्यान्सलाई आगामी ३० सेप्टेम्बरभित्र टिकटक बेच्न बाध्य पार्न सक्ने एक विधेयकमाथि हाल सांसदहरू छलफल गरिरहेका छन्।

राष्ट्रपति जो बाइडनले संसद्ले उक्त विधेयक पारित गरेमा आफूले प्रमाणित गरिदिने बताएका छन्।

सोमवार एनबीसीसँग कुरा गर्दै ट्रम्पले भने, “टिकटकबिना तपाईँ फेसबुकलाई अझ ठूलो बनाउन सक्नुहुन्छ र म फेसबुकलाई जनताको शत्रु मान्छु।”

टिकटकको सुरक्षासम्बन्धी व्यवस्थाबारे सोधिएको प्रश्नमा रिपब्लिकन पार्टीका तर्फबाट आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवार हुने ठानिएका ट्रम्पले भने, “त्यसमा धेरै राम्रो कुरा छ र धेरै नराम्रो पनि।”

उनले थपे, “टिकटकमा भएका धेरै मान्छे यसलाई मन पराउँछन्। टिकटकबिना ‘पागल’ हुने धेरै केटाकेटी पनि छन्।”

टिकटकलाई राष्ट्रिय सुरक्षा चुनौतीका रूपमा लिने मानिसहरूसँग आफू पनि सहमत रहेको तर अमेरिकी सरकारका लागि फेसबुक पनि उत्तिकै चुनौतीका रूपमा रहेको ट्रम्पले बताए।

“मलाई लाग्छ हाम्रो देशका लागि फेसबुक एकदमै खराब भएको छ, विशेष गरी चुनावका सन्दर्भमा,” उनले भने।

अमेरिकाको गुप्तचर समुदायले चिनियाँ सरकारले अमेरिकी नेतृत्वबारे शङ्काको बीजारोपण गर्न तथा प्रजातन्त्रलाई कमजोर बनाउन टिकटकलाई प्रयोग गरेको भनी चेतावनी दिएको छ।

अमेरिकाको अफिस अफ द डाइरेक्टर अफ न्याश्नल इन्टेलिजन्सले सोमवार सार्वजनिक गरेको सुरक्षा चुनौतीसम्बन्धी वार्षिक प्रतिवेदनमा चिनियाँ सरकारका प्रोपागान्डा फैलाउने औजारका रूपमा टिकटक खाताले “सन् २०२२ मा राष्ट्रपतीय चुनावको मध्यावधि चक्रमा दुवै राजनीतिक दलका उम्मेदवारहरूलाई तारो बनाएको बताइएको” उल्लेख छ।

यस वर्षको नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन हुन लाागेको सन्दर्भमा ट्रम्पको पछिल्लो टिप्पणीले टिकटक मात्र नभई सबै सामाजिक सञ्जालमा राजनीतिक निगरानी बढ्ने अपेक्षा गरिएको छ।

सन् २०२० मा ट्रम्प र बाइडनबीच राष्ट्रपतीय निर्वाचन हुने बेला पनि टिकटकलाई बिक्री गराउने वा प्रतिबन्ध लगाउने मागसहित अभियान चलेको थियो।

त्यतिबेला अमेरिकी अधिकारीहरूले चिनियाँ प्रविधि कम्पनी बाइट्ड्यान्ससँग भएको डेटा चिनियाँ सरकारसम्म पुग्न सक्ने बताएका थिए।

टिकटकका अधिकारीहरूले भने आफूले चिनियाँ सरकारलाई कुनै डेटा उपलब्ध नगराउने र यस्तो डेटा मागेको अवस्थामा पनि अस्वीकार गर्ने बताएका छन्।

अघिल्लो चुनावको केही महिनाअघि तत्कालीन राष्ट्रपति ट्रम्पले बाइट्ड्यान्सलाई ९० दिनभित्र टिकटक बेच्न कार्यकारी आदेश दिए पनि कानुनी चुनौतीका कारण त्यो कार्यान्वयन भएको थिएन।