अनन्तको आगमनसँगै अर्थतन्त्र सकारात्मक र शेयर बजारमा उत्साह, अब लगानी सम्मेलन

मूलखबर संवाददाता
काठमाडौं

देशको अर्थतन्त्र बलियो हुने दिशातर्फ रहेको सूचकहरूले देखाएका छन्। अर्थमन्त्री वर्षमान पुन अनन्तले कार्यकाल सुरु गरेलगत्तै अर्थतन्त्र सकारात्मक दिशामा रहेको तथ्याङ्क सार्वजनिक भएको हो।

नेपालको बाह्य क्षेत्रको अवस्था गत वर्षदेखि नै सबल छ। बाह्य क्षेत्र चालू आर्थिक वर्षको ७ महिनामा झन् मजबुत बन्दै गएको हो।

नेपाल भित्रिने र बाहिरिने रकमको अन्तर (भुक्तानी सन्तुलन)मा नेपाल धेरै बचतमा रहेको छ। अर्थात् नेपाल झण्डै ३ खर्ब रुपैयाँ बचतमा देखिएको छ।

राष्ट्र बैंकका अनुसार भुक्तानी सन्तुलन २ खर्ब ९७ अर्ब रुपैयाँले बचतमा छ। यसबाहेक रेमिट्यान्सको उच्च वृद्धि र वस्तु आयातमा कमी आएको कारणले गर्दा नेपालको बाह्य क्षेत्र सुधारोन्मुख देखिएको छ।

नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ७ महिना अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भएको हो।

यो अवधिमा ८ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो।

गत आर्थिक वर्षदेखि नै नेपालको अर्थतन्त्र चलायमान बन्न सकिरहेको थिएन। तर अब भने अर्थतन्त्र चलायमान बन्न सक्ने संकेत देखिएको छ।

शेयर बजारमा उत्साह
अर्थमन्त्री वर्षमान पुनले पद बहाली गर्दा विशेषरूपमा सेयर बजार र घर जग्गालाई जोड दिएर अभिव्यक्ति दिएका थिए। उनले यी दुई क्षेत्रलाई चलायमान बनाउन नीतिगत र प्रक्रियागत सुधार गर्ने पनि बताएका थिए।

गत बुधबार कार्यभार समाल्दै मन्त्री पुनले ६० लाख सेयर लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता जनाए । दैनिकजसो ‘प्यानिक सेल’ भोगिरहेका सेयर लगानीकर्ताहरू अहिले केही राहत महसुस गरिरहेका छन् ।

अर्थमन्त्रीको एक अभिव्यक्तिले लगानीकर्तामा आशा जागेको छ । अर्थमन्त्री पुनले बुधबार पद बहाली गर्दामात्र हैन, बिहीबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग पनि सेयर बजार र घर जग्गालाई चलायमान बनाउने बताए ।

उनी अर्थमन्त्री भएको भोलिपल्ट बिहीबार बजार १३.५१ अंकले बढ्यो भने उनी अर्थमन्त्री भएपछिको दोस्रो कारोबार दिन आइतबार बजार २२.१० अंकले बढ्यो ।

लगानी सम्मेलन सफल पार्न लागिरहेका छन् अनन्त

अर्थमन्त्री पुनले यसअघि नै निर्धारण भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन प्रभावित नहुने बरू त्यसलाई सफल पारिने बताएका छन्। बैंकरहरुसँगको बिहीबार भएको भेटका क्रममा उनले नयाँ सत्ता समीकरणको कारण पूर्वनिर्धारित लगानी सम्मेलन प्रभावित नहुने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले वैशाखमा सम्मेलन गर्ने तय गरिसकेको छ। यसअनुसार वैशाख १६ र १७ गते मिति नै तोकेर तयारीका काम अघि बढिसकेको छ।

अनन्तले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई अपिल गरेका छन्।

बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन आइतबार मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा उनले बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरे।

नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै पुनले त्यसका लागि आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताए।

‘अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल भर्जिन ल्यान्ड हो,’ पुनले भने, ‘तपाईंमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु।’

त्यसैगरी बेलायतले पनि नेपाललाई आकर्षक लगानी गन्तव्यका रुपमा विकास गर्न सकिने विश्वास व्यक्त गरेको छ।

अर्थमन्त्री अनन्तसँग आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा बेलायतको विदेश तथा कमन वेल्थ विकास कार्यालयका निर्देशक बेन मिलर त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ।

भेटमा बेनरले नेपालमा आगामी वैशाखमा हुने लगानी सम्मेलन सफल र उपलब्धीमुलक बनाउन बेलायत सरकारका तर्फबाट पूर्ण सहयोग हुने बताए ।