पछि हटिन् निक्की हेली, अमेरिकी चुनावमा बाइडेन-ट्रम्प भिडन्त लगभग पक्का

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकी राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीचमा भिडन्त हुने निश्चित जस्तै भएको छ। रिपब्लिकन पार्टीको उम्मेदवारीको दौडबाट निक्की हेलीले आफू प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गरेपछि ट्रम्प बाइडेनको भिडन्त पक्का जस्तै बनेको हो।

निक्कीले भनेकी छिन्, “राष्ट्रपति पदका लागि करिब एक वर्षअघिदेखि नै मैले आफ्नो अभियान सुरु गरेकी थिएँ, सुरु गर्दा यो अभियान देशप्रतिको मायामा आधारित भएको बताएकी थिएँ।”

“केही हप्ता मात्र, मेरी आमा, जो पहिलो पुस्ताको आप्रवासी थिइन्, उनले छोरीलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा भोट गर्ने मौका पाइन,” उनले भनिन्।

निक्की हेली मैदानबाट बाहिरिएपछि अब ट्रम्प रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने बाटो खुलेको छ । निक्की हेलीले १५ मध्ये दुई राज्यमा मात्र प्राइमरी चुनाव जितेर पछि हट्ने निर्णय गरेको विश्वास गरिन्छ ।

तर, चुनावमा डोनाल्ड ट्रम्पका लागि प्रचार गर्ने कि नगर्ने भनेर सोध्दा उनले आफूलाई समर्थन नगर्ने सबै रिपब्लिकनहरूको भोट ल्याउने ट्रम्पको हातमा रहेको बताइन् । निक्की हेली पनि यो समूहमा परेकी छन् ।

पार्टीबाट राष्ट्रपतिको उम्मेदवार छान्न हुने प्राइमरी निर्वाचनमा रिपब्लिकन पार्टीबाट ट्रम्पले जित्ने लगभग निश्चित भएको छ । बाइडेन पनि डेमोक्रेटबाट उमेदवार बन्ने भएका हुन् ।

विभिन्न राज्यमा मंगलबार आयोजत ‘सुपर ट्युज्डे’ प्राइमरी निर्वाचनमा बाइडेनले १४ राज्यमा जितेका छन् । ट्रम्पले १२ राज्यमा जित्दै रिपब्लिकनबाट उनीसँग प्रतिस्पर्धामा रहेकी निक्की हेलीलाई पछि पार्ने निश्चित जस्तै भएको छ । ट्रम्पले मंगलबारलाई महत्वपूर्ण दिन भनेका छन् ।