अर्थतन्त्र चलायमान बनाउने अनन्तका योजना, शेयर बजारलाई उत्साहको सन्देश

मूलखबर संवाददाता
काठमाडौं

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन राजनीतिक जीवनमा पुन सफलमध्ये गनिन्छन्। कम उमेरमा महत्वपूर्ण जिम्मेवारी उनले पाएका छन् र फत्ते गरेर प्रमाणित पनि गरेका छन्। निरन्तर सक्रियता, धैर्यता र सकारात्मक हुने स्वभावका उनीसँग जनयुद्धकालदेखि नै विरोधीसँग पनि संवाद गर्ने क्षमता रहेका उनका सहकर्मीहरु बताउँछन्।

जनयुद्ध मात्र होइन त्यसपद्धिका राजनीतिक घटनाक्रममा प्रचण्डलाई अप्ठ्यारो पर्दा समन्वयकर्ताको भूमिकामा उनी देखिएका छन्।

नेकपा एमाले र माओवादी केन्द्रलाई एक ठाउँ ल्याएर नेकपा बनाउन उनको महत्वपूर्ण भूमिका छ। फेरि टाढिएका ओली र प्रचण्डलाई अहिलेको अवस्थामा पुर्‍याउन पनि उनले भूमिका खेलेका छन्।

देशको अर्थतन्त्रमा निराशा छाएको समयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई अर्थतन्त्रको कमाण्ड सम्हाल्ने मौका दिएका छन्।

पुन चौथोपटक मन्त्रीको जिम्मेवारीमा आएका हुन्। उनी पहिलोपटक शान्ति तथा पुनर्निर्माण मन्त्री, दोस्रोपटक अर्थमन्त्री र तेस्रोपटक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री भएका थिए।

पुन २०६८ साल भदौदेखि २०६९ साल चैतसम्म अर्थमन्त्रीको जिम्मेवारीमा थिए। १८ महिना अर्थमन्त्रीको जिम्मेवारीमा रहेर पनि उनले पूर्ण बजेट प्रस्तुत गर्न पाएका थिएनन्। अहिले संविधानले नै जेठ १५ लाई बजेट सार्वजनिक दिन तोकेको अवस्थामा उनी अर्थमन्त्रीको जिम्मेवारीमा आएका छन्।

यसअघिको अनुभव
वर्षमान पुन २०६८ भदौ ५ गते डा बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा अर्थमन्त्री बनेका थिए। धेरैको प्रश्न, आलोचना र आशंकालाई मत्थर पार्दै १८ महिना सफलतापूर्वक अर्थ मन्त्रालय सम्हालेका थिए।

त्यतिबेला अनन्त १८ महिना अर्थमन्त्री बने पनि पूर्ण बजेट ल्याउन भने पाएनन्। उक्त संक्रमणकालमा पूर्ण बजेट ल्याउन नपाउँदा पनि काम गरेर देखाउन सक्छ भन्ने उदाहरण भने पेश गरे। सरकारी ढिलासुस्तीलाई छिटो छरितो बनाउने, वैदेशिक लगानीलाई एकद्वार प्रणालीबाट ल्याउने कोसिस गरे। नेपालले वैदेशिक ऋण विश्व बैंक र एसि याली विकास बैंकबाटमात्रै लिइरहेकोमा चीन, युरोपियन युनियन, जापान, कुबेती फण्ड, साउदी फण्ड लगायतका नयाँ माध्याम, ठाउँबाट पनि ल्याउन सकिने व्यवस्था गरे। उनले २१ वटा परियोजनाहरुलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिभाषित गरेर जनशक्तिको व्यवस्थापनदेखि बजेट व्यवस्था गरे। काठमाडौंको सडक विस्तारका लागि बजेट व्यवस्थापन गरे। बजेट ल्याउन नपाउँदा पनि २२ प्रतिशतभन्दा बढी राजस्व वृद्धि भएको थियो।

अबको योजना
‘अहिलेको जिम्मेवारीलाई मैले अवसरका रूपमा लिएको छु,’ विहीबार अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै नेता पुनले भने, ‘समस्याको कारण फरक फरक भए पनि त्यस बेला र अहिले उस्ता उस्तै समस्या छन्। त्यो बेलामा पनि घरजग्गा, सहकारी लगायतको समस्या थियो। अहिले पनि यिनै समस्या छन्।’

पुनले आफू अहिले धेरै कुरा बुझेर अर्थमन्त्री जिम्मेवारीमा फर्किएको संकेत गरे। अहिले समस्या पहिचान गरेर समाधान गर्न आएको पनि उनको संकेत थियो।

‘म पहिलोपटक अर्थमन्त्री हुँदा गुरिल्ला अर्थमन्त्री भनिएको थियो। कतिबाट केही समय त मलाई अर्थमन्त्रीका रूपमा स्वीकार पनि भएन। त्यसलाई मैले सिक्ने अवसरको रूपमा लिएँ। आफ्नै मनोबल बढाउने काम गरेँ। तल्लो तहसम्मका कुरा सुनेँ,’ उनले भने, ‘अहिले केही कुरा जानकारी राख्छु, अर्थतन्त्रलाई नियालेको पनि छु। अहिले बजारको मनोबल बढाउने मुख्य चुनौती छ। मनोबल बढाउने काम गर्छु।’

लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास अनुरूप काम गर्दा मनोबल बढाउन सकिने उनको भनाइ छ। उनले समस्या लुकाएर संवाद नगरेर समाधान नहुने भन्दै संवादबाट नै समाधान सकिने बताए।

‘लोकतान्त्रिक शासन व्यवस्थामा हामीले संवाद बढाउने हो। हाम्रो समस्या भए बाध्यता देखाउने हो। सबै कुरा सिस्टमबाट गाइड गर्ने हो,’ उनले भने, ‘कुनै पनि नियामक देखाएर डराउनुपर्ने अवस्था आउनु हुँदैन। नियामकले सहजीकरण गर्ने हो, तर्साउने काम गर्ने होइन।’

अहिले सरकारका गतिविधिबाट निजी क्षेत्र तर्सिएको र अख्तियारको कारण कर्मचारीतन्त्रमा सशंकित भएको देखिन्छ।

यसतर्फ संकेत गर्दै उनले भने, ‘निजी क्षेत्रको आत्मबल बढाउने काम गर्छौं। कर्मचारीहरू पनि ढुक्क भएर काम गरे हुन्छ। कुनै किसिमको डर, त्रास राख्नु पर्दैन।’

उनले अर्थ मन्त्रालयले समस्या लुकाएर सबैलाई गुमराहमा राख्न नहुने बताए।

‘अर्थ मन्त्रालयलाई मन्त्रालयहरूको पनि मन्त्रालय भनिन्छ। यो त्यतिकै भनिएको होइन। हामीले अन्य मन्त्रालयलाई अन्योलमा राख्नु हुँदैन। कुनै काम गर्न सकिँदैन भने कारण देखाउनुपर्छ। होइन भने काम गर्नुपर्छ,’ उनले भने।

‘अर्थतन्त्र छिट्टै चलायमान बनाउने उपाय ‘
कान्तिपुर दैनिकसँगको कुराकानीमा अर्थमन्त्री पुनले भनेका छन्- “अर्थतन्त्रको विद्यमान समस्या समाधान गर्ने उपाय मसँग छ । अर्थतन्त्रमा देखिएको दबाब कम गर्न विगतको मेरो अनुभवका आधारमा योजना बनाएर अघि बढ्नेछु । अर्थतन्त्रको सबै क्षेत्रमा समस्या छैन । समस्या भएको क्षेत्र मलाई राम्रोसँग थाहा छ । ती क्षेत्रमा मात्र सुधार गर्न सके अर्थतन्त्र चाँडै चलायमान बनाउन सकिन्छ । अहिले तरलता व्यवस्थापनको समस्या छ । पुँजीगत खर्च बढाउनुपर्ने, सेयर बजारलाई व्यवस्थित बनाएर स्थिरता दिनुपर्ने, घरजग्गा क्षेत्र चलायमान बनाउनु पर्नेलगायत धेरै चुनौति छ । यी क्षेत्रमा समस्या समाधानका लागि सम्बन्धित क्षेत्रका विज्ञहरुको सहयोगमा निजी क्षेत्रलाई साथै लिएर प्रभावकारी रुपमा काम गर्नेछु ।”

उनले अगाडि भनेका छन्- ूअर्थतन्त्र चलायमान बनाउन सकिन्छ । अहिले राजस्व संकलन कमजोर छ त्यसमा तत्कालै सुधार गर्न सकिन्छ । अर्को महिनादेखि अहिलेभन्दा बढी राजस्व उठ्ने वातावरण बन्नेमा म आशावादी छु । किनकी राजस्वको कुन क्षेत्रमा चुहावट र कमजोरी छ सबै थाहा भएकाले म भोलिदेखि नै सुधार्न लग्नेछु । यसकारण अर्को महिनादेखि नै अनुभव गर्नेगरी राजस्वमा सुधार गर्न सकिन्छ । हचुवाको भरमा बजेट बनाउने अनि स्रोत जुटाउन र खर्च गर्न नसक्दा अर्धवार्षिक समीक्षामार्फत् भारी कटौती गर्ने प्रचलन बढ्दै गएको छ । नयाँ आर्थिक वर्षको बजेट निर्माणको मुखमै तपाईं अर्थमन्त्री बन्नुभएको छ । बजेट निर्माण प्रक्रियालाई कसरी व्यवस्थित बनाउँदै हुनुहुन्छ ताकी ६ महिनामै भारी कटौती गर्नु नपरोस् ?”

शेयर बजारलाई उत्साहको सन्देश

अर्थमन्त्री पुनले सेयर बजारमा भएका नीतिगत कुरालाई करेक्सन गरेर अगाडि बढ्ने बताएका छन् । उनले अहिले प्यानिक अवस्थामा रहेका लगानीकर्तालाई केही राहत हुने सन्देश दिएका हुन् ।

मन्त्री पुनले ६० लाख सेयर लगानीकर्ताको हितमा काम गर्ने बताए । अहिलेको अवस्थामा लगानीकर्ताको मनोवल बढाउने काम गर्नुपर्ने भन्दै उनले सेयर बजारलाई विगतमा जस्तो हेरेर नहुने बताए ।

पद बहालीलगत्तै कर्मचारीहरूसँगको ब्रिफिङमा उनले भने, “सेयर बजारमा बेलाबेला तलमाथि भइरहन्छ । सेयर बजारमा भएका समस्याहरूलाई संरचनागत तथा नीतिगत रूपले सुधार गर्नुपर्छ । किनभने त्यहाँ ६० लाखभन्दा धेरै ग्राहकहरू/सेयर होल्डरहरू रहेको अवस्था छ । यो नयाँ सेक्टर हो । यो क्षेत्र ६० लाखको काम व्यवहार र भविष्यसँग जोडिएको क्षेत्र हो ।”

त्यस्तै, घर जग्गातिर केही सुधार भएको भए पनि अझै चलायमान नभएको उनको भनाइ छ ।