भाजपाको मिसन इलेक्सनः पहिलो चरणका उम्मेद्वारको नाम घोषणा, मोदी बारणसीमै

मूलखबर संवाददाता
काठमाडौं

भारतमा आगामी मेमा चुनाव हुँदै छ । संसारकै ठूलो लोकतान्त्रिक मुलुकमा हुने चुनावमार्फत नरेन्द्र मोदी भारतको प्रधानमन्त्रीमा ‘ह्याट्रिक’ गर्ने दाउमा छन् ।

गत नोभेम्बरमा भएको विधानसमा चुनावमा मध्यप्रदेश, राजस्थान र छत्तिसगढ राज्यमा भारतीय जनता पार्टी (भाजपा) प्रति देखिएको लहरले मोदीलाई थप उत्साहित बनाएको मात्र छैन, कंग्रेससहितका प्रतिपक्षीलाई रक्षात्मक बनाइदिएको छ । आर्थिक विकाससँगै सर्भिस डेलिभरीमा पछिल्लो समय भाजपा सरकारको प्रदर्शनले मोदी अर्को कार्यकाल पनि विजयी हुने देखिएको विभिन्न सर्वेक्षणले देखाएका छन् ।

भारतीय जनता पार्टी (बीजेपी)ले आसन्न लोकसभा चुनावका लागि पार्टीका तर्फबाट उम्मेद्वार बन्नेको पहिलो सूची सार्वजनिक गरेको छ ।

पहिलो सूची अनुसार १६ वटा राज्य र केन्द्र शासित २ प्रदेशका १ सय ९५ उम्मेद्वारको नामावली प्रकाशित भएको हो । बीजेपीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई वाराणसीबाट उम्मेद्वार बनाएको छ ।

गृहमन्त्री अमित शाह गान्धीनगरबाट चुनाव उठ्ने भएका छन् । शाह सन् २०१४ देखि २०२० सम्म बीजेपीका पार्टी अध्यक्ष समेत हुन् । गान्धीनगर गुजरात राज्यको राजधानी हो ।

बीजेपीले सार्वजनिक गरेको १ सय ९५ उम्मेद्वारको सूचीमा २८ जना महिला, ५० वर्षभन्दा कम उमेरका युवाको संख्या ४७, सूचीकृत जातीका २७ र पिछडा वर्गका ५७ उम्मेद्वारलाई अघि सारिएको छ ।

भाजपाले उत्तरप्रदेशका ५७ सिट, पश्चिम बंगालका २०, मध्यप्रदेशका २४, गुजरातका १५, राजस्थानका १५, केरलाका १२, तेलंगनाका ९, छत्तीसगढका ११ सिटकालागि उम्मेद्वार चयन गरेको हो ।

उम्मेद्वारको पहिलो सूचीमा लोकसभाका अध्यक्षसहित, केन्द्रीय मन्त्री र पार्टीका उच्च नेताहरुको नाम समावेश गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

लोकसभाको ५ सय ४३ सिटका लागि निर्वाचन हुन लागेको हो । त्यहाको निर्वाचन आयोगले मतदानको मिति भने तोकिसकेको छैन । आयोगका अनुसार आगामी अप्रिलको अन्तिममा निर्वाचन सम्पन्न गर्ने तयारी गरिएको छ ।