सीपयुक्त नेपालीका लागि जापानको रोजगारी बजार खुल्दैः मासिक तलब साढे २ लाख

मूलखबर संवाददाता
काठमाडौं

नेपालीहरू जापान रोजगारीमा जान पाउने बाटो खुलेको छ । नेपालबाट स्पेसिफाइड स्किल वर्कर अर्थात् सीपयुक्त श्रमिक लिन जापान सरकार तयार भएको हो।

नयाँ प्रणालीअन्तर्गत जाने श्रमिकले मासिक करिब २ लाख ५० हजार रुपैयाँ कमाउन सक्नेछन्। तर रोजगारदाताअनुसार तलब फरक–फरक हुन सक्नेछ। यसअघि जापानमा प्रशिक्षार्थी कामदार मात्र जाने गरेका थिए।

जापानसँग श्रम समझदारी भएको ५ वर्षपछि नेपाली पठाउने कार्यविधि तयार भएको हो। सन् २०१९ मै जापानसँग सीपयुक्त श्रमिक पठाउने समझदारी भए पनि कार्यविधि नबन्दा नेपाली श्रमिक जापान पठाउने प्रक्रिया सुरु हुनसकेको थिएन। तर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानसँग भएको छलफलअनुसार व्यवसायीले नै श्रमिक पठाउने गरी कार्यविधि तयार पारेको हो।

एसएसडब्ल्यू प्रणालीअन्तर्गत रोजगारीका लागि जापान जान इच्छुक नेपाली नागरिकले जापान सरकारको सम्बन्धित निकायबाट मान्यताप्राप्त संस्था वा इजाजत पत्रप्राप्त संस्थाबाट सञ्चालन भएको जापानी भाषा परीक्षा र पेसागत सीप परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।

यस्ता योग्य जनशक्तिको विवरण सम्बन्धित म्यानपावर कम्पनीले वैदेशिक रोजगार विभागलाई उपलब्ध गराउने र विभागले सूची अद्यावधिक गरेर राख्नेछ। मागपत्र प्रमाणीकरण १५ दिनभित्र गरिसक्नुपर्ने पनि कार्यविधिमा उल्लेख छ। जापानी र अंग्रेजी भाषाका कागजातहरु रोजगारदाता स्वयं वा रोजगारदाताको तर्फबाट तोकिएका प्रतिनिधिले दूतावासमा मागपत्र आएको १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने उल्लेख छ।

मागपत्रमा श्रमिकको तलब, सेवा सुविधा, कार्यशर्तहरु, प्रतिबद्धतापत्र तथा रोजगार सम्झौता उल्लेख गरी मुख्य विषय समेटिएको हुनुपर्नेछ। जापानी रोजगारदाताले भाषा परीक्षा र सीप परीक्षण निःशुल्क रुपमा नेपालमा नै सञ्चालन गर्ने प्रतिबद्धतासहित मागपत्र पठाएमा पनि यसको विवरण वैदेशिक रोजगार सूचना प्रणालीमा राख्नुपर्नेछ।

मागपत्र प्राप्त भएपछि प्रमाणीकरण गर्दा नै तोकिएको भाषा र सीप परीक्षण गर्ने निकायलाई नै भाषा परीक्षा एवं सीप प्रशिक्षणको काम गर्न विभागले अनुमति दिनेछ। म्यानपावर कम्पनीले मागपत्र ल्याइसकेपछि सबै विवरण खुलाएर १५ दिनको समय दिएर सूचना जारी गर्नुपर्नेछ। सूचना जारी भएपछि म्यानपावर कम्पनीमा श्रमिकले आवेदन दिएपछि म्यानपावर कम्पनीले नै छनौट गर्नेछन्।

जापान जानका लागि छनौट भइसकेपछि सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएसमार्फत जानकारी दिनुपर्ने उल्लेख छ। म्यानपावर कम्पनीले योग्यताक्रमको आधारमा छनौट गर्नुपर्नेछ।

रोजगारदाताले नेपालबाट पठाउने श्रमिक छनौट गर्न सरकारलाई नै अनुरोध गरेमा सम्पूर्ण प्रक्रिया वैदेशिक रोजगार विभागस्थित जापान इकाइले सञ्चालन गर्नेछ। जापान श्रमिक पठाउने यो प्रक्रियाका लागि विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीभित्र छुट्टै व्यवस्थापन गर्ने भएको छ। विभागमा रहेको जापान इकाइले भाषा तथा सीप परीक्षण र अन्य कागजातहरुको वैधता जाँच गर्ने, श्रमिक छनौटसम्बन्धी समग्र प्रक्रियालाई व्यवस्थित बनाउने काम गर्ने कार्यविधि बनेको छ।

रोजगार सम्झौता भएका र जापानको लागि योग्यताको प्रमाणपत्र प्राप्त गरेपछि भिसा प्रक्रियाका लागि म्यानपावर कम्पनीको सिफारिसको आधारमा विभागले नेपालस्थित जापानी राजदूतावासमा सिफारिस गर्नेछ। त्यसपछि व्यक्तिले दूतावासमा आवेदन दिनुपर्नेछ। भिसा नलागेमा विभाग जवाफदेही नहुने कार्यविधिमै उल्लेख छ। रोजगारदाताका तर्फबाटै छनौट भएका कामदारको हकमा भने भिसाका लागि विभागको सिफारिस आवश्यक पर्नेछैन।

जापान जानुपहिले अभिमुखीकरण तालिम पनि दिइनेछ। भिसा प्राप्त भइसकेका श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोष तथा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नुपर्नेछ।

अब वैदेशिक रोजगार व्यवसायीले तोकिएको प्रक्रिया पूरा गरेर जापानमा सीपयुक्त श्रमिक पनि पठाउन पाउनेछन्।

सीपयुक्त जनशक्ति मापदण्ड पूरा गरेका वैदेशिक रोजगारको काम गर्न अनुमतिप्राप्त संस्थाहरुले श्रमिक पठाउन सक्ने कार्यविधिमा उल्लेख छ। जापान जाने सीपयुक्त श्रमिकलाई आवश्यक सहजीकरण, भाषा तथा सीप प्रशिक्षण सञ्चालन गर्न इच्छुक नेपाली संस्थाहरुले कानुनबमोजिम दर्ता भई सञ्चालन भएको हुनुपर्ने उल्लेख छ।

जापानमा रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीको आफ्नै स्वामित्वको तालिम केन्द्र या पूर्णकालीन उपयोग गर्न सकिने गरी करार सम्झौता गरी लिएको तालिम केन्द्र हुनुपर्नेछ। भाषा प्रशिक्षण तालिम केन्द्रमा जापानी भाषा पढाउने कम्तीमा दुई जना भाषा प्रशिक्षक भएको समेत हुनुपर्ने कार्यविधिमा उल्लेख छ।