कस्तो छ चीनको सैन्य शक्तिः रक्षा बजेटको निरन्तर वृद्धिले के संकेत गर्छ

मूलखबर संवाददाता
काठमाडौं

चीन संसारको दोस्रो ठूलो अर्थव्यवस्था हो । चिनियाँ सेना संसारकै शक्तिशाली सेनामध्ये एक हो । हालैका वर्षमा आफ्नो क्षेत्रभन्दा बाहिर निस्केर संसारको पहिलो महाशक्ति बन्ने धुनमा छ ।

चीनले विगत २५ वर्षमा आफ्नो रक्षा बजेट १० गुणा बढाएको छ । बेइजिङले शक्तिशाली जलसेना र अनेकौं लडाकू विमान बनाइरहेको छ । उसले शान्ति अपरेसनका साथ प्रयोग गरिरहेको छ । आक्रामक विदेशनीतिका साथ चिनियाँ सेनाले पश्चिम देशलाई पनि सतर्क गराएको छ । अमेरिकी नीतिनिर्माताहरू चिनियाँ सेनालाई वाशिङटनको प्रतिस्पर्धी मान्छन् । अमेरिकी सेनालाई टक्कर दिनसक्ने संसारको एकमात्र देश चीन भएको धेरैले मान्छन् ।

चिनियाँहरू सैन्य सुधार र आधुनिकीकरणको बाटोमा शीघ्रतापूर्वक अघि बढिरहेको छ जसले गर्दा एसिया र त्यहाँबाहिर अमेरिकी स्वार्थलाई अहित हुनसक्छ । संसारका अनेकौं देशमा सैन्य अड्डा बनाउने योजनामा काम गरिरहेको छ ।

रक्षामा गर्ने खर्चका विषयमा अमेरिका चीनभन्दा धेरै अघि छ । स्विडेनस्थित स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युटको प्रतिवेदनअनुसार, सन् २०१७ मा सेनामाथि सबभन्दा धेरै खर्च गर्ने देशमा पहिलो नम्बरमा अमेरिका र दोस्रोमा चीन छ । चीनले सैन्य खर्च बढाएर २४ लाख करोड रुपैयाँ पु–याएको छ ।

स्थल सेनाको कुरा गर्दा चीनसँग सबभन्दा ठूलो सेना छ । चीनसँग २३ लाख सशस्त्र सैनिक छ अनि पाँच लाख १० हजार रिजर्भ सैनिक पनि छ । अर्धसैनिक बलका रूपमा चीनसँग ६ लाख ६० हजार सैनिक छन् । चीनको तुलनामा अमेरिकासँग १४ लाख सक्रिय सैनिक छन् ।

चीनसँग संसारको ठूलो स्थल सेना भएपनि मोबिलिटीको समस्या छ । उससँग ट्रान्सपोर्ट हेलिकप्टरको कमी छ र अहिले पनि चीन यातायातका लागि ट्रेनमा निर्भर छ । चीनको स्थल सेनाले सीमाको सुरक्षा गर्ने जिम्मेवारी छ । चिनियाँ सेना २०२० सम्म आधुनिकीकरणको लक्ष्यमा अघि बढिरहेको छ ।

रक्षा बजेट बढेको बढ्यै
वर्तमान राष्ट्रपति सी जिनपिङलाई त्यहाँका जनताले माओत्से तुङपछि चीनको सबैभन्दा शक्तिशाली नेताका रूपमा हेर्छन्। उनले देशमा निकै कडा शासन गरेका छन्। यदि कसैले आफ्नो नियम वा आफ्नो अख्तियार विरुद्ध केहि बोल्यो भने सिधै कडा कारबाही हुन्छ। जिनपिङले चीनमा हतियार विकासमा अर्बौं डलर खर्च गरेका छन्।

युकेको इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजका अनुसार गत वर्ष चीनको रक्षा बजेट १७५ अर्ब पाउण्ड अर्थात १८.३० लाख करोड अमेरिकन डलर बराबर थियो। हाल चिनियाँ सेनामा २० लाखभन्दा बढी सैनिक सक्रिय रहेका छन् जबकि अमेरिकामा सक्रिय रिजर्भ आर्मीको संख्या करिब १३ लाख मात्र रहेको छ। जसका कारणा हाल चीन सबैभन्दा ठूलो सेना भएको पहिलो देश हो।

साथै, मिडिया रिपोर्टहरूका अनुसार चीनसँग हाल ५०० भन्दा बढी आणविक हतियार छन्। यति मात्र होइन, आगामी दिनमा यसको संख्या अझै बढ्ने देखिएको छ। अमेरिका र रुस विश्वमा सबैभन्दा धेरै आणविक हतियार भएका देशहरू हुन्। उनीहरुसँग पाँच हजारभन्दा बढी आणविक हतियार रहेको जनाउँदै आइएको छ।

पश्चिमा विज्ञहरू यो विश्वास गर्छन् कि चीनले आफ्नो आणविक हतियारलाई अगाडि बढाउन जुन गतिमा काम गरिरहेको छ, त्यसको प्रयासमा केही खतरनाक नियत लुकेको छ। जसका कारण चीनको बढ्दो शक्तिलाई ध्यानमा राख्दै पश्चिमी देशहरू आफ्नो सैन्य शक्ति र युद्ध सामग्री थप बढाउन बाध्य र बिवश भएका छन्। त्यसैले त चीनसँग केही पश्चिमी देशहरू डराउँछन्। उनीहरू विश्वास गर्छन् कि उनीहरूले चिनियाँ सेनाको सामना गर्न सक्दैनन्।