
बेलायती मन्त्रीसँग प्रचण्डले उठाए गोर्खा सैनिकका माग
नेपाल भ्रमणमा रहेका बेलायतका विकासमन्त्री एन्ड्रयू मिचेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो तथा विकासका विविध आयामबारे छलफल भएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले आगामी वैशाखमा नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा लगानीकर्तालाई नेपालमा पठाउन सहयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले द्विपक्षीय संयन्त्रको वार्ताबाट बेलायती गोर्खा सैनिकको माग सम्बोधन हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यसले सकारात्मक नतिजा दिने बताए ।
आजै नेपाल र बेलायतबीच ‘ग्रिन ग्रोथ नेपाल’ र ‘नेपाल इन बिजनेस’ सम्बन्धी सम्झौता भएको छ ।
यसै क्रममा बेलायतका विकासमन्त्री मिचेलले नेपालको सामाजिक–आर्थिक विकासका लागि बेलायतले थप सहयोग गर्ने र जलवायु परिवर्तनका मुद्दामा सघन सहकार्य गर्न बताए ।
भेटमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटा, नेपालका लागि बेलायती राजदूत रोव फिन, परराष्ट्र मन्त्रालयलगायत दुवै देशका उच्च अधिकारीको सहभागिता थियो ।
