गाजामा इजरायलको अत्याचारः झण्डै २९ हजार प्यालेस्टाइनीको सम्हार

मूलखबर संवाददाता
काठमाडौं

गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५ पुगेको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत अक्टोबर ७ मा सुरु भएको इजरायल-हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएका छन्। इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने २०५ जना घाइते भएका छन्।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले दक्षिणी गाजा पट्टीको खान युनिस शहरको अल-अमल अस्पतालले इजरायली ट्याङ्कहरूबाट थुप्रै प्रत्यक्ष आक्रमणहरू भएको बताएको छ।

इजिप्टले गाजापट्टीको युद्धग्रस्त प्यालेस्टाइनी क्षेत्रमा लगभग दुई लाख टन मानवीय सहायता पठाएको इजिप्टका सामाजिक एकतामन्त्री निभिन एल–कब्बागले बताए ।

राजधानी कायरोमा ‘रन फर गाजा म्याराथन’मा भाग लिँदै उनले आवाश्यक सेवाको व्यवस्था गर्न, आपूर्ति शृंखला विस्तार गर्न करिब ३७ देशबाट प्राप्त सहायता भण्डारण गर्न इजिप्टको रेड क्रिसेन्टको भूमिकाको प्रशंसा गरेका थिए ।

 

इजरायलले गएको अक्टोबर ७ देखि गाजामा हमासविरुद्ध सैन्य अभियान चलाइरहेको छ । दक्षिणी इजरायलमा आन्दोलनजन्य आक्रमणपछि करिब एक हजार २०० मानिसको मृत्यु भएको छ ।

गाजामा इजरायली नाकाबन्दी र बमबारीले अहिलेसम्म करिव २९ हजार प्यालेस्टाइनीको ज्यान लिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।