सरकार बनाउन प्रसवमा पाकिस्तान, सहवाज शरिफको पालो आउने संकेत

मूलखबर संवाददाता
काठमाडौं

सदाबहार राजनीतिक संकट सामना गर्ने देश हो–पाकिस्तान । सन् १९४७ मा पाकिस्तान बने यता यो देशको राजनीति विरलै सहज बाटोमा हिँडेको छ । कहिले सैनिक तानाशाही त कहिले अस्वस्थ्य राजनीतिक प्रतिस्पर्धामा बारम्बार फस्ने गरेको छ ।

भारत र पाकिस्तान ब्रिटिश शासनबाट मुक्त हुँदै सँगसँगै स्वतन्त्र भएका हुन् । तर, भारत तुलनात्मकरूपमा बढी स्थीर र लोकतान्त्रिक मुलुक बन्यो भने पाकिस्तान सधैँ अनिश्चितता र संकटबीचबाट गुज्रियो ।

यहाँसम्मकी पाकिस्तानमा आम चुनावबाट निर्वाचित भएर आएका सरकार र प्रधानमन्त्रीले समेत सहज कार्यकाल बिताउन पाएनन् ।

पछिल्लो चुनावमा आएको मिश्रित नतिजाले पनि पाकिस्तानमा सरकार परिवर्तनको प्रसव चलिरहेको छ ।

पाकिस्तान मुस्लिम लिग (पिएमएल-एन) का नवाज शरिफले आफ्ना कान्छा भाइ एवं पूर्वप्रधानमन्त्री मोहम्मद शहबाज शरीफलाई प्रधानमन्त्री बनाउने तयारी गरेको छ।

पिएमएलको नेतृत्वमा ६ दलीय गठबन्धनको सरकार बनाउने तयारी भइरहेको पाकिस्तानी समाचार संस्था द डनले जनाएको छ। गठबन्धनबाट शहबाजलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको हो।

यस्तै, पञ्जाबको मुख्यमन्त्रीमा नवाजले आफ्नी छोरी मरियम नवाजलाई बनाउने प्रस्ताव गरेका छन्।

पिएमएललाई बिलावल भुट्टोको नेतृत्वको पाकिस्तान पिपल्स पार्टी पार्लियामेटरियन्स (पिपिपी), मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तान(एमक्युएम-पी), पाकिस्तान मुस्लिम लिग (पिएमएल-क्यु), इस्तेकाम-इ-पाकिस्तान पार्टी (इपिपी) र बलोचिस्तान अवामी पार्टी (बिएपी)ले समर्थन गरेको हो।

प्रत्यक्ष निर्वाचनतर्फबाट ६ दलीय गठबन्धनबाट कुल १५२ सिट जितेको छ। ३३६ सदस्य रहने राष्ट्रिय सभामा सरकार बनाउन १६९ सिट आवश्यक छ। प्रत्यक्षतर्फबाट १५२ सिट हासिल गरे पनि आरक्षितबाट ६० महिला र १० अल्पसंख्यक सदस्यहरू पनि गठबन्धनको तर्फबाट चुनिनेछन्। त्यसपछि बहुमत पुग्ने भए पनि दुई तिहाइ बहुमत पुर्‍याउँछन् वा पुर्‍याउँदैनन् भन्ने हेर्न बाँकी नै छ। अझै दुई सिटको मत परिणाम आउन बाँकी नै छ।

जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र निर्वाचित सदस्यहरूले मजलिस-इ-वाहदतुल मिलिमिन (एमडब्ल्युएम) मा प्रवेश गरेका छन्। यस पार्टीले पनि समानुपातिकतर्फबाट महिला र अल्पसंख्यक सदस्यहरू दाबी गरेको छ।

यद्यपि एमडब्ल्युएमले एउटामात्रै सिट जितेको छ। पिटिआईले भने महिलातर्फ १० सिट पाउने देखिन्छ।