मधेस प्रदेश पुगेर गृहमन्त्रीले दिए कडा निर्देशन
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको सुरक्षाबारे प्रशासनिक निकायहरूबाट रिपोर्टिङ लिनुभएको छ र आवश्यक निर्देशन समेत दिनुभएको छ।
आज महोत्तरीको बर्दिबासका आयोजित सुरक्षा समिक्षा कार्यक्रममा महोत्तरी तथा धनुषाका सिडिओ, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवम् राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेश प्रमुखहरू र जिल्लाका सुरक्षा प्रमुखहरूले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे गृहमन्त्री श्रेष्ठलाई रिपोर्टिङ गर्नुभएको थियो।
रिपोर्टिङ सुनिसकेपछि गृहमन्त्री श्रेष्ठले लागु औषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन र यी सबै योजनामा प्रदेश र पालिका सरकारसँग समन्वय गरेर काम गर्न निर्देशन दिनुभयो।
त्यसक्रममा संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको उहाँले बताउनुभयो। धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्कन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक बिधिबाटै नियन्त्रण गर्न उहाँले प्रशासनिक र सुरक्षा निकायलाई निर्देशन दिनुभयो।
सीमामा राजस्व चुहावट नियन्त्रण गर्न, राजस्व बढाउन, अबैध कारोबार नियन्त्रण गर्न र क्रस बोर्डर क्राइम रोक्न बोर्डर पोस्ट थप्ने गृहकार्यमा सरकार रहेको गृहमन्त्री श्रेष्ठले बताउनुभयो। मिटर ब्याजीको नाममा कुनै बिचौलिया देखिए ध्यान दिएर कारबाहीमा गर्न समेत उहाँले निर्देशन दिनुभयो।