चाउचाउ कत्तिको खानुहुन्छ ? एक पटक फेरि विचार गर्नुस् है !

मूलखबर संवाददाता
काठमाडौं

नेपालमा चाउचाउको खाजा लोकप्रिय छ। सस्तो अनि सजिलै भोक मार्न चाउचाउ सबैभन्दा चर्चित खानेकुरा हो।

धेरैजसो बालबालिकालाई उनीहरुका अभिभावकले जङ्कफुड अर्थात पत्रु खानेकुरा दिने प्रचलन पछिल्लो समय निकै फस्टाएको छ । छोराछोरी रोए भने या भनेको मानेनन् भने फकाउनका लागि पत्रु खाना दिने चलन अहिले गाउँदेखि शहरसम्मको समस्या हो ।

काँचै वा सुप बनाएर खान सकिने चाउचाउ स्वास्थ्यको लागि फाइदाजनक छैन भन्ने सबैलाई थाहा नहुन सक्छ। चाउचाउको सेवनका थुप्रै हानी हुन सक्छन् ।

मासाच्युसेट्स जनरल हस्पिटलका ग्यास्ट्रोएन्टेरोलोजिस्ट डाक्टर ब्राडेन कुओको खोज अनुसार घरमै बनाइएको चाउचाउ शरिरले १-२ घण्टामा नै पचाउँछ जबकी बजारको चाउचाउ घण्टौँसम्म पेटमै रहन्छ, शरीरले सहजै पचाउन सक्दैन। चाउचाउ सुरक्षित राख्न यसमा राखिने प्रिजरभेटिभ केमिकलको कारण पेटलाई यो पचाउन गाह्रो हुने हो।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (FDA)को अनुसार यदि चाउचाउ नियमित खाँदा ट्युमर वा क्यान्सरको सम्भावना बढ्छ। चाउचाउमा हुने Tertiary-butyl hydroquinone (TBHQ) नामक प्रिजरभेटिभ (सुरक्षित राख्न प्रयोग गरिने केमिकल) पर्यफ्युममा प्रयोग गरिने केमिकल हो। यसले भित्री अंगहरुलाई कमजोर बनाउँछ। TBHQ बाहेक चाउचाउमा प्रोपाइलिन ग्लाइकोल प्रयोग गरिन्छ। यो सूर्तिजन्य पदार्थमा प्रयोग गरिने केमिकल हो।

साथै चाउचाउमा अन्य सेन्थटिक केमिकल जस्तै कर्न सिरप, पाल्म र मोनोसिडियम ग्लुटामेट (MSG) हुन्छ।

अर्थात नियमित चाउचाउ खानु हानीकारक रसायन सेवन गरे सरह हो। बरु घरमै आफैले बनाएर खान सकिन्छ तर प्याकेटमा आएको चाउचाउबाट परै रहनु नै आफ्नो स्वास्थ्य बचाउनु हो।

चिकित्सकमा अनुसार अनुसार चाउचाउमा हुने मैदा मानव स्वास्थ्यका लागि मन्दविष हो । जसले सुस्तसुस्त रुपमा शरीरलाई कमजोर बनाउँछ । त्यस्तै चाउचाउमा हुने तेल र मसलामा पनि हानिकारक हुन्छन् । यसमा अजिनामोटो हुन्छ जसले गर्दा हाडजोर्नी कमजोर हुनुको साथै कहिँकतै हलुकासँग लडे पनि छिट्टै भाँचिने संभावना रहन्छ ।

जङ्कफुडले विषेशगरी मस्तिष्क, मुटु, मिर्गौला खराब गर्नुको साथै शरीरका अन्य भागलाई पनि सुस्तसुस्त खराब गराउँछ र मुटु, मिर्गौलाका रोगले ग्रस्त बनाउँछ ।

तारेका वा भुटेर खाइने खानेकुरा मासु या अन्य खानेकुरा जस्तै सेलरोटी जस्ता बढी चिल्लोमा पकाइने खानेकुरा पनि स्वास्थ्यकर हुँदैनन् किनकी एकपटक पकाइसकेको तेलमा दोस्रोपटक बनाउनु विष हुन्छ । बरम्बार तेलको प्रयोगले क्यान्सर उत्पन्न गराउँछ ।

पछिल्लो समय बच्चाबच्चीमा कब्जियत र पाइल्सको समस्या देखिएको छ । कारण हो जङ्कफुड । स्कुल जाँदा खाजामा त्यहि प्याकेटिङ खाना र घरमा पनि त्यस्तै खानाका कारण पेट दुख्ने, हात खुट्टा कमजोर हुँदै जाने जस्ता समस्या बच्चामा देखिने गरेको छ ।

घरको बारीमा फलाउन सकिने सस्तो ,सजिलो र स्वास्थ्यका दृष्टिले पनि रेसादार तरकारी, दाल गेडागुडी खान छोडेर जङ्कफुड खाने र खुवाउने चलनले अस्वस्थ्यकर जीवनशैली र रोग निम्त्याउँछ।

यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।