जिन्दगी

लक्ष्मी पाैडेल

खै के मिल्दैन, सोचेजस्तै हुन्न यो कस्तो खाले जिन्दगी
त्यति सजिलो कहाँ छ र छोरी ? भन्नुहुन्थ्यो बाले जिन्दगी

हाँसी खुसी रहेकाहरु कतिबेला रुँदै बाँच्नुपर्छ थाहै नहुने
सायद रोएर बाँच्न नसक्नेहरुले अनाहकमै फाले जिन्दगी

दु:ख सुख सजिला अप्ठ्यारा हण्डर-ठक्कर सबै सहनुपर्छ
आमा सधैँ भन्नुहुन्छ, यो अनुभव हो छोरी सम्हाले जिन्दगी

गीतैजस्तो भो जिन्दगी, खुसी फाट्यो मनै फाट्यो फाटिरह्यो
फाटिरहन्छ, टालिरहन्छु एकैठाउँमा कतिपटक टालेँ जिन्दगी

यसै भएन, उसै भएन, म मेरै बाटो गर्छु तँ तेरै बाटो गर्
छैन गुनासो छैन, जस्तोसुकै भइजाओस् अब साले जिन्दगी !

२१ माघ २०८०