राम समस्या कि समाधान !

मूलखबर संवाददाता
काठमाडौं

अपूर्वानन्द

जनवरी २२ बितिसकेको छ। भारतका लागि यो बडादिन थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘यो क्यालेन्डरको मिति मात्र होइन। बरु नयाँ युगको सुरुवात हो।’ यो ‘देवतादेखि देशसम्म र रामदेखि राष्ट्रसम्म चेतनाको विस्तारको सुरुवात’ भएको उनको भनाइ थियो। त्यो दिन भारतको ‘आगामी १००० वर्ष’ को जग राखिएको दाबी उनले गरे।


‘रामराज्य’ को स्वागतमा मोदीले बोलेका यी शब्द देशको संविधानमा निहित धर्मनिरपेक्षताको सिद्धान्तसँग सोझै बाझिन्छन्। तैपनि अधिकांश राष्ट्रिय सञ्चारमाध्यमले तिनलाई समर्थन गरेर उत्साहपूर्वक दोहोर्‍याए।

मोदीकै इसारा पछ्याउँदै एउटा प्रतिष्ठित राष्ट्रिय दैनिकले जनवरी २२ मा ‘राष्ट्रको सामूहिक चेतनाको जागरण’ भएको बतायो। अर्को पत्रिकाले घोषणा गर्‍यो, यो ‘भारतले आफूलाई नयाँ तरिकाले परिभाषित गरेको क्षण हो।’ तिनको तर्क थियो, हिन्दु धर्म भारतको मूल हो, त्यसैले मुस्लिम, क्रिस्चियन र अरु अल्पसंख्यकले हिन्दु धर्मको सर्वोच्चता स्वीकार गर्दै सोही अनुसार जीवन जिउनुपर्छ।

अयोध्यामा नवनिर्मित राममन्दिरको प्राणप्रतिष्ठाका कारण २२ जनवरीलाई ‘दिव्य’ भारतको सुरुवातका रुपमा प्रचार गरिँदै थियो। हिन्दुहरूको विश्वासअनुसार उत्तरप्रदेशको यही सानो सहर रहेको स्थानमा रामको जन्म भएको थियो। त्यसैले यो ठाउँलाई उनीहरू पवित्र मान्छन्।

अयोध्यामा रामको नाममा सयौँ मन्दिरहरू छन्। तर, २२ जनवरीमा प्राणप्रतिष्ठा गरिएको मन्दिर अरुजस्तो होइन। यो मन्दिर त्यही ठाउँमा बनाइएको हो, जहाँ बाबरी मस्जिद नामक मुगल युगमा निर्मित मस्जिद थियो। जसलाई १९९२ मा भत्काइएको थियो। १६ औँ शताब्दीमा निर्मित मस्जिद विध्वंसले स्वतन्त्रतायताकै नराम्रो धार्मिक दंगा निम्त्यायो, जसमा २ हजारभन्दा बढीको ज्यान गयो। मारिनेहरूमा अधिकांश मुस्लिम थिए र यो घटनाले भारतको धर्मनिरपेक्ष राजनीतिक व्यवस्थाकै जग हल्लाइदियो।

२०१९ मा सर्वोच्च अदालतले फैसलामा मस्जिदको विध्वंस ‘कानुनी शासनको गम्भीर उल्लंघन’ भएको बतायो। तर कुनैबेला सोही मस्जिद रहेको स्थानमै राममन्दिर बनाउने अनुमति पनि दियो। यो अनौठो फैसला थियो, जसले कानुनी तर्कलाई नमानेको देखिन्थ्यो। यसको एउटै औचित्य पेस गरिएको थियो– मन्दिर निर्माणले बहुसंख्यक हिन्दुहरूलाई शान्त पार्नेछ र मुलुकमा शान्ति र स्थिरता ल्याउनेछ। तैपनि, न्याय उल्ट्याइएकोमा थुप्रै भारतीय र विदेशी कानुनविदले यो फैसलाको आलोचना गरे। १९९२ मा गरिएको अपराधलाई दिइएको पुरस्कारका रुपमा यो फैसलालाई हेरियो।

राममन्दिर निर्माणको वैधानिकता र नैतिकतालाई छाड्ने हो भने पनि भारतका हिन्दु र मुस्लिम दुवैका लागि यसले गर्ने संकेतलाई बेवास्ता गर्न असम्भव छ।

मोदी र उनलाई समर्थन गर्ने कट्टर हिन्दुहरूका लागि यो मन्दिर गौरव र दृढताको प्रतीक हो। गृहमन्त्री अमित शाहले भनेझैँ यो ‘गहिरो घाउको सिलाइ’ हो। जुन घाउ ५ सय वर्षअघि मुस्लिम ‘आक्रमणकारी’ले उनीहरूलाई दिएका थिए। उनीहरूका लागि यो विजयको प्रतीक हो।

तर, मुस्लिमहरूका लागि यो मन्दिर भारत हिन्दु राष्ट्रमा परिवर्तनको प्रतीक हो। जसको जगमा मुस्लिमविरोधी घृणा र विभेद छ। उदाहरणका लागि उनीहरूलाई सम्झना छ, अयोध्यामा मस्जिदको ठाउँमा राममन्दिर बनाउन चाहनेहरूको प्रमुख नारा थिए– ‘मुसलमानोँ का एक स्थान, पाकिस्तान या कब्रिस्तान’ र ‘बाबर की औलादोँ को जुते मारो।’

मस्जिद विध्वंसपछिको हिंसामा जो मारिए, जो अपांग भए र जसको जीविका खोसियो, ती सबैको सम्झना मुस्लिमहरूलाई छ। त्यसैले मन्दिरको उद्घाटनलाई सबैजसो पार्टी र देशका सम्भ्रान्तहरूले समर्थन गरेको देख्दा मुस्लिमहरू चिन्तित छन्।

जनवरी २२ मा मन्दिरको प्राणप्रतिष्ठाको उपलक्ष्यमा देशभर खुसियाली मनाइयो। कतिपय स्थानमा मुस्लिमविरोधी नारा लगाइयो। मुस्लिमविरुद्ध हिंसाका घटना समेत भएको खबर आए।

तर प्राणप्रतिष्ठा समारोहमा मोदीले यसबाट साम्प्रदायिक तनाव नबढ्ने बताएका थिए। ‘केही मान्छेहरू डर फैलाउने गर्थे, अयोध्यामा राम मन्दिर बन्यो भने आगो लाग्नेछ,’ मोदीले भने, ‘म उनीहरूलाई अयोध्या आउन र यहाँको उर्जा महसुस गर्न आग्रह गर्छु।’

‘भगवान राम आगो हैनन्, उर्जा हुन्। राम समस्या हैनन्, समाधान हुन्,’ उनले थपे।

मन्दिर उद्घाटनले विगतका सबै विवादलाई अन्त्य गर्छ भन्ने दाबीमा थुप्रै मानिस आश्वस्त हुन सकेनन्। खासगरी यो कुरा ती नेताले भनिरहँदा, जो बारम्बार मुस्लिम वा मुगल शासकहरूले हिन्दुविरुद्ध गरेका अपराधको कुरा गर्छन् र आफूले त्यसको बदला लिने समर्थकहरूलाई बताउँछन्।

राममन्दिरको प्राणप्रतिष्ठाले ती मानिसहरूलाई पनि प्रोत्साहित गरेको छ, जसले बाबरी मस्जिद भत्काएका थिए। तीमध्ये थुप्रैले ‘जघन्य’ अपराधमा आफ्नो सहभागिता सार्वजनिक रुपमै स्विकारेका छन् र यसबारे गर्वपूर्वक अन्तर्वार्ता समेत दिएका छन्। थुप्रै अवकाशप्राप्त न्यायाधीश, सैन्य अधिकारी र सरकारी कर्मचारीले आफूहरू सधैँ मस्जिद विध्वंसको पक्षमा रहेको खुलासा गरेका छन् र नयाँ मन्दिर प्राणप्रतिष्ठाको खुसियाली मनाएका छन्।

तसर्थ, जनवरी २२ को समारोह भारतीय मुस्लिम र अन्य अल्पसंख्यकहरूका लागि एउटा रहस्योद्घाटनको दिन थियो। जहाँ सैन्य लडाकु विमानबाट पुष्पगुच्छा बर्साइएको थियो। यो धुमधामको उत्सवका बीच के स्पष्ट भयो भने बहुसंख्यावाद अब भारतीय राज्य संरचनाको मूल चरित्र बनिसकेको छ।

अयोध्याको राममन्दिर निस्सन्देह हिन्दुत्व तथा भाजपा र उसका साझेदारहरूको हिन्दु बहुसंख्यावादी विचारधाराको शक्तिको प्रतीक हो। तर, सँगसँगै यो मोदीको व्यक्तिगत शक्तिको प्रतीक पनि हो। मन्दिरको प्राणप्रतिष्ठा गरेर मोदीले आफूलाई मुलुकमा हिन्दु सर्वोच्चताको सपनालाई यथार्थमा बदल्ने मुख्य पात्रका रुपमा स्थापित गरेका छन्। इच्छुक सञ्चारमाध्यमको सहयोगमा। रामको मूर्तिभन्दा ज्यादा मोदी सो समारोहको केन्द्रमा थिए।

जनवरी २२ को समारोहले जनताको निर्वाचित प्रतिनिधिबाट सम्राटमा मोदीको रुपान्तरणलाई पूर्णता दिएको छ। जसले आफ्नो शक्तिलाई दैवी शक्तिसँग जोड्छ। बाहिरी दर्शकहरूका लागि सायद यो रोचक र मनोरञ्जनयुक्त समाजशास्त्रीय तमासा थियो। तर, गणतन्त्रका मूल मान्यता र सिद्धान्तको क्षयीकरणबाट चिन्तित ती सबै भारतीयहरूका लागि र यो मुलुकमा आफ्नो स्थानलाई लिएर प्रश्न गर्न थालेका मुस्लिमलगायत अल्पसंख्यकहरूका लागि यो वास्तविक जीवनको त्रासदीपूर्ण कहानीको चरमोत्कर्ष थियो।

अल जजिराबाट