
८ करोड ३३ लाख क्षतिपूर्तिको फैसला, ट्रम्पले हारेको मुद्दाको नालिबेली
न्युयोर्कको अदालतले अमेरिकी पूर्वराष्ट्रपति तथा सन् २०२४ को राष्ट्रपति निर्वाचनका उमेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्तिबापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । क्यारोलले मानहानिका निम्ति क्षतिपूर्तिस्वरूप एक करोड डलरभन्दा बढी माग गरेकी छन् ।
फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने उल्लेख गरेका छन् ।
तीन घण्टाभन्दा केही कम समयको सुनुवाइपछि अदालतले आफ्नो निर्णय सुनाएको हो । क्षतिपूर्ति र दण्डात्मक क्षतिको स्तर अदालतका क्लर्कले पढ्दा उनी अदालतभन्दा बाहिर थिए ।
यसअघिको एउटा इजलासले सन् १९९० को दशकमा क्यारोललाई ट्रम्पले यौन दुर्व्यवहार गरेको ठहर गरेको थियो।
तर पछिल्लो मुद्दा भने सन् २०१९ मा राष्ट्रपति भएका बेला उनले व्यक्त गरेका अभिव्यक्तिसँग सम्बन्धित छ।
ट्रम्पका अभिव्यक्तिहरू मानहानि गर्ने खालको भएको भन्दै एक जना न्यायाधीशले आदेश सुनाइसकेका थिए। पछिल्लो जुरीको काम उनले तिर्नुपर्ने क्षतिपूर्ति टुङ्ग्याउनु थियो।
ट्रम्पले आफूले कुनै गलत काम नगरेको दाबी गर्दै पछिल्लो आदेशविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।
रिपब्लिकन दलका तर्फबाट राष्ट्रपतीय उम्मेदवार हुन खोजिरहेका बेला ट्रम्पविरुद्ध देखा परेका कैयौँ मुद्दामध्ये यो एक हो।
क्यारोलले आफूविरुद्ध यौन दुर्व्यवहार भएको कुरालाई – ट्रम्पले झुट बोलेको भनेपछि – त्यसले आफ्नो प्रतिष्ठामा असर गरेको र उनका समर्थकहरूबाट व्यापक रूपमा हत्याको धम्की आएको तर्क गरिन्।
कुल ८ करोड ३० लाख क्षतिपूर्तिमध्ये १ करोड १० लाख डलर क्यारोलको प्रतिष्ठामा पुगेको क्षतिका लागि, ७३ लाख डलर भावनात्मक क्षति र ६ करोड ६५ लाख डलर दण्डनीय सजायका रूपमा तिर्नुपर्ने भनिएको छ।
दण्डनीय सजाय ट्रम्पले उनीविरुद्ध बोल्ने काम रोक्ने मनसायले दिइएको बताइएको छ।
जुरीले सुनाएको क्षतिपूर्ति रकम क्यारोलले मागेभन्दा धेरै हो।
लेखिका क्यारोलले सन् १९९० को दशकमा पूर्व राष्ट्रपतिले आफूलाई डिपार्टमेन्ट स्टोरमा यौन हिंसा गरेको बताएकी थिइन्।
सात जना पुरुष र दुई जना महिला रहेको जुरीले शुक्रवार दिउसो तीन घण्टाभन्दा कम समयमै उक्त आदेश सुनाएको थियो।
क्यारोलका वकिलले एक विज्ञप्तिमार्फत भनेका छन्: “आजको आदेशले हाम्रो देशमा कानुन सबैका लागि – धनीका लागि पनि, चर्चित व्यक्तिका लागि पनि, पूर्वराष्ट्रपतिका लागि पनि – लागु हुन्छ भन्ने प्रमाणित गरेको छ।”
तर फैसलापछि आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा गरिएको पोस्टमा ट्रम्पले मुद्दाको नतिजाको आलोचना गरे तापनि उनी क्यारोलमाथि प्रत्यक्ष आक्रमण गर्नबाट जोगिए।
“म दुवै फैसलामा असहमति जनाउँछु ” , उनले भने। “र, म यो पूरै बाइडन निर्देशित म र रिपब्लिकन पार्टीमा केन्द्रीत वीच हन्टविरुद्ध अपिल गर्नेछु।”
ट्रम्पले थप लेखेका छन्: “हाम्रो कानुनी तन्त्र नियन्त्रणबाहिर छ, र यो राजनीतिक हतियारको रूपमा प्रयोग भइरहेको छ।”
