
बिमान कसले खसालेको हो ? युद्धकैबीच रुस र युक्रेनबीच वाकयुद्ध पनि
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधवार खसालिएको भनिएको विमानबारे अन्तर्राष्ट्रिय छानबिनको माग गरेका छन्।
उनले रुसमाथि युक्रेनी युद्धबन्दीहरूको जीवनसँग खेलबाड गरेको आरोप समेत लगाएका छन्।
आफ्नो जन्मदिनको अवसरमा बिहीवार युद्धग्रस्त क्षेत्रमा जाने तयारी स्थगित गर्दै जेलेन्स्कीले यसबारे “स्पष्ट तथ्यहरूको खोजी गरिनुपर्ने” बताएका छन्।
उक्त विमानमा सवार ६५ युक्रेनी युद्धबन्दी र चालकदलका छ सदस्य गरी सबै जनाको मृत्यु भएको रुसी पक्षले जनाएको छ।
उक्त प्रकरणबारे रुस र युक्रेनले आआफ्नै दाबी गरेका छन्। देशहरूबीच चल्ने लडाइँ दुई प्रकारका हुन्छन् – सशस्त्र युद्ध र सूचनाको युद्ध। अहिले युद्धरत देशहरूले दुवै माध्यमको लडाइँ गरिरहेका छन्।
बाँकी हामी सबैलाई वास्तविकता के हो त्यो पुष्टि गर्न निकै कठिन छ।
रुस र युक्रेनबीच चलिरहेको युद्धमा पनि यो लागु हुन्छ। तर हामीले के सम्झिनुपर्छ भने रुसले खुलेआम झुटो बोल्ने र भ्रामक सूचना फैलाउने गरेको छ।
यो कुरा सन् २०१४ मा झन्डै ३०० जनाको ज्यान जाने गरी एमएच१७ विमान विमान खसालिएको घटना र सन् २९१८ मा एक पूर्वगुप्तचरलाई नोभिचोक विष प्रयोग गरी आक्रमण गरिएकोघटनामा उजागर भएका थियो।
युक्रेनमा पूर्ण स्तरको रुसी आक्रमणका रुसले देखाएको कारण पनि साँचो थिएन। रुसले युक्रेनको “नाजी” सत्ताले रुसीभाषीहरूमाथि “नरसंहार” गर्ने जोखिम भएको भन्दै आक्रमण सुरु गरेको थियो।
तर यसको अर्थ रुसको रक्षा मन्त्रालय, क्रेम्लिन वा रुसी सांसद र सरकारी सञ्चारमाध्यमका सबै कुरा असत्य हुन्छन् भन्ने होइन। तर प्रायः ती असत्य हुन सक्छन्। तसर्थ ती कुरालाई दोहोर्याउनुअघि राम्रोसँग तथ्यजाँच गर्न आवश्यक हुन्छ।
यस पटक पनि रुसी इल्यूशिन-७६ विमान दुर्घटना भएको समाचार सबैभन्दा पहिले रुसी सरकारी सञ्चारमाध्यममा देखा पर्यो।
रुसको दाबी
रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै आएका समाचारमा दुर्घटनामा बन्दी आदानप्रदानका लागि बेल्गोरोद क्षेत्रतर्फ जाने क्रममा उक्त विमान दुर्घटनामा परेको र कम्तीमा ६५ जना युक्रेनी युद्धबन्दीहरू मारिएको उल्लेख छ।
किएभले रुसी दाबी पुष्टि गरेको छैन। रुस पनि आफ्नो दाबी पुष्टि गर्ने कुनै प्रमाण दिएको छैन।
बरु रुसका एक सांसदले रुसी विज्ञप्तिलाई अझ व्याख्या गर्दै युक्रेनले उक्त विमान खसाल्न ‘प्याट्रिअट’ क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेका छन्।
पश्चिमा देशहरूले युक्रेनलाई दिएको क्षेप्यास्त्र प्रयोग भएको भन्नु आफैँमा ठूलो दाबी हो। तर त्यसलाई पुष्टि गर्ने पनि कुनै प्रमाण देखिएको छैन।
यसबारे विश्वभरि चर्चा हुन थाल्दा पनि युक्रेनले तत्काल कुनै दिएको थिएन। अनि यो शून्यतामा रुसको दाबी चर्को हुँदै गएको थियो।
