राम मन्दिर प्राण प्रतिष्ठापछि ५७ इस्लामिक देशले दिए आक्रोशपूर्ण प्रतिक्रिया

मूलखबर संवाददाता
काठमाडौं

इस्लामिक तथा मुस्लिम बहुल देशहरूको संगठन इस्लामिक सहयोग संगठन (ओआईसी)ले भारतको अयोध्यामा गरिएको राम मन्दिरको प्राणप्रतिष्ठाको निन्दा गरेको छ ।

ओआईसीले मंगलबार विज्ञप्ति जारी गर्दै भारतीय सहर अयोध्यामा बाबरी मस्जिद ध्वस्त भएको ठाउँमा राम मन्दिर निर्माण र यसको पवित्रतालाई गम्भीर चिन्ताको विषय भएको बताएको छ ।

जनवरी २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा बनेको नयाँ राम मन्दिरको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा राजनीति र बलिउडका चर्चित अनुहारहरूका साथै आम मानिसहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो ।

यस घटनाको ठीक एक दिनपछि, जनवरी २३ मा ओआईसीले मस्जिदको ठाउँमा राम मन्दिर निर्माण भएको र प्राणप्रतिष्ठा गरिएकोमा निन्दा गरेको हो ।

ओआईसीले मङ्गलवार विज्ञप्ति जारी गर्दै भनेको छ, “भारतीय सहर अयोध्यामा जुन जमिनमा पहिला बाबरी मस्जिद ढलाइएको थियो त्यहीँ ‘राम मन्दिर’को निर्माण र त्यसको प्राणप्रतिष्ठा गर्नु गम्भीर चिन्ताको विषय हो।”

ओआईसीले भनेको छ, “विभिन्न देशका अधिकारी सम्मिलित काउन्सिलको पछिल्लो बैठकमा व्यक्त मत अनुसार हामी यो कदमको निन्दा गर्छौँ, यसको लक्ष्य बाबरी मस्जिद जस्तो महत्त्वपूर्ण इस्लामिक स्थल नामेट पार्नु हो। त्यहाँ पाँच सय वर्षसम्म बाबरी मस्जिद थियो।”

मुस्लिम सङ्ख्याको हिसाबमा भारत, इन्डोनेशिया र पाकिस्तान शीर्ष तीन देश हुन्। प्यू रिसर्चका अनुसार, सङ्ख्या सन् २०६० सम्ममा मुसलमानको सबभन्दा धेरै सङ्ख्या भारत र त्यसपछि पाकिस्तानमा हुनेछ।

ओआईसी इस्लामिक अथवा मुस्लिम बहुल देशहरूको सङ्गठन हो। यसका ५७ देश सदस्य छन्।

ओआईसीमा साउदी अरबको प्रभाव धेरै छ। उ मुस्लिमको सङ्ख्या सबभन्दा धेरै भएका १० देशहरूमा भने पर्दैन।

तर मक्का र मदिना भएका कारण साउदी अरब असाध्यै महत्त्वपूर्ण मानिन्छ। मुस्लिम जनसङ्ख्याको हिसाबमा भारत शीर्ष तीन देशमा परे पनि ओआईसीको सदस्य छैन।

सन् २००६ को २४ ज्यानुअरीमा साउदी अरबका राजा अब्दुल्लाह बिन अब्दुल अजीज भारत भ्रमणमा गएका थिए।

सोही भ्रमणमा उनले भारतलाई पनि ओआईसीमा पर्यवेक्षक बनाउनुपर्ने बताएका थिए। त्यस्तो प्रस्ताव पाकिस्तानले गरे राम्रो हुने उनको धारणा थियो।