एकैदिन २४ सैनिक मारिएपछि इजरायलले भन्यो- हमासलाई नहराइ युद्ध रोकिँदैन

मूलखबर संवाददाता
काठमाडौं

प्यालेस्टाइन चरमपन्थी समूह हमासको आक्रमणमा परी एकैदिन २४ इजरायली सैनिक मारिएका छन् । योसँगै हमास–इजरायल युद्धमा मारिने इजरायली सैनिकको संख्या २१९ पुगेको छ ।

सोमबार उनीहरू मारिएको इजरायली सेनाका प्रवक्ता डैनियल हजारीले बताएका छन् । हमासविरुद्ध सैन्य अभियान जारी राखेको इजरायललाई सोमबारको दिन घातक बनेको जनाइएको छ ।

हजारीका अनुसार, इजरायली सेना रहेको भवनमा हमासले रकेट आक्रमण गर्दा उनीहरू मारिएका हुन् । घटनाबारे जानकारी लिने कार्य भइरहेको उनले जनाएका छन् ।

गएको अक्टोबर ७ मा हमासले अचानक इजरायलमाथि आक्रमण गरेको थियो । त्यसयता हमास र इजरायलबीच युद्ध जारी छ ।

हमासको आक्रमणमा परी अक्टोबर ७ मा एक हजार ३०० इजरायलीको मृत्यु भएको थियो । त्यसपछि इजरायली सेनाले गरेको आक्रमणमा हालसम्म २५ हजारभन्दा बढी प्यालेस्टाइनको मृत्यु भइसकेको छ ।

आईडीएफले के भएको हो भनेर अनुसन्धान गरिरहेको जनाएको छ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार त्यहाँ १९५ प्यालिस्टिनी मारिएका छन्।

आईडीएफका मुख्य प्रवक्ताले जगेडाअन्तर्गत रहेर लड्न आएका फौजहरू सोमवार स्थानीय समय अनुसार ४ बजे आसपास मध्यगाजामा मारिएका जनाएका छन्।

उनीहरू दक्षिण इजरेलमा त्यहाँका बासिन्दालाई सुरक्षित रूपमा घर फर्काउन सक्ने माहोल बनाउने उद्देश्यसहित उक्त कारबाहीमा थिए।

अक्टोबर ७ को हमलापछि सीमावर्ती इजरेली क्षेत्रका दशौँ हजार मानिसलाई अन्यत्र सारिएको थियो।

विस्फोटमा परेर मारिनेहरूमध्ये सुरुवाती केहीको अन्तिम संस्कार जेरुसेलममा झरी पर्दै गर्दा माउन्ट हर्टसलमा गरिएको थियो।

त्यहाँ शोक व्यक्त गरिरहेका धेरैजसो सैन्य पोसाकमा थिए र त्यहाँ व्यापक रूपमा नीलो र सेतो रङ्गको इजरेली झण्डा देखिन्थ्यो।

इजरेली सेनाले सोमवार नै दक्षिण गाजामा भएको एउटा बेग्लै हमलामा परेर तीनजना सैनिक मारिएका पुष्टि गरेको छ।

प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले पीडाका बावजुत आफ्नो देशले “पूर्ण जित” हासिल नगरेसम्म लडाइँ जारी राख्ने बताएका छन्।