दिनको सुरुवात कफीसँग गर्नुस्, बनाउने विधि र फाइदा पनि
त्यसो त बिहान उठेपछि चिया कफी कसलाई मन पर्दैन र । तर यदी तपाईंलाई मोटोपनले सताइरहेको छ र दुब्लाउन चाहनुहुन्छ भने नियमित कफीलाई फरक ढंगले बनाएर पिउन पनि सक्नुहुन्छ ।
जसले गर्दा तपाईंको कफीको लत पनि पूरा हुन्छ र तौल पनि कम हुन्छ । कफीलाई सही तरिकाले प्रयोग गर्न जानेमा यसका फाइदाहरु पनि छन् । कफी पिएर तौल कम गर्नका लागि कस्तो कफी पिउने आज हामी यही बारेमा बताउन गइरहेका छौं ।
तौल कम गर्नका लागि कफी मात्र नभएर कफीमा कागती दालचिनीको डाँठ र इच्छाअनुसार मह मिसाएर पिउन सकिन्छ । यसका लागि बिहान खाली पेट यो कफी पिउनुहोस् ।
कफी बनाउने सामग्री र विधि
तौल कम गर्ने कफी बनाउनका लागि पहिला एक गिलास पानीमा सानो टुक्रा दालचिनी राखेर उमाल्नुहोस् अब त्यसमा एक चम्चा कफी राख्नुहोस् ।
कफी राखेर घोलिसकेपछि यसमा आधा ठूलो कागतीको रस मिसाउनुहोस् र आवश्यकताअनुसार मह राखेर पिउनुहोस् ।
यसलाई बिहान पानी पिएको केहीबेर पछि तपाईं पिउन सक्नुहुन्छ ।
तपाईं बिहानमा यो कफी नियमित पिउनुहोस् र नास्ता नगर्नुहोस् । यसले तपाईंलाई लामो समय ऊर्जा दिनुका साथै भोक लागेको अनुभूति पनि गराउँदैन । त्यसैले तपाईं सिधै बिहानको खाना खान सक्नुहुन्छ ।
यसरी तपाईं बिहानमा यो कफी पिएर केही समयमै तौल कम गर्न सक्नुहुन्छ । यसैसँगै तपाईं दुध मिसाएको चिया वा कफी भने पिउनु हुँदैन ।