किन भनिन् माल्दिभ्सकी मन्त्रीले मोदीलाई जोकर …
माल्दिभ्सका तीन मन्त्रीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खिल्ली उडाएपछि भारतीय नागरिकहरूले माल्दिभ्सलाई बहिष्कार गर्न र भ्रमण नगर्न आग्रहसहित सामाजिक सञ्जालहरूमा पोस्ट गरिरहेका छन् । यससँगै माल्दिभ्सको ठूलो आयको स्रोत पर्यटन व्यवसाय धरापमा पर्ने अनुमान गर्न थालिएको छ ।
विवादको शुरूआत मोदीको एक ट्वीटले गरेको थियो । उनले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा दक्षिण भारतीय प्रदेश केरलाको छेउमा रहेको लक्ष्यदीप टापुको सामुद्रिक तटमा हिँडिरहेको फोटो पोस्ट गरेका थिए ।
एक साताअघि प्रधानमन्त्री मोदीले भारतीय सुन्दरता र पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले गरेको उक्त ट्वीटमा माल्दिभ्सको नाम उल्लेख नगरेको भन्दै माल्दिभ्समा मन्त्रीहरूले ट्वीटरमै अपमान गरेका हुन् ।
माल्दिभ्सका तीन मन्त्रीले मोदीलाई ‘जोकर’, ‘आतंकवादी’ र ‘इजरायलको कठपुतली’ भन्दै रिप्लाइ गरेका थिए । त्यसपछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको कार्यालयले मोदीको अपमान गरेका तीन मन्त्रीहरू मल्शा शरीफ, मरियम शिउना र अब्दुल्ला महजूम मजिदलाई तत्काल निलम्बन गरिदियो ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उक्त अपमानजन्य ट्वीट उनीहरूको व्यक्तिगत विचार भएको र त्यसले माल्दिभ्सको प्रतिनिधित्व नगर्ने उल्लेख छ ।
‘माल्दिभ्स र यसका अन्तर्राष्ट्रिय साझेदार राष्ट्रहरूबीचको घनिष्ठ सम्बन्धमा बाधा पार्ने तथा घृणा र नकारात्मकता फैलाउने गरी अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्नुहुँदैन,’ विज्ञप्तिमा उल्लेख छ ।
यो घटना यस्तो संवेदनशील समयमा आएको छ, जतिबेला माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु चीनको पाँच दिने भ्रमणमा छन् । गत अक्टोबरमा भएको चुनावमा विजयी भएर उनी पहिलोपल्ट माल्दिभ्सको राष्ट्रपति बनेका हुन् ।
उनलाई चीन समर्थित राष्ट्रपति मानिन्छ । उनले ‘भारत पहिलो’ भन्ने राष्ट्रिय नीति अन्त्य गर्ने वाचा गरेका थिए । सोही नीतिका कारण उनले चुनाव जितेको मानिन्छ ।
भ्रमणका क्रममा उनले चिनियाँ अधिकारीहरूसँग भेट्ने र व्यापार, व्यावसायिक तथा आर्थिक, सामाजिक विकासमा सुधार गर्न प्रमुख सम्झौताहरूमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
५ लाख मात्र जनसंख्या रहेको हिन्द महासागरको सानो द्वीपसमूहका राष्ट्रपति मुइज्जु बेइजिङसँग बलियो सम्बन्ध बनाउन उत्सुक छन् तर उनले नजिकको छिमेकी भारतलाई टाढा राख्न सक्ने स्थिति भने देखिन्न ।
पर्यटनमा निर्भर रहेको माल्दिभ्समा सबैभन्दा बढी पर्यटक भारतबाटै जाने गर्छन् । आम्दानीको ठूलो हिस्सा भारतीय पर्यटकबाट आउँछ । माल्दिभ्सको पर्यटन वेबसाइटका अनुसार गत वर्ष माल्दिभ्समा सबैभन्दा धेरै पर्यटक भारतबाट गएका थिए ।
सन् २०२३ मा माल्दिभ्समा २ लाख ९ हजार भारतीय पर्यटकले यात्रा गरेका थिए । यसको मतलब पर्यटनबाट हुने आम्दानीको ११ प्रतिशत हिस्सा भारतीय पर्यटकमा निर्भर छ ।
गत हप्ता सार्वजनिक गरिएको तथ्याङ्क अनुसार २०२३ मा रूसी पर्यटकले पनि ११ प्रतिशतकै योगदान गरेका थिए भने चिनियाँ पर्यटकले १० प्रतिशत योगदान गरेका थिए ।
निलम्बनमा परेका मन्त्रीहरूको टिप्पणीका कारण छुट्टी मनाउन माल्दिभ्स जाने भारतीयहरूलाई रिस उठ्यो । उनीहरूले आफूले माल्दिभ्सको भ्रमण रोकेको देखाउने फोटो र स्क्रीनशट पोस्ट गर्न थाले ।
अक्षय कुमार लगायत बलिउड अभिनेतादेखि क्रिकेट खेलाडीसम्मले ‘बोयकट माल्दिभ्स’ ह्यासट्याग प्रयोग गरे र माल्दिभ्सको सट्टा स्थानीय पर्यटकीय गन्तव्यहरूमा जान आग्रह गरे ।
‘हामी हाम्रा छिमेकीहरूका लागि राम्रो छौं, तर हामीले किन यस्तो घृणा सहने ?’ बलिउड अभिनेता अक्षय कुमारले ट्वीटमार्फत भनेका छन्, ‘मैले धेरैपटक माल्दिभ्स भ्रमण गरेको छु र सधैं प्रशंसा गरेको छु, तर आत्मसम्मान सधैं पहिलो हुन्छ । हामी माल्दिभ्स नजाने निर्णय गरौं ।’
त्यस्तै ‘राष्ट्रका लागि एकताबद्ध हुन इज माइ ट्रीपले माल्दिभ्सका लागि भएका सबै बूकिङ रद्द गरेको छ,’ इज माइ ट्रीप कम्पनीका सीईओले ट्वीट गरेका छन् ।
सोमबार माल्दिभ्समा रहेको भारतीय उच्च आयोगले माल्दिभ्सको विदेश मन्त्रालयलाई लक्षित गर्दै यस विवादबारे जोडदार रूपमा आवाज उठाउनुका साथै चिन्ता व्यक्त गरेको छ ।
वाशिङटनको विल्सन सेन्टरमा रहेको दक्षिण एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगेलम्यानले मन्त्रीहरूलाई द्रूत कारवाही गर्ने र उनीहरूको टिप्पणीलाई निन्दा गर्ने कामले माल्दिभ्स सरकारले भारतसँगको सम्बन्धलाई महत्त्व दिएको पुष्टि हुने टिप्पणी गरे ।
‘हालैका दिनहरूमा देखिएको यो विवादले थप चुनौती सिर्जना गरेको छ,’ उनले भने, ‘तर माल्दिभ्सको नयाँ नेतृत्व भारतसँगको सम्बन्ध गुमाउने जोखिम लिन चाहन्न ।’
एजेन्सीहरूबाट