वासिङ्टन-तेहरान तनावः तेल ट्याङ्करमाथि ड्रोन हमला गरेको अमेरिकाको आरोप

मूलखबर संवाददाता
काठमाडौं

इरानबाट हिन्द महासागरमा एक तेल ट्याङ्करमाथि ड्रोन हमला गरिएको संयुक्त राज्य अमेरिकाको सेनाले जनाएको छ।

पेन्टागनका अनुसार केम प्लूटो पानीजहाज भारतीय तटभन्दा २०० नटिकल् माइल अर्थात् ३७० किलोमिटर पर हुँदा शनिवार स्थानीय समय अनुसार १० बजे उक्त घटना भएको थियो।

त्यसपछि सो पानीजहाजमा लागेको आगो निभाइएको जनाइएको छ। कोही पनि उक्त आक्रमणमा घाइते नभएको बताइएको छ।

 इरानले कुनै प्रतिक्रिया जनाएको छैन।

तर हालैका दिनहरूमा लाल सागरमा इरानको समर्थन प्राप्त यमनका हुथी विद्रोहीहरूले निरन्तर रकेट तथा ड्रोन आक्रमणहरू गरेका छन्।

चारवटा ड्रोन खसालिदिएको अमेरिकी दाबी
एउटा अलग्गै घटनाक्रमबारे प्रतिक्रिया जनाउँदै अमेरिकी मध्य कमान्डले शनिवार भनेको छ: “यमनको हुथी नियन्त्रित क्षेत्रबाट आएका दुई हुथी पानी जहाज भेदी बलिस्टिक क्षेप्यास्त्र पानीजहाजहरूले प्रयोग गर्ने अन्तर्राष्ट्रिय जलमार्गमा प्रहार गरिएको छ। कुनै पनि पानीजहाजहरूलाई ती क्षेप्यास्त्रहरूले असर गरेको भन्ने विवरण आएको छैन।”

उसले उक्त क्षेत्रमा गस्ती गरिरहेको यूएसएस लबुन नामक युद्धपोतले ‘यमनको हुथी नियन्त्रित क्षेत्रबाट प्रहार गरिएका चारवटा मानवरहित ड्रोन खसालिदिएको’ जनाएको छ।

सोही दिन एउटा कच्चा तेल बोकेको ट्याङ्करमाथि हुथी ड्रोनले दक्षिणी लाल सागरमा आक्रमण गरेका विवरण आएका छन्। अर्को एउटा ट्याङ्कर भने जोगिएको थियो।

यमनको अधिकांश हिस्सा नियन्त्रणमा लिएको उक्त विद्रोही समूहले गाजामा युद्धले निरन्तरता पाइरहेकाले इजरेलसँग सम्बन्धित पानीजहाजलाई निशाना गरिरहेको दाबी गर्दै आएको छ।

आक्रमणको उच्च जोखिमका कारण कैयौँ ठूला विश्वव्यापी मालवाहक पानीजहाज समूहहरूले लाल सागरमा आफ्ना गतिविधि बन्द गरेका छन्।
विज्ञप्तिमा पेन्टागनले जनाए अनुसार ‘इरानबाट एकतर्फी रूपमा गरिएको ड्रोन हमला’ ले केम प्लूटोलाई प्रभावित पारेको थियो।

उसका अनुसार ‘लाइबेरियाको झन्डा रहेको जापानी स्वामित्वको उक्त ट्याङ्कर नेदरल्याण्डसबाट सञ्चालन’ भइरहेको थियो।

यसअघि एउटा सामुद्री सुरक्षा फर्म एमब्रीले उक्त पानीजहाज इजरेलसँग सम्बन्धित रहेको बताउँदै त्यो साउदी अरेबियाबाट भारत गइरहेको जनाएको थियो।

उक्त घटना भारतको गुजरात राज्यमा पर्ने वेरावल भन्दा २०० नटिकल् माइल दक्षिण पश्चिममा भएको यूके मेरिटाइम ट्रेड अपरेसन्सले जनाएको छ।

उक्त हमलाले ट्याङ्करमा संरचनागत क्षति पुर्‍याएको छ।

पानीजहाजभित्र पानी समेत प्रवेश गरेको तर त्यस समस्यालाई सम्बोधन गरिएको भनिएको छ।

भारतको तटरक्षक पानीजहाजसँगै उक्त एमभी केम प्लूटोलाई मुम्बईस्थित बन्दरगाहतर्फ लगिएका विवरण आएका छन्। त्यहाँ उक्त पानीजहाजमा पुगेको क्षतिको आकलन गरिनेछ।

सो आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन।

अमेरिकाले लाल सागर पार गर्ने क्रममा कम्तीमा १५ वटा पानीजहाजमाथि हुथी विद्रोहीहरूले आक्रमण गरेको जनाएको छ।

एम्ब्रीले भनेको छ – लाल सागरभन्दा टाढा यस्तो घटना पहिलो पटक भएको हो।

तर उक्त फर्मले सो क्षेत्रलाई इरानी ड्रोनबाट ‘उच्च जोखिम रहेको’ स्थानका रूपमा उल्लेख गर्दै आएको थियो।

भारतीय जलसेनाले आफ्नो विमान र युद्धपोत सहयोगका लागि त्यहाँ पठाएको थियो।

यसअघि शनिवार अमेरिकाले इरानमाथि लाल सागरमा व्यावसायिक पानीजहाजहरूमाथि कारबाही गर्ने योजना बनाउन ‘गम्भीर रूपमा संलग्न’ भएको आरोप इरानमाथि लगाएको थियो।

राष्ट्रिय सुरक्षा प्रवक्ता एड्रिअन वाटसन भन्छिन्: “उक्त क्षेत्रलाई अस्थिर बनाइरहेका हुथीहरूलाई इरानले लामो समयदेखी दिँदै आएको भौतिक सहयोग र प्रोत्साहनको परिणाम हो।”

जसपछि इरानी रिभोल्युस्नरी गार्डका कमान्डरले ‘यदि अमेरिका र उसका साझेदारहरूले गाजामा अपराधलाई निरन्तरता दिएको खण्डमा’ उसले लाल सागरबाहेक अन्य समुद्री मार्ग बन्द गरिदिने चेतावनी दिएको थियो।

उनले त्यसमा भूमध्य सागर र स्ट्रेट अफ जीब्राल्टार पनि पर्ने बताए तर कसरी त्यो सम्भव हुन्छ भनेर खुलाएनन्।

बीबीसीबाट