जनतासङ्ग माओवादी विशेष रुपान्तरण अभियान तिब्र, खुम्बुमा पार्टी प्रवेशको लर्को

मूलखबर संवाददाता
काठमाडौं

जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिकामा माओवादी प्रतिको आकर्षण बढेको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच विभिन्न पार्टी परित्याग गरि १० जनाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )मा प्रवेश गरेका छन । माओवादीको निकै कम्जोर क्षेत्र मानिएको खुम्बुमा पार्टी प्रवेशले निकै ठूलो अर्थ राख्ने बताइएको छ ।

“जनतासङ्ग माओवादी विशेष रुपान्तरण अभियान” अन्तर्गत खुम्बु पासाङल्हमु गाउँपालिकामा शुक्रबार पार्टी सदस्यता नविकरण गर्नुका साथै नया सदस्यता पनि वितरण गरिएको छ । नेकपा माओवादी केन्द्र सोलुखुम्बुका सम्योजक असिम राईले नवप्रवेशीलाई स्वागत गर्नुभएको माओवादी नेता बिजय तामाङले जानकारी दिनुभयो । पार्टी प्रवेश गर्नेहरुमा लाक्पा तामाङ, छेपाल नाम्गेल शेर्पा, पुर्णीमाया तामाङ, शक्तिमाया तामाङ, चरिमाया तामाङ, साबित्रामाया तामाङ लगायत रहनुभएको छ ।

यस्तै, फुनुरु शेर्पाको अध्यक्षतामा १५ सदस्य नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )खुम्बु पासाङल्हमु गाउँपालिका २ नं. वडा कमिटी गठन गरिएको छ । सोही कार्यक्रम सहित अभियानको समापन पनि गरिएको बताइएको छ । निवर्तमान पार्टी वडाध्यक्ष धनकुमार तामाङको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र सोलुखुम्बुका सम्योजक तथा प्रदेश सचिवालय सदस्य असिम राईको प्रमुख आतिथ्यतामा कार्यक्रम  सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र सोलुखुम्बुका सम्योजक तथा प्रदेश सचिवालय सदस्य असिम राईले देशमा परिवर्तनको सम्वाहक माओवादी बाहेकको विकल्प नभएको बताउनुभयो । माओवादीको एजेन्डामा राज्य सञ्चालन भैइरहेको भएपनि परिवर्तनका विरोधीको सक्रियता बढ्न सक्ने तर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।