प्रेमीहरूले राेईराेई मर्नु नपराेस् (कविता)
प्रेमका सुन्दर कोपिला फुल्न नपाई झर्नु नपरोस् !
प्रेम गरेको कसुरमा फेरि कसैले मर्नु नपरोस् ।
प्रेमिकाको गाउँमा जाँदा काँडा पनि नरम बनोस् !
लाठी ,भाला,तरवारको लखेटाईमा पर्नु नपरोस् !
फेरि कसैले यस्तो नभनोस- तेरो मेरो जात मिलेन !
मेरो ज्वाइँ बन्नलाई तँ मुलाको औकात मिलेन !
मानिसबाट मानिसले पशु-दर्जामा झर्नु नपरोस् !
जात मिलेन तेरो भनी फेरि कसैले मर्नु नपरोस् !
ज्वाइँ बुहारी खोज्दा अब कोही कसैले जात नहेरोस
वुद्वि, क्षमता, सोमत हेरोस् जातको फोस्रो औकात नहेरोस्।
मानिसबाट मानिसले स्खलित भै झर्नु नपरोस्
भोलिबाट प्रेमीहरूले अपराधीझैं मर्नु नपरोस्।
अग्लो होचो कालो गोरो मानिस आखिर मानिस हो
आर्य मङ्गोल,द्रविड सारा मानिस केवल मानिस हो
हर प्रेमीले उडानबाट आपत ब्यहोरी झर्नु नपरोस्
भोलिबाट प्रेमीहरूले रोई रोई मर्नु नपरोस्।
(तिमिल्सिना प्रगतिशील साहित्यकार हुनुहुन्छ)