रूसी सेनामा कार्यरत ६ नेपालीको मृत्युु, शव पठाउन र क्षतिपूर्ति दिन सरकारकाे आग्रह

मूलखबर संवाददाता
काठमाडौं, १९ मंसिर

रूसी सेनामा कार्यरत ६ जना नेपाली नागरिककाे मृत्यु भएको छ ।

यूक्रेनविरुद्धको युद्धमा रूसी सेनाको तर्फबाट लडिरहेका ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै यूक्रेनविरुद्धको युद्धमा रूसी सेनाको तर्फबाट लडिरहेका ६ जना नेपाली नागरिक मारिएको पुष्टि गरेको हो।

मृत्यु हुनेमा गोरखाका सन्दिप थपलिया, कपिलवस्तु वाणगंगा १ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, स्याङ्ग्जा पुतलीबजार ५ का प्रितम कार्की, दोलखा मेलुङ्ग ६ का राज कुमार रोका र इलाम ५ का गंगाराज मोक्तान रहेका छन्।

मन्त्रालयले रूस सरकारलाई पत्र पठाउँदै आफ्ना ६ जनै नागरिकको शव पठाइदिनका लागि आग्रह समेत गरेको छ। साथै नेपालले रूसलाई युद्धमा मारिएका नेपाली नागरिकका परिवारलाई क्षतिपूर्ति दिनका लागि पनि भनेको छ।

रूसमा नेपाली नागरिकलाई विद्यार्थी र भिजिट बाहेक अन्य भिसा दिने नगरिएको नेपालले जनाएको छ । रूसी सैनिकमा कसरी भर्ना भए र कति नागरिक रूसि अथवा युक्रनी सैनिकमा भर्ना भएका छन् भन्ने कुनै पनि आधिकारिक  तथ्यांक नेपाली निकायसँग छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूस र युक्रेनमा सेनामा नेपालीकाे सहभागीता कति छ, कसरी भयाे भन्ने यथार्थ विवरण संकलन गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिईसकेकाे बताउनुभएकाे छ ।

रूस सरकार यस लडाईका लागि नेपाली नागरिकलाई भर्ना नगर्न र यदि कसैलाई भर्ना गरेको भए तत्काल नेपाल फिर्ता पठाउन पनि मन्त्रालयले आग्रह गरेको छ।