दियाे (कविता)

पुजा श्रेष्ठ `अजिता´
काठमाडौं

म सँग एउटा दियो छ
जसलाई म असाध्यै माया गर्छु

जब मलाई याद भयो म यसैसँग छु
यसैको धिप धिप उज्यालोमा हुर्केको थिएँ
यसैको सहारामा उकाली ओराली
अनि कयौ भन्ज्याङ र चौतारीहरु चहारेँ
सयौँ मोड र घुम्तीहरु पार गरेँ
त्यसैले मेरो जीवनको हरेक पलको साक्षी
म सँग एउटा दियो छ…

जव यो दियो रापिलो र तेजिलो भएर बल्यो
सबै यसैको वरिपरि झुम्मिएका थिए
जब आँधी हुरी र तुफानी आयो
त्यसै सँग मिसिए धेरै मान्छेहरु अनि हराए
यहि दियो आफ्नो छुट्टै भागबण्डा गर्न खोजे
त्यहि संकटको सानो
म सँग एउटा दियो छ….

मैले हत्केलाले छपक्क छोपेकी छु
मलाई कसैले चोर्ला कि भन्ने पिर लाग्छ
कयौ रात जागै बसेकी छु
कयौ दिन एक्लै कुरेकी छु
जब दुषित हावाले यसलाई छुन्छ
सँगसँगै लतारिन खोज्छ
यसले मलाइ धेरै पटक पोलेको छ
मेरो हत्केला भरी काला फोका उठाएको छ
तै पनि मलाई दुखेको थाहा पाउदिन
किनकि मेरै रगतमा यो बलेको छ…..

जब यसलाई दुख्छ अनि म छट्पटिन्छु
जब यो धपक्क बल्छ संसार खुलेको देख्छु
मलाई फेरि पनि यो दियो लाई ज्वाला बनाउन मन छ
यसैको ज्वालामा संसार हाँसेको हेर्ने मन छ
यहि दियो बोकेर संसार डुल्न मन छ
यसलाई मिल्छ भने मुटु भित्र राखेर जोगाउन मन छ
चाहे मेरो मुटु सुकेर जाओस्
म सँग त्यहि प्यारो अनि न्यानो
एउटा दिय‍ो छ ….

(लेखक जनसाँस्कृतिक महासंघको वागमती प्रदेश उपाध्यक्ष हुनुहुन्छ )