के हो आजियटा बहिर्गमनको भित्री पाटो, प्राधिकरणले लेख्यो एनसेललाई पत्र

मूलखबर संवाददाता
काठमाडौं

एनसेलको ८० प्रतिशत सेयर सतिशलाल आचार्यको बेलायतमा रहेको एक कम्पनीले खरिद गरेको छ । आचार्य सिंगापुरमा बस्ने नेपाली व्यवसायी हुन् । यसअघि उनको स्वामित्त्वमा एनसेलको २० प्रतिशत सेयर रहेको थियो ।

आजियटा समूहले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेर बाहिरिने निर्णय यसअघि नै गरेको थियो । सो सेयर आचार्यको नेतृत्वमा बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेको हो ।

उक्त कम्पनी आचार्य र डेन्टन्स् सेक्रेटरिज लिमिटेडको संयुक्त स्वामित्त्वमा छ ।

स्पेक्ट्रलाइट केही महिनाअघिमात्रै खुलेको देखिन्छ । आजियटाको ८० प्रतिशत सेयर ५० मिलियन अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोड नेपाली रुपैयाँमा किनबेच भएको जनाइएको छ । अब एनसेलको पूर्ण स्वामित्त्व भने नेपालीकै हातमा आएको छ ।

आचार्यले कम्पनीको सेयर खरिदपछिको संक्षिप्त प्रतिक्रियामा भनेका छन्, “म यो सम्झौताबाट खुसी छु । दुरसञ्चार उद्योगमा रहेको मेरो अनुभवलाई लिएर एनसेलको व्यवस्थापनसँग नयाँ आविस्कार, लगानी र नेपाली जनतालाई सेवा उपलब्ध गराउने कार्यमा रहनेछु ।”

त्यसैगरी एनसेलका सीईओ जाबोर क्युमोभले भनेका छन्, “नयाँ सेयरधनीहरुसँग सहकार्य गर्न पाउँदा हामीलाई खुसी लागेको छ । एसनेलको डिजिटल अग्रणी सेवा र इन्टरनेट पहुँच प्लेटफर्मको रुपमा कायम राख्नु हाम्रो उद्देश्य हुनेछ ।”

आजियटा सन् २०१६ मा नेपाल भित्रिएको थियो । त्यसबेला एक खर्ब ४३ अर्ब रुपैयाँमा आजियटाले एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको थियो । आजियटाले अहिले आफ्नो सम्पूर्ण सेयर पाँच करोड अमेरिकी डलरमा बिक्री गरेको जनाएको छ ।अर्थात् अहिलेको मूल्यमा ६ अर्ब ६६ करोड नेपाली रुपैयाँमा यो सेयर खरिद गरेको देखिएको छ ।

एनसेलको लाइसेन्स अब ६ वर्षमात्रै रहेको छ । आजियाटा ग्रुप बहार्डले बुधबार आफ्नो सेयर बिक्रीमा राखेको घोषणा गरेको थियो । आजियाटा बाहिरिने भएपछि उसको सेयर आचार्यको कम्पनीले किनेको हो । आजियाटाले नेपालको परिप्रेक्ष्य चुनौतीपूर्ण देखिएको भनेर बोर्डले बाहिरिने निर्णय गरेको भनेको थियो ।

दूरसञ्चार ऐन, २०५३ बमोजिम विदेशी कम्पनी भएका कारण लाइसेन्स अवधि २५ वर्षपुगेपछि अर्थात् करिब ६ वर्षपछि एनसेलको स्वामित्व स्वतः सरकारलाई आउने थियो । तर, नेपाली कम्पनीले एनसेलको सेयर स्वामित्व पाएसँगै लाइसेन्स नवीकरण गरेर त्यसपछि पनि सञ्चालन जारी राख्न सक्नेछ ।

आजियाटाले पहिले नै बिक्रीका लागि डिल फाइनल गरी एनसेलबाट बाहिरिने घोषणा गरेको हुनसक्ने आकलन गरिएको थियो । सन् २००४ मा स्पाइस नेपालका रुपमा स्थापना भएको कम्पनीले सन् २००५ मा मेरो मोबाइलमार्फत् दूरसञ्चार सेवा सुरु गरेको थियो ।

त्यसपछि सन् २००८ मा स्विडिस दूरसञ्चार कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर किन्न इच्छा देखाएको थियो । खरिद गरेपछि सन् २०१० को मार्च १२ मा स्पाइस नेपालको नाम फेरिएर एनसेल राखिएको थियो ।

सन् २०१० सम्म एनसेल लगभग नेपालभर फैलिइसकेको थियो । त्यतिबेला नै यसले थ्रीजी सेवा सुरु गरेको थियो । सन् २०१५ को डिसेम्बर २१ मा टेलियासोनेराले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो । त्यसपछि नेपाल भित्रिएको थियो मलेसियन कम्पनी आजियाटा ।

सन् २०१६ को अप्रिल १२ मा आजियाटाले टेलिया सोनेराबाट एनसेलको सेयर खरिद गरेको थियो । सन् २०१८ मा एनसेलले फोरजी सेवा सुरु गरेको थियो । सन् २०२० को अगस्ट ३ मा एनसेलको नाम एनसेल आजियाटा लिमिटेड राखिएको थियो ।

एनसेलमा यसअघि ८० प्रतिशत आजियाटाको र २० प्रतिशत नेपालकै सुनिभेरा क्यापिटल भेन्चरको रहेको थियो ।

एनसेललाई प्राधिकरणको पत्र

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर किनबेच भएको विषयमा ध्यानाकर्षण भएको बताएको छ ।

एनसेलको ८० प्रतिशत सेयरसहितको स्वामित्व भएको मलेसियन कम्पनी आजियाटा ग्रुप बर्हाडले उक्त सेयर स्वामित्व बेचेको भन्दै विज्ञप्ति जारी गरेको छ ।

त्यसपछि प्रकाशित समाचारहरूप्रति ध्यानाकर्षण भएको प्राधिकरणले बताएको हो ।

“त्यस कम्पनीको सेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भनी विज्ञप्ति प्रकाशित भएको देखिएको र यस विषयलाई लिएर विभिन्न सञ्चार माध्यमहरूमा समाचार समेत प्रकाशित भइरहेको विषयमा प्राधिकरणको ध्यानाकर्षण भएको छ,” प्राधिकरणले भनेको छ ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ ९ट० बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।