डेटलाइन गाजाः थप बन्धक रिहाइपछि थप युद्धविरामको सम्भावना

मूलखबर संवाददाता
काठमाडौं

इजरायली आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या १५ हजार नाघेको छ । त्यसमध्ये ६ हजार १५० बालबालिका रहेको अल्जजिराले जनाएको छ ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसक्रममा १२ सय जना मारिएका थिए भने कम्तीमा पाँचहजार ६०० जना घाइते भएका थिए ।

जवाफी कारबाही गरेको इजरायली सेनाको आक्रमणबाट गाजामा ३६ हजार जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरूमध्ये ७० प्रतिशत बालबालिका र महिला रहेको अल्जजिराको दाबी छ ।

वेस्ट ब्याङ्कमा कम्तीमा २४२ जना मारिएका छन् । दुई हजार ७५० जना घाइते भएका छन् ।

इजरायल–हमासबीचको सहमतिपछि हाल युद्धविराम गरिएको छ । सुरुमा गएको शुक्रबारदेखि लागु हुनेगरी चारदिने युद्धविराम गरिएको थियो । तर, फेरि सहमति भएपछि थप दुई दिनका लागि युद्धविराम लम्ब्याइएको थियो।

बन्धक रिहाइको अवस्था

अस्थायी सङ्घर्षविरामअन्तर्गत पाँचौँ पटक इजरेली बन्धकहरू मुक्त भएका छन्। इजरेलले पनि आफ्ना जेलमा भएका दर्जनौँ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ।

इजरेलले पछिल्लो पटक मुक्त गरिएका १२ बन्धकहरू आफ्नो भूमिमा आइपुगेको जनाएको छ। तीमध्ये १० जना इजरेली र दुई जना थाई नागरिक छन्।

इजरेलले पाँचौँ चरणमा थप ३० प्यालेस्टिनीलाई रिहा गरेको छ। रिहा हुनेमा महिला र बालबालिका पनि छन्।

इजरेली प्रधानमन्त्रीका एक प्रवक्ताका अनुसार बुधवार मुक्त हुन सक्ने थप इजरेली बन्धकको सूची इजरेलले प्राप्त गरेको छ।

“हामीले सूची पाएका छौँ। त्यो सूचीमा भएका मानिसका आफन्त र अझै गाजामा भएका मानिसका परिवारलाई हामी सूचित गर्दै छौँ,” टाल हाइन्रिशले बीबीसीसँग भने।

उनका अनुसार थप १० इजरेली बन्धक मुक्त गरे सङ्घर्षविराम एक दिनले लम्ब्याउन इजरेल पहिला गरिएको सहमतिअनुसार तयार छ।

अहिलेसम्म कति जना मुक्त भए?
हमासले अक्टोबर ७ मा इजरेलमा अप्रत्याशित आक्रमण गरेर फर्किने क्रममा २४० जनालाई बन्धक बनाएर लगेको ठानिएको छ।

तीमध्ये अहिलेसम्म कुल ८१ जना बन्धकहरू मुक्त भएको इजरेली अधिकारीहरूले जानकारी दिएका छन्।

मुक्त हुनेमा ६१ इजरेली छन्। ती सबै महिला र बालबालिका हुन्।

त्यसबाहेक ठूलो मात्रामा थाई नागरिकहरू पनि हमासको नियन्त्रणबाट मुक्त भएका छन्।

विपिन जोशीको अवस्था अझै अज्ञात
हमासको नियन्त्रणमा रहेका इजरेलीसहित अन्य देशका नागरिकहरू मुक्त भइरहेका भए पनि नेपाली विद्यार्थी विपिन जोशीबारे हालसम्म स्पष्ट जानकारी नआएको सरकारी अधिकारीहरूले बताएका छन्।

यद्यपि उनी हमासको नियन्त्रणमा रहेको भन्दै इजरेली सुरक्षा अधिकारीहरूले विभिन्न आधारहरू दिएका छन्।

त्यसैअनुरूप आफूहरूले उनको मुक्तिकला लागि कूटनीतिक पहल जारी राखेको नेपाली अधिकारीहरूको भनाइ छ।

सङ्घर्षविराम कति लम्बिएला
बुधबार हमास र इजरेलबीच सङ्घर्षविराम भएको छ दिन थियो।

इजरेली सरकारका एक प्रवक्ताले प्यालेस्टिनी बन्दी र इजरेली बन्धक साटासाटलाई जारी राख्नका लागि अस्थायी सङ्घर्षविराम थप पाँच दिन लम्बिन सक्ने बताएका छन्। युद्धबिरामको सहमति नजिक रहेको हमासका नेताहरूले बताएका छन्।