सरकारी दस्तखत कीर्ते गरेको कसुरमा नायब सुब्बा पक्राउ
उदयपुर, मंसिर १३
उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्ने नायब सुब्बा नगरपालिकाका राजस्व शाखा प्रमुख ४७ वर्षीय गुरुप्रसाद ढकाल हुन् ।
उनलाई खोजी गर्ने क्रममा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए । उनका अनुसार नगरपालिकामा कार्यरत रहँदा ढकालले जनप्रतिनिधि र अन्य कर्मचारीको कीर्ते हस्तारक्षर गरेर आर्थिक कार्यका गतिविधि गरेको उजुरी अख्तियारमा परेको थियो ।
उजुरी परेपछि सम्पर्क विहिन रहेका ढकाललाई प्रहरीले खोजी गरेर पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । त्रियुगा नगरपालीकाका नगर प्रमुख बशन्तकुमार बस्नेतका अनुसार ढकालले त्रिनपाको राजस्व शाखामा रहँदा विभिन्न जनप्रतिनिधिका नाममा कीर्ते हस्ताक्षर गरेर गलत आर्थिक गतिविधि गरेको बताए । ढकाल विरुद्ध अख्तियारमा उजुरी परेपछि पक्राउ गरी कारबाही गर्न अख्तियारको पत्र आएको थियो ।
एक महिनाअघि पक्राउ पुर्जी जारी भए पनि फरार रहेकाले पक्राउ गर्न समय लागेको प्रनाउ चौधरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ढकालविरुद्ध पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।