गाजामा युद्धविराम लम्ब्याउन सहमति, विपिन फर्काउन नेपालले खोज्यो अर्को च्यानल
इजरायल र हमासबीच थप दुई दिन युद्धविराम लम्ब्याउने सहमति भएको छ ।
पहिलो पटक गरिएको ४ दिने युद्धविरामको समय सकिनै लाग्दा नयाँ सहमति बनेको हो ।
मध्यस्थता गरिरहेको कतारले सोमबार बेलुका इजरायल र हमासबीच दुई दिन युद्धविराम लम्ब्याउने सहमति भएको घोषणा गरेको छ ।
युद्धविरामको चौथो दिन रिहा हुने बन्धकको नाममा पनि सहमति बनेको छ । इजराइलका प्रधानमन्त्रीको एक्स हैंडलबाट यसबारे जानकारी दिइएको छ ।
पोस्टका अनुसार सहमतिपछि छुट्न लागेका बन्धकको परिवारलाई यसबारे जानकारी गराईसकिएको छ । अर्को एक पोस्टमा मिडियालाई साबधानी र जिम्मेवारीपूर्वक काम गर्न पनि अपिल गरिएको छ ।
विपिन फर्काउन नेपालले खोज्यो अर्को च्यानल
झन्डै छ दर्जन बन्धक मुक्त गरिसक्दा पनि नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त हुन नसकेको नेपाली कूटनीतिक अधिकारीहरूले बताएका छन्।
जोशी हमासको नियन्त्रणमा भएको ठानिएको छ। केही साताअघि इजरेली सेनाले हमासको नियन्त्रणमा एक नेपाली बन्धक पनि भएको प्रमाण फेला परेको जनाएको थियो।
उनलाई छुटाउन “आवश्यक सबै किसिमको पहल जारी” राखिएको सरकारका अधिकारीहरूले बताएका छन्।
नेपाली पक्षले अहिलेसम्म जोशीबारे कुरा गर्न हमाससँग सीधा सम्पर्क गरेको छैन।
परराष्ट्रमन्त्री एनपी साउदले जोशीलाई छुटाउन उक्त प्यालेस्टिनी लडाकु समूहसँग सम्पर्कमा रहेका देशहरूसँग कूटनीतिक पहल गर्ने प्रयास गरिएको बताएका छन्।
त्यस क्रममा नेपालले इजिप्टसँग पनि आवश्यक पहल गरिदिन औपचारिक आग्रह गरिसकेको उनले बीबीसीलाई बताए। यसअघि नेपाली पक्षले कतारसँग त्यस्तो आग्रह गरेको थियो र उसबाट सहयोगको आश्वासन पाएको थियो।
जोशी हमासको कब्जामा रहेको भनिए पनि गत अक्टोबर ७ मा हमासले इजरेलमाथि गरेको हमलापछि उनीबारे कसैलाई पनि खासै जानकारी छैन।
उत्तरी गाजास्थित अल-शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै इजरेली सेनाले त्यसमा देखिएकामध्ये एक जना नेपाली नागरिक पनि रहेको जनाएको थियो। तर हमासले नेपाली बन्धकबारे कुनै पनि विवरण सार्वजनिक गरेको छैन।
इजरेलस्थित नेपाली राजदूत कान्ता रिजालले जोशीको पछिल्लो अवस्था थाहा हुन नसकेको तर उनलाई मुक्त गर्नका लागि विभिन्न तरिकाले पहल जारी राखिएको जानकारी दिइन्।
“विपिन जोशीलाई छुटाउनका लागि हामी इजरेली अधिकारीहरूसँग पनि निकट सम्पर्कमा रहेर काम गरिरहेका छौँ। उनको मुक्तिका लागि चाल्नुपर्ने सबैखाले कदम दूतावासले चालेको छ।”