मेरो चीन भ्रमणका सुखद् अनुभूति- माधव नेपाल

मूलखबर संवाददाता
काठमाडौं

धन्यवाद !
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा मेरो नेतृत्वमा हाम्रो पार्टीको १५ सदस्यीय प्रतिनिधिमण्डलले यहि नोभेम्बर ७ देखि १४ सम्म चीनको दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाको प्रवेशद्वारको रुपमा रहेको युनान प्रान्तको राजधानी कुन्मिन र थियान्चिन शहरको औपचारिक भ्रमण सम्पन्न गरेको छ ।

हाम्रो पार्टीलाई विशेष महत्वका साथ निमन्त्रणा तथा स्वागत गरिएको उक्त भ्रमणका अवसरमा नोभेम्बर १० मा कुन्मिन शहरमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित Sharing the Achievements of Belt and Road Forum विषयक चिनियाँ कम्युनिष्ट पार्टीको दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका राजनीतिक पार्टीहरुको सम्वाद कार्यक्रमको उद्घाटन शत्रलाई विशेष सम्बोधन गर्दै बी.आर.आई., चीनको प्रगति तथा नेपाल चीन सम्बन्ध सहितका विविध बिषयवस्तु समेटेर मन्तब्य प्रस्तुत गर्ने अवसर समेत प्राप्त भयो । उक्त मन्तव्यलाई सबैले प्रशंसा गरेको सुन्दा थप गौरवानुभूति समेत भयो । कुन्मिन तथा थियान्चिन शहरमा त्यहाँका पार्टी सेक्रेटरी एवम् उच्च अधिकारीहरुसँगका बैठक निकै महत्वपूर्ण रहे ।

– भ्रमणको पहिलो महत्वपूर्ण बैठक अर्थात् युनान प्रान्तका सेक्रेटरी सहित उच्च अधिकारी सम्मिलित बैठकको क्रममा नेपालको जाजरकोट र रूकुम पश्चिममा आएको भूकम्पमा परी ठूलो जन धनको क्षति भएकोमा दुःख व्यक्त गर्दै राहत तथा पुनर्स्थापनार्थ युनान सरकारले रू.५० हजार अमेरिकी डलर सहयोग गर्ने तथा चिनीयॅा कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले रू. १० लाख चिनियॅा युआन सहयोग गर्ने घोषणाले दुःखको बेला चीन साथै रहेको सकारात्मक सन्देश दियो ।

-भ्रमणबाट चिनियाँ कम्युनिष्ट पार्टीको निर्माण, स्कुलिङ, सञ्चालन र अभिलेख व्यवस्थापनबारे ज्ञान प्राप्त भएको छ जुन हाम्रा सन्दर्भमा आफ्ना विशेषता सहित कार्यान्वय गर्न उपयोगी छ ।

– भ्रमणबाट चीनले भौतिक, समाजिक र मानवीय विकास, विज्ञान प्रविधि, कृषि, व्यापार, पर्यटन, पर्यावरण र संस्कृति संरक्षणमा प्राप्त गरेको उपलब्धिबारे जान्ने र हाम्रा अनुभव पनि बाँड्ने मौका मिल्यो । युनान प्राप्तले कृषिमा हासिल गरेको उपलब्धि नेपाल जस्तो कृषि प्रधान देशमा कसरी भित्र्याउन सकिन्छ भन्नेबारे पहलको थालनी भयो ।

– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा कृषि क्षेत्रमा सहयोग आदान प्रदान गर्नका लागि भएको एमओयुलाई कार्यान्वयनको चरणमा लैजानका लागि औपचारिक/अनौपचारिक छलफल भयो ।


– पार्टी उपाध्यक्ष समेत रहनुभएका कृषि तथा पशुपञ्छि विकास मन्त्री वेदुराम भुसाल भ्रमण टोलीमा सहभागी हुँदा कृषिका बारेमा छलफल गर्न र सहयोगका क्षेत्र विस्तार गर्न उपलब्धि मुलक कुराकानीको आरम्भ भयो ।


अन्त्यमा, हाम्रो भ्रमणले दुई पार्टी बीचको सम्बन्धका साथै नेपाल र चीन बीच विभिन्न तहमा रहेका सम्बन्धहरुलाई थप गहिरो एवम् बलियो बनाउन सकारात्मक योगदान दिएको विश्वास लिएको छु। यस भ्रमणको लागि निम्ता एवम् व्यवस्थापन गर्ने चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागलाई हार्दिक धन्यवाद समेत ज्ञापन गर्दछु ।धन्यवाद !

 

सौजन्य- माधव कुमार नेपालको सचिवालय