युद्धबिरामको तेस्रो दिन पनि छुटे बन्धक, विपिन जोशी छैनन् सूचीमा, कहाँ छन् उनी

मूलखबर संवाददाता
काठमाडौं

इजरेल-हमास अस्थायी युद्धविरामको तेस्रो दिन आइतबार थप १३ जना इजरेली, तीनजना थाई र एकजना रुसी बन्धक रेडक्रसलाई हस्तान्तरण गरेको हमासले पुष्टि गरेको छ।

हमासले रेडक्रसलाई हस्तान्तरण गरेका रुसी नागरिकको इजरेलको समेत नागरिकता भएका कारण इजरेली सेनाले भने आफ्ना १४ जना नागरिक मुक्त भएको जनाएको छ।

 त्यसपछि इजरेलले समेत सहमति बमोजिम ३९ प्यालेस्टिनी बन्दीहरू रिहा गर्नेछ।

यसैबीच हमासले पछिल्लो युद्धमा उत्तरी गाजा ब्रिगेडका प्रमुखसहित आफ्ना चार जना सैन्य कमान्डरहरू मारिएको घोषणा गरेको छ। इजरेलले ती कमाण्डरहरूलाई यस सङ्घर्ष बिरामअघि निशानामा पारिएको जनाएको छ।

यसअघि दोस्रो चरणमा शनिवार ढिलो गरी हमास नियन्त्रणमा रहेका थप १३ जना इजरेली र चार जना थाई बन्धकहरू रिहा गरिएका थिए। इजरेलले समेत थप ३९ जना प्यालेस्टिनी बन्दी रिहा गरेको जनाएको छ।

यसअघि इजरेलले गाजामा पठाइएका मानवीय सहायता सामग्री रोकेको भन्दै हमासले उनीहरूलाई मुक्त गर्न ढिलाइ गरेको थियो।

कतार र इजिप्टको मध्यस्थतापछि उनीहरूलाई मुक्त गर्न सहमत भएको हमासले उनीहरूलाई रेडक्रस समक्ष हस्तान्तरण गरेको हो।

कतारले मध्यस्थता गरेको इजरेल-हमासबीचको चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौताअन्तर्गत हमासले छाड्ने इजरेली बन्धकहरूको तेबर सङ्ख्यामा इजरेलले प्यालेस्टिनी बन्दीहरू छाड्ने गरेको छ।

द्विपक्षीय सहमतिअनुसार शुक्रवार हमासले १३ इजरेली, १० थाई र एक फिलिपिनोसहित २४ बन्धकलाई मुक्त गरेको थियो भने इजरेलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो।

विपिन कहाँ छन्
हमासले तेस्रो दिन पनि नेपालका विपिन जोशीलाई नछाडेको पुष्टि भएको छ । नेपाल सरकारले विपिन हमासकै नियन्त्रणमा रहेको बताउँदै आएको छ । नेपाल सरकारले मध्यस्थकर्ताको भूमिकामा रहेको कतारसँग विपिनलाई छुटाउन पहल गरिदिन आग्रह गरेको छ ।

गएको शुक्रबारमात्र प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउदसहित सरकारी अधिकारीहरूले नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग विपिनको सकुशल रिहाइमा सघाउन आग्रह गरेका थिए ।

पहिलो दिन हमासले इजरायलका १३, थाइल्यान्डका १० र फिलिपिन्सका एक गरी २४ जनालाई रिहा गरेको थियो । दोस्रो दिन हमासले इजरायलका १३ र थाइल्यान्डका चारजनालाई छाडेको थियो । इजरायलले ३९ जना प्यालेस्टाइनीलाई ‍छाडेको थियो ।

हमास र इजरायलबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले चारदिने युद्धविरामलाई लम्ब्याउन सकिने आशा गरेको बताएको छ ।