यी हुन् हमासले रिहा गरेका बन्धक, यसको बदलमा अब उसले के पाउँछ

मूलखबर संवाददाता
काठमाडौं

प्यालेस्टाइनको अतिवादी समूह हमास र इसराइलबीच ४८ दिनपछि युद्धविराम भएको छ। शुक्रबार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि इसराइलले गजामा युद्धविराम गरेको हो। इसराइलले गजामा युद्धविराम गरेपछि हमासले शुक्रबार २४ बन्धकलाई मुक्त गरेको छ।

द न्युयोर्क टाइम्सका अनुसार हमासले १३ जना इसराइली नागरिक, १० जना थाई नागरिक र फिलिपिन्सका १ नागरिक गरी २४ जनालाई शुक्रबार बन्धक मुक्त गरेको हो। हमासले बन्धकलाई मुक्त गरेपछि इसराइलले त्यहाँका जेलमा रहेका ३९ जना कैदीबन्दी रिहा गरेको छ।

रिहा हुनेमा २४ जना महिला र १५ जना किशोरकिशोरी छन्। उनीहरूमध्ये केही इसराइली सैनिकहरूमाथि आक्रमण र हत्याको प्रयास गरेको अभियोगमा र केही सामान्य ढुंगामुढा गरेको आरोपमा सजाय काटिरहेका थिए।

हमासले बन्धकमुक्त गरेकाहरूलाई रेडक्रसमार्फत् इजिप्ट लगिएको छ। त्यहाँबाट उनीहरूलाई इसराइल लगिने बताइएको छ।आइडिएफका प्रवक्ता ड्यानियल हगारीले उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।

‘सबैको प्रारम्भिक स्वास्थ्य जाँच गरिएको थियो। कसैको पनि जीवन जोखिममा छैन,’ हगारीलाई उद्धृत गर्दै सिएनएनले भनेको छ।

उनीहरूलाई हत्जेरिम एयरबेसमा आफ्ना देशका प्रतिनिधिहरूसँग भेट गराएपछि अस्पताल लगिने पनि प्रवक्ता हगारीले बताए।

हमासले मुक्त गरेका २४ बन्धकमध्ये १३ जना इसराइलीको परिचय खुलेको छ। सिएनएनले उनीहरूको नामावली सार्वजनिक गरेको छ।

यफा अदर
८५ वर्षीया यफा अदर इसराइली नागरिक हुन्। उनी निर ओज किब्बुत्जका संस्थापक हुन्। हमासले बन्धक बनाएकोमध्ये उनी सबैभन्दा पाका उमेरकी हुन्। उनलाई हमासले बन्धक बनाएर लैजाँदै गरेको भिडिओ समेत सार्वजनिक भएको थियो। उनका ३८ वर्षीय नाति तमिर अदरलाई पनि हमासले बन्धक बनाएको छ। शुक्रबार उनी मुक्त भएका छैनन्।

मार्गालिट मोसेस
७७ वर्षीया मार्गालिट मोसेस दीर्घरोगी हुन्। उनी क्यान्सर र मधुमेहको उपचार गराउँदै थिइन्। उनका तीन सन्तान र १० नातिनातिना छन्।

हाना कत्जिर
७२ वर्षीया हाना कत्जिर किब्बुत्ज निर ओजका सदस्य हुन्। अक्टोबर ७ मा हमासले उनको घरमा आक्रमण गरी उनलाई बन्दी बनाएर लगेको थियो। हमासको आक्रमणबाट उनका ७९ वर्षीय रामी कत्जिर मारिएका थिए। उनका तीन सन्तान र ६ नातिनातिना छन्। उनका ४७ वर्षीय छोरा एलाड कत्जिर पनि हमासको बन्धकमा छन्।

एडिना मोसे
७२ वर्षीया एडिना मोसे रिटायर्ड शिक्षक हुन्। उनी पनि निर ओज किब्बुत्जका बासिन्दा हुन्। उनका चार सन्तान र १२ नातिनातिना छन्। उनका श्रीमान डेविड मोसे अक्टोबर ७ को आक्रमणमा मारिएका थिए।

Palestinians evacuate wounded people after an Israeli airstrike in Rafah refugee camp, southern Gaza Strip, Thursday, Oct. 12, 2023. (AP Photo/Hatem Ali)

रूथ मुन्डर
७८ वर्षीया रूथ मुन्डर निर ओज किब्बुत्जका बासिन्दा हुन्। निर ओजमा उनी पुस्तकालयमा सञ्चालन गर्दै आएकी थिइन्। उनका श्रीमान, छोरी केरेन र नाति ओहाडलाई अक्टोबर ७ मा हमासले बन्दी बनाएर गजा लगेको थियो। छोरा रोइलाई हमासले सोही दिन हत्या गरेको थियो। उनका ७८ वर्षीय श्रीमान अब्राहम अझै हमासकै कब्जामा रहेको निर ओजका प्रवक्ताले बताएका छन्।

केरेन मुन्डर
५४ वर्षीया केरेन रुथकी छोरी हुन्। उनी स्वास्थ्य विधाकी शिक्षिक हुन्।

ओहाड मुन्डर
९ वर्षीय ओहाड रूथकी नाति र केरेनकी छोरा हुन्।

ड्यानियल एलोनी र इमिलिया एलोनी
४५ वर्षीया ड्यानियल एलोनी निर ओज किब्बुजमा आफ्ना आफन्त भेट्न आएका थिए। त्यतिबेला उनकी ५ वर्षीया छोरी इमिलियासहित बहिन स्यारोन एलोनीसहित परिवारका अन्य सदस्यहरूलाई हमासले बन्दी बनाएर गजा पुर्‍याएको थियो।

डोरोन कत्ज एसर, रेज एसर र अविभ एसर
३४ वर्षीया डोरोन उनका दुई छोरी रेज र अविभसँगै निर ओज किब्बुत्ज घुम्न आएकी थिइन्। अकाउन्टेन्टको काम गर्ने उनी उनी गेनोट हाडरमा बस्छिन्। हमासले उनकी बहिनी इफ्रात कत्जसहित उनीहरूलाई हमासले बन्दी बनाएर गजा पुर्‍याएको थियो।

चन्ना पेरी
७९ वर्षीया चन्ना पेरी सन् १९९६० को दशकमा दक्षिण अफ्रिकाबाट इसराइलमा बसाइ सरेर आएकी थिइन्। किबुट्ज निरिममा उनी किराना पसल चलाउँदै आएकी थिइन्। उनका तीन सन्तान छन्, जसमध्ये एकको अक्टोबर ७ मा हत्या भएको थियो।

हमासले मुक्त गरेका अन्य देशका नागरिकहरूको परिचय सार्वजनिक नभइसकेको सिएनएनले उल्लेख गरेको छ। हमासले बन्दी मुक्त गर्ने र इसराइलले गजामा चार दिन युद्धविराम गर्ने सहमतिलाई इसराइली सरकारले मंगलबार अनुमोदन गरेको थियो।

इसराइली सरकारले उक्त सहमति अनुमोदन गरेको तीन दिनपछि शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको हो।

सहमतिअनुसार हमासले पहिलो चरणमा ५० जना बन्दी मुक्त गर्ने र त्यसको बदलामा इसराइलका जेलमा रहेका १५० कैदीबन्दी रिहा गर्ने सर्त थियो। इसराइलका जेलमा कम्तीमा ३ हजार प्यालेस्टिनियन नागरिक रहेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

त्यसअनुसार हमासले प्रत्येक दिन कम्तीमा १० जना बन्धकहरू रिहा गर्ने र प्रत्येक रिहाइमा इसराइलले गजामा थप एकदिन युद्धविराम लम्ब्याउने सहमति भएको थियो।

युद्धविराम भएपछि गजामा विभिन्न देशहरूले मानवीय सहायता पठाएको थियो। खाद्यान्न, इन्धन र औषधि बोकेका सयौं ट्रकहरू गजामा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएको छ।

अब हमासले के पाउँछ

यसअघि हमासले इजरायली सीमा क्षेत्रमा आक्रमण गरेपछि २४० भन्दा बढीलाई अपहरण गरेर बन्धक बनाएको थियो। बाहिरबाट हेर्दा इजरायलका लागि हमासले बन्धक बनाएका २४० जना टाउको दुखाइ भए पनि हमासका लागि पनि त्यति सहज भने थिएन।

हमासका लागि पनि २४० जना ठूलो बोझ बनिरहेका थिए। बन्धकहरूलाई निरन्तर हेरचाह, अनुगमन, र – आवश्यकता अनुसार एक ठाउँबाट अर्को ठाउँमा सार्नुपर्ने थियो। यसका साथै हमासले नियन्त्रणमा लिएका वृद्ध र बिरामीहरुलाई थप चिकित्सा सुविधा उपलब्ध गराउनुपर्ने अर्को समस्याले पनि हमासका लागि जटिलता थपेको थियो।

बन्धकलाई छुटकारा दिएर हमासले दया देखाएको भने होइन। विशेष गरी कुनै रणनीतिक महत्व नभएका थाइल्याण्ड र नेपालका अनुमानित दुई दर्जन मजदुरहरू रिहा गरेको बीबीसीले जनाएको छ। उनीहरु न त इजरायली हुन् न त यहुदी नै।

अन्य बन्धकहरुलाई राख्‍नु भनेको ‘वैधता’ पुष्टि हुनेसमेत बीबीसीले जनाएको छ। किनभने उनीहरू प्रायः इजरायली सैनिकहरू वा लडाइँ उमेरका पुरुषहरू हुन्। हमासले उनीहरुलाई ‘शत्रु लडाकू’ को रुपमा चित्रण गरेको छ।

बाँकी रहेका बन्धकहरुलाई अब हमासले आफ्ना मागहरुमा सहमत गराउन दबाब बढाउने बताइएको छ। हमासले केही दर्जन बन्धक रिहा गरेर हजारौं प्यालेस्टिनीहरूलाई रिहा गराउन सहमत भएको छ। हमासले हाल इजरायली जेलमा रहेका आफ्ना हजारौं सदस्यहरूलाई रिहा गर्न माग गरेको छ।

हमासले इजरायलसँगको युद्धविरामको पहिलो दिन २४ जना बन्धकहरूलाई रिहा गरेको छ। अन्तर्राष्ट्रिय रेडक्रसले इजरायली महिला र बालबालिका र थाइल्यान्डका कामदारहरू रिहा भएको जनाएको छ।

इजरायल-हमास युद्ध सुरु भएको डेढ महिनापछि चार दिनका लागि युद्धविराम भएको हो। युद्धविरामको पहिलो दिन २४ जना बन्धक रिहा गरिएको रेडक्रसले पुष्टि गरेको हो। बन्धकहरू रिहा भएपछि एक्सको पोस्टमा २४ बन्धकहरूको सुरक्षित रिहाइको पुष्टि गर्न पाउँदा खुसी भएको रेडक्रसले उल्लेख गरेको छ।

मुक्त गरिएका १३ जना इजरायली, १० जना थाई र एक जना फिलिपिनी नागरिक हुन्। इजरायल र हमासले अस्थायी युद्धविरामको अवधिमा चार दिनभित्र ५० बन्धक र १ सय ५० प्यालेस्टिनी कैदी बन्दीहरूलाई रिहा गर्ने सम्झौता गरेको थियो। शुक्रबारै इजरायली जेलमा राखिएका ३९ प्यालेस्टिनी बन्दीहरू पनि रिहा भएका छन्।

गत अक्टोबर ७ मा इजरायलमा गरेको हमलाका क्रममा हमासले करिब २ सय ४० जनालाई बन्धक बनाएको थियो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामाथि इजरायलको आक्रमणमा हालसम्म १४ हजारभन्दा बढीको मृत्यु भएको छ। तीमध्ये ५ हजारभन्दा बढी बालबालिका हुन् ।