गाजामा द्वन्द्वमा ४८ दिनपछि विरामः पहिलो चरणमा बन्धकको रिहाई, विपिनको प्रतीक्षा

मूलखबर संवाददाता
काठमाडौं

प्यालेस्टाइनको अतिवादी समूह हमास र इजरायलबीच ४८ दिनपछि युद्धविराम भएको छ।

एसोसियट प्रेसका अनुसार गजामा स्थानीय समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि युद्धविराम भएको हो।

हमासले बन्दी मुक्त गर्ने र इसराइलले गजामा चार दिन युद्धविराम गर्ने सहमतिलाई इसराइली सरकारले मंगलबार अनुमोदन गरेको थियो।

इसराइली सरकारले उक्त सहमति अनुमोदन गरेको तीन दिनपछि शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको हो।

हमासले इसरायलबाट बन्धक बनाएर गजा पुर्‍याएको इसरायली र अन्य २६ मुलुकका गरी २३९ जनामध्ये पहिलो चरणमा ५० जना बन्दीलाई मुक्त गर्ने सहमति भएको थियो।

 बदलामा इसराइलले गजामा आक्रमण नगर्ने र इसराइली जेलमा रहेका १५० जना कैदीलाई रिहा गर्ने सहमति भएको थियो।

एपीका अनुसार सहमति भएबमोजिम शुक्रबार दिउँसो हमासले १३ जना इसराइली बन्धकलाई मुक्त गरेको छ।

इसराइलले पनि ३९ जना प्यालेस्टाइनी कैदीबन्दी रिहा गरेको छ। रिहा हुनेमा २४ जना महिला र १५ जना किशोरकिशोरी रहेको एपीले उल्लेख गरेको छ। उनीहरूमध्ये केही इसराइली सैनिकहरूमाथि आक्रमण र हत्याको प्रयास गरेको अभियोगमा र केही सामान्य ढुंगामुढा गरेको आरोपमा सजाय काटिरहेका थिए।

थाइल्यान्डका प्रधानमन्त्री स्रेथा थाविसिनले १२ जना थाइ नागरिक रिहा भएको बताएका छन् ।

‘विदेश मन्त्रालय र सुरक्षा निकायले १२ थाइ बन्धकहरू रिहा भइसकेको पुष्टि गरेका छन्। दूतावासका अधिकारीहरू उहाँहरूलाई लिन जाँदै हुनुहुन्छ। उहाँहरूको परिचय भने खुलिसकेको छैन,’ प्रधानमन्त्री थाविसिनले एक्स (ट्विटर) मा लेखेका छन्।

इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको सचिवालयले पनि हमासले १३ बन्धक रिहा गरेको जनाएको सिएनएनले उल्लेख गरेको छ।

रिहा भएका बन्दीहरूलाई रेडक्रसको जिम्मा लगाइएको छ।

शुक्रबार गजा क्षेत्रमा बन्दुक र हवाइ हमलाका आवाज नसुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

हमासले प्रत्येक दिन कम्तीमा १० जना बन्धकहरू रिहा गर्ने र प्रत्येक रिहाइमा इसराइलले गजामा थप एकदिन युद्धविराम गर्ने सहमति भएको छ।

इसराइली सरकारले हमासले गजामा लगेको सबै बन्धकहरूलाई रिहा गर्ने विश्वास व्यक्त गरेको छ। उसले युद्धविरामका लागि पनि बन्धकहरूलाई रिहा गर्ने इसराइली प्रधानमन्त्री नेतन्याहुले बताएका थिए।

युद्धविराम भएपछि गजामा विभिन्न देशहरूले मानवीय सहायता पठाएको थियो। खाद्यान्न, इन्धन र औषधि बोकेका सैयौं ट्रकहरू गजामा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ।

युद्धविराम भएपछि त्यहाँका मानिसहरूले लामो समयपछि राहतको सास लिएका छन्। उनीहरूले युद्धविरामको खुलेर स्वागत गरेका छन्।

अक्टोबर ७ को बिहानै हमास समूहले इसराइलमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो। हमासको आक्रमणबाट १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको मृत्यु भएको थियो।

आक्रमणका दिन हमास समूहले त्यहाँबाट इसरायली र अन्य देशका गरी २३९ जनालाई बन्दी बनाएर गजा लगेको थियो। बन्धक बनाइएकामा नेपालका विपिन जोशी पनि छन्।

त्यसयता इसराइलले गजामा हमासविरूद्ध लगातार आक्रमण गर्दै आइरहेको थियो। इसराइलको आक्रमणबाट गजामा अहिलेसम्म १३ हजार ३ सयभन्दा बढी प्यालेस्टाइनी नागरिकको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ।

ठूलो संख्यामा नागरिकहरू मारिएपछि गजामा युद्धविराम गर्न इसराइलमाथि अन्तराष्ट्रिय शक्ति केन्द्रहरूको दबाब बढिरहेको थियो। संयुक्त राष्ट्र संघले पनि इसराइललाई गजामा युद्धविराम गर्न आग्रह गरेको थियो।

विपिनको प्रतीक्षा, नेपालले गुहार्‍यो कतार

प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले हमासको चङ्गुलबाट नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन् ।

नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह गरेका हुन् ।

मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल गरे ।

त्यस अवसरमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयका साथै व्यापार, लगानी, विकास सहायता तथा नेपालीलाई कतारमा रोजगारीका अवसर उपलव्ध गराउनेबारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।