विपिन जोशी हमास समूहको नियन्त्रणमा प्यालेष्टाइनमा सुरक्षित
इजरायलमा सम्पर्कविहीन बनेका विपिन जोशी प्यालेष्टाइनमा सुरक्षित रहेको पाइएको छ। गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको नियन्त्रणमा रहेको आशंका गर्दै सरकारले पहल थालेको हो । उनी हमास समूहको कब्जामा रहेका थिए। इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको हो ।
इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए । जोशीसहित कयौँलाई हमास समूहले नियन्त्रणमा लिएको थियो।
परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दिपक जोशीका अनुसार उनी सुरक्षित रहेको आधिकारिक जानकारी प्राप्त भएको हो । ‘उनी सुरक्षित रहेको आधिकारिक जानकारी आएको छ । अब उद्धारको लागि सरकारले थप सक्रियता देखाएको’ उनले भने ।
जोशीलाई छुटाउनको लागि पहल भइरहेको उनले बताए । उनको सकुशल उद्धारको माग गर्दै केही दिन अगाडि उनका आमा बुबाले परराष्ट्र मन्त्री साउदसँग भेट गरेका थिए। परराष्ट्र मन्त्री साउदले जोशीको सकुशल उद्धारको लागि नेपाल सरकार, नेपाली दूतावास, इजरायल सरकार लगायतका निकाय अथक प्रयासमा रहेको बताए।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रामणपछि बेपत्ता भएका विपीन जोशी सकुसल घर फर्किनेमा विश्वास व्यक्त गरेका थिए ।
नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्यालेष्टाइनको हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारको पहलका लागि सरकारलाई आग्रह गरेका थिए । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको बताउँदै उद्धारका लागि आग्रह गरेका थिए।