चिसो मौसममा युद्धको मारः राष्ट्रसंघले भन्यो – गाजामा राहत सहयोग पुर्याउन सक्दैनौं
चिसो मौसम र वर्षाले गाजामा मानवीय संकट बढाएको छ । प्यालेस्टाइन–इजरायली द्वन्द्व ४० दिनभन्दा बढी चलिरहेका बेला धेरै गाजाका स्थानीयले आफ्ना परिवारका सदस्य र घर गुमाएका छन् ।
केही विस्थापित व्यक्तिहरू अस्थायी आश्रयमा बस्न बाध्य छन् । यसका साथै चिसो र वर्षाले उनीहरूको जनजीवन थप कष्टकर बनाएको छ ।
एक विस्थापितले त्रिपालले वर्षाबाट आफूहरूलाई जोगाउन नसक्ने बताए । उनले घरमा हुँदा कुनै समस्या नरहेको तर अहिले आफूले जीवन असुरक्षित महसुस गरेको बताए । वर्षा भइरहेको अवस्थामा गाजापट्टीमा कुनै सहायता नपाएको उनले गुनासो गरे ।
अर्का विस्थापित महिलाले वर्षा, चिसोको पीडा र बिजुलीको अभावमा जीवन कटाउनु परेको बताइन् । सबै पीडा एकैसाथ भोगिरहनु परेको तर कतैबाट सहयोग प्राप्त नभएको उनीहरूको गुनासो छ ।
यसैबीच, संयुक्त राष्ट्रले गाजामा राहत सहायता पुर्याउन नसक्ने पुष्टि गरेको छ। गाजामा रहेका राष्ट्रसंघका प्रतिनिधिहरुसँग सम्पर्कसमेत हुन नसकेको अवस्थामा थप राहत सहायता उपलब्ध गराउन नसक्ने पुष्टि गरेको हो।
गाजामा इजरायली सेनाले फोन लाइनहरू र इन्टरनेट बन्द गराएको छ। इजरायली सेनाले ७ अक्टोबरपछि निरन्तर गाजा क्षेत्रमा आक्रमण गरिरहेको छ।
प्यालेस्टाइनीहरूलाई सहयोग गर्ने संयुक्त राष्ट्र संघको राहत एजेन्सी यूएनडब्लूआरएबाट जुलिएट टोमाले भने बीबीसलाई भने, ‘यदि सञ्चार र इन्धन पुनर्स्थापित गरियो भने मात्र सहायता गर्न सकिन्छ, त्यो नभएसम्म सहायता उपलब्ध गराउन सकिँदैन।’
यस हप्ताको सुरुमा, अक्टोबरमा हमास र इजरायलबीचको युद्ध सुरु भएदेखि पहिलो पटक गाजामा एउटा ट्यांकरले इन्धन पुर्यायो, तर यो पहिले नै सकिएको छ।
संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमले भनेको छ कि खाद्यान्न र पानीको आपूर्ति ‘व्यावहारिक रूपमा अवस्थित छैन’ र गाजानहरूले अब ‘भोकमरीको तत्काल सम्भावना’ सामना गरिरहेका छन्।