गाजाको अवस्था बयान गर्न पनि कठिन, युद्धविराम गर्न राष्ट्रसंघ मानव अधिकारको अपील
इजरेली सेनाले लडाकु विमानहरू प्रयोग गरी हमास लडाकु सङ्गठनका एक वरिष्ठ नेता इस्माइल हनियाको घरमा आक्रमण गरिएको दाबी गरेको छ।
हानिया सन् २०१७ सम्म हमासको राजनीतिक विभागका प्रमुख थिए। उनी कैयौँ वर्षदेखि कतारमा बस्दै आएका छन्। हानिया सन् १९८० को दशकको अन्त्यमा हमासका प्रमुख सदस्य थिए। उनलाई तीन वर्ष इजरेलको जेलमा पनि राखिएको थियो।
गाजा फर्किनुअघि उनले निर्वासनमा एक वर्ष बिताएका थिए।
हमासले अक्टोबर ७ मा इजरायलमा अचानक आक्रमण गरेपछि जवाफी कारबाही थालेको इजरायली सेनाले निरन्तर आक्रमण गरिरहेको छ । परिणामस्वरूप गाजा ध्वस्त भइरहेको छ । बिहीबार साँझसम्म गाजामा साढे ११ हजार जनाले ज्यान गुमाइसकेका छन् । घाइते र ध्वस्त भएका संरचनाका कुनै हिसाब छैन । ठूलो संख्यामा नागरिक विस्थापित भएका छन् ।
आक्रमणकै दौरान बुधबार इजरायली सेना अस्पतालमा प्रवेश गरेको छ । इजरायली सेना गाजाको प्रमुख अस्पाल अल–शिफामा छिरेको हो ।
हमासले अस्पतालभित्रबाट आफ्नो भूमिगत सञ्जाल विस्तार गरेकाले आफूहरूले यो कदम चालेको इजरायली सेनाको दाबी छ । यसै दौरान इजरायली सेनाले बीबीसीका पत्रकारलाई अस्पतालभित्र जान दिएको छ । उच्च सुरक्षाका साथ एउटा टेलिभिजनको टिम र आफ्ना रिपोर्टरलाई इजरायली सेनाले अस्पतालको अवलोकन गराएको बीबीसीले जनाएको छ ।
अस्पतालका चिकित्सकहरूले आफूहरूले बिजुली, खाना र पानीबिना काम गरिरहेको बताएका छन् । परिणामस्वरूप गम्भीर बिरामीले ज्यान गुमाइरहेका छन् । ज्यान गुमाउनेमा नयाँ जन्मिएका शिशुहरू पनि छन् । इजरायी सेनाले पत्रकारलाई आफूहरूले एमआरई युनिटभित्र १५ वटा बन्दुक भेटाएको बताएका छन् । उनीहरूले केही ग्रिनेड पनि भेटिएको बताएका छन् ।
बीबीसीका अनुसार इजरायली सेनाले पत्रकारलाई अस्पालभित्र भेटिएका सैन्य पुस्तिका, पम्प्लेट र नक्सा पनि देखाएका थिए । जसमा सम्भावित प्रवेश गर्ने रुट र बाहिरने रुटमा चिह्न लगाइएको छ ।
यसबाट हमासले सैन्य गतिविधिका लागि अस्पताल प्रयोग गरिरहेको पुष्टि हुने इजरायली सेनाको दाबी छ । इजरायली सेनाले आफूहरूले कम्युटर र अन्य उपकरण पनि भेटाएको बताएको छ । जसमा इजरायली बन्दीहरूको भिडियो फुटेज र फोटोहरू रहेको इजरायली सेनाको दाबी छ । इजरायली सेनाका एक अधिकारीले सञ्चारकर्मीहरूलाई भनेका छन्, “उनीहरू यहीँ थिए । हामीहरूले आइरहेको थाहा पाएर उनीहरू भागे ।”
अस्पतालभित्र प्रवेश पाएका पत्रकारहरूलाई सीमित समय दिइएको थियो । उनीहरूलाई चिकित्सकसँग र बिरामीसँग बोल्न अनुमति दिइएको थिएन ।
गाजालाई भोकमरीले गाँज्यो- राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रमुख भोल्कर टर्कले गाजा सहर रोगको प्रकोप र भोकमरीले गाँजिएको बताएका छन्। आफ्नो भर्खरको इजिप्ट र जोर्डन भ्रमणको बारेमा जानकारी गराउँदै उनले गाजामा खाद्यान्न, इन्धन र चिकित्सा आपूर्तिको चरम अभाव भएको बताएका छन्।
गाजामा पानी, ढल र स्वास्थ्य सेवाहरू ‘पूर्णरुपमा ध्वस्त’ भएको उनले बताए। ‘संक्रामक रोगहरूको ठूलो प्रकोप, र भोक अपरिहार्य देखिन्छ,’ उनले भने। उनले ‘एक पटक मानवीय युद्धविराम’को लागि आह्वान गरेका छन्।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार गाजामा अक्टोबर मध्यदेखि संक्रामक रोग फैलिन सुरु भएको बताएका हुन्। हालसम्म ५४ हजार ८६६ जनालाई श्वासप्रश्वाससम्बन्धी रोग, १ हजार ५ जनालाई ‘चिकेनपक्स’, १२ हजार ६३५ जनालाई छालासम्बन्धी रोग, ८ हजार ९४४ जनालाई ‘लुतो र ३३ हजारभन्दा बढीलाई झाडापखाला देखिएको छ।