अर्थतन्त्र तंग्रिएको संकेत, के भन्छ विदेशी मुद्रा सञ्चितिको तथ्याङ्क
सरकारले वैशाखमा लगानी सम्मेलन र तिहारलगतै गोलमेच गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे घोषणा गरिसकेका छन्।
अर्थतन्त्रमा परेको प्रभावबारे आगामी आर्थिक वर्षमा ‘मेजर अप्रेसन’मा जानुपर्ने प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा बताएका थिए । ‘बोल्ड निर्णय नगरी दबाबमा रहेको अर्थतन्त्र सुधार गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘अब अर्थतन्त्रको ‘र्याडिकल रिफर्म’ आवश्यक रहेको छ ।’ यसका लागि सरकार, निजी क्षेत्र, अर्थशास्त्रीहरूलगायत सरकोरवाला एकै ठाउँमा बसेर समीक्षा गर्ने र अगाडिको बाटो तय गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले अहिलेको समस्याको दीर्घकालीन समाधानका लागि नीतिगत रूपमा पनि फड्को मार्नैपर्ने बताए । ‘मेरो कार्यकालमा तत्कालिक सुधारका प्रयास त गरियो, वित्तीय र मौद्रिक नीतिबीच तालमेल मिलाउने, कित्ताकाट खोल्ने, लाइसेन्सलगायतका कामहरू गरेर तत्कालका लागि समस्या समाधान गर्ने कोसिस भयो,’ उनले भने, ‘तर, अर्थतन्त्रको मुख्य समस्या समाधान हुन सकेन ।’ बोल्ड निर्णय लिएर अगाडि बढ्न नसकेमा अर्थतन्त्र थप समस्यामा जाने उनको भनाइ थियो ।
लगानी सम्मेलनबारे अर्थमन्त्री प्रकशशरण महतले शुक्रबारको प्रतिनिधि सभाको अर्थ समितिमा पनि जानकारी दिएका थिए। ‘बजेटमा हामीले लगानी सम्मेलन गर्ने भनेका छौं। त्यसको तयारी गरिरहेका छौं। गर्नका लागि गर्ने होइन साँच्चिकै लगानी भित्र्याउन गर्न लागिएको हो। वैशाख पहिलो साता गर्ने भनेका छौं,’ महतले भने।
सुधारको संकेत, के भन्छ तथ्याङ्क
अर्थतन्त्रका बाह्य परिसूचक बलियो अवस्थामा पुग्दा आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत देखिएको छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम ३ महिनाको तथ्यांक प्रकाशित गरेको छ, जसले बाह्य परिसूचक बलियो अवस्थामा पुगेको छ भने आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ ।
चालु आर्थिक वर्ष २०८०/०८१ को असोज मसान्तसम्म शोधनान्तर स्थिति अमेरिकी डलर ७४ करोड ७२ लाखले बचतमा छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शोधनान्तर स्थिति बचत अमेरिकी डलर ६५ करोड ५४ लाखले बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति बचत अमेरिकी डलर नौ करोड १८ लाखले बचतमा थियो ।
शोधनान्तर स्थिति भन्नाले के बुझिन्छ ?
निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाह्य प्रवाह बढी हुन जान्छ ।
शोधनान्तर खाताले चालु खाता र पुँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ ।
वैदेशिक व्यापार
गत वर्ष र चालू आर्थिक वर्षको तुलना गर्ने हो भने तीन महिनामा कुल वस्तु निर्यातमा २.३ प्रतिशतले कमी आएको छ। तीन महिनामा ४० अर्ब ८७ करोड मात्रै निर्यात भएको छ। तीन महिनामा कुल वस्तु आयात १.७ प्रतिशतले वृद्घि भई ४ खर्ब ७ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयातमा १६.२ प्रतिशतले कमी आएको थियो।
रेमिट्यान्स
रेमिट्यान्स ३० प्रतिशतले बढेको छ। चालू आवको तीन महिनासम्म आइपुग्दा रेमिट्यान्स ३० प्रतिशतले बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १६.८ प्रतिशतले बढेको थियो।
शोधनान्तर स्थिति
तीन महिनाको अवधिमा शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति तीन महिना अवधिमा ७४ करोड ७२ लाखले बचतमा रहेको छ।
विदेशी मुद्रा सञ्चिति
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ। यो विदेशी मुद्राले नेपालको वस्तु आयात अहिलेकै अनुपातमा हुने हो भने १ वर्षभन्दा बढीलाई धान्ने राष्ट्र बैंकको भनाइ छ।
मुद्रास्फीति
असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत छ। त्यसअघि राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मुद्रास्फीति ८.५० प्रतिशत थियो। असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत छ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ।
तीन महिनामा घ्यु तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६१ प्रतिशतले घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
२०७८ मंसिरमा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब रूपैयाँ पुगेको थियो। डलरको आधारमा भने यस्तो सञ्चिति २०७७ चैत यताको उच्च हो।
डलरमा यस्तो सञ्चिति हाल १२ अर्ब ३३ करोड डलर रहेको छ। २०७७ चैतमा १२ अर्ब ३६ करोड थियो। अहिले नेपाली मुद्राको तुलनामा डलरको भाउ उच्च रहेकोले पनि रूपैयाँको आधारमा पनि यस्तो सञ्चिति हालसम्मकै उच्च पुग्न सहयोग पुगेको हो।
हाल भइरहेको वस्तु तथा सेवा आयात अनुसार यस्तो सञ्चितिले मुलुकको १० महिना ९ दिन आयात धान्छ।
रेमिटेन्समा वृद्धि हुँदा, पर्यटक आगमनमा भइरहेको वृद्धि र आयातको वृद्धिदर खुम्चिएकोले पनि विदेशी मुद्राको सञ्चितिमा वृद्धि भएको हो।