भारतमा कसरी लगाइन्छ विपक्षीलाई तह, यस्तो छ मोदी सरकारको रणनीति
भारतका विपक्षी दलका नेताहरूले पछिल्लो केही समययता वर्तमान सरकार अधिनायकवादी बनिरहेको आरोप लगाउन थालेका छन् ।
भारतीय विपक्षी नेता राहुल गान्धीले मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले वरिष्ठ विपक्षी राजनीतिज्ञहरूको मोबाइल फोन ह्याक गर्न खोजेको आरोप लगाए । एप्पल कम्पनीको आइफोन चलाउने अधिकांश विपक्षी नेताहरूको मोबाइलमा ह्याकिङको प्रयास भएको चेतावनी एप्पलबाटै आएको गान्धीको भनाइ छ ।
केही विपक्षी सांसदहरूले त आइफोन निर्माता कम्पनीको म्यासेजलाई उद्धृत गर्दै मोदी सरकार विपक्षीलाई नियन्त्रण गर्ने खेलमा लागेको बताउन थालेका छन् । उनीहरूले मोदी अधिनायकवादी बनेको आरोप लगाइरहेका छन् ।
ती नेताहरूले एप्पलले पठाएको चेतावनीको स्क्रिनसट सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । त्यहाँ राज्यबाट प्रायोजित ह्याकरहरूले फोन ह्याक गर्न खोजेको सन्देश देखिएको छ । रोयटर्सका अनुसार त्यहाँ भनिएको छ, ‘एप्पलले शंका गर्छ कि तपाईं सरकारी–समर्थित ह्याकरहरूको आक्रमणको केन्द्रबिन्दुमा हुनुहुन्छ जसले तपाईंको एप्पल आईडीमार्फत आईफोनमा पहुँच र नियन्त्रण प्राप्त गर्ने प्रयास गरिरहेका छन् ।’
विपक्षी नेताहरूको आईफोनमा ह्याकिङबारे चेतावनीहरू आउन थालेपछि प्रमुख विपक्षी दल कांग्रेस आईका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता राहुल गान्धीले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री मोदीलाई भनेका छन्, ‘तपाईंले चाहेको सबैको फोन ह्याक गर्नुहोस् । तर, हामी प्रतिपक्ष तपाईंलाई प्रश्न गर्न छाड्ने छैनौँ ।’
विपक्षीहरूले गम्भीर आरोपहरू लगाएसँगै भारतका केन्द्रीय सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सांसदहरूको भनाइप्रति चिन्ता व्यक्त गर्दै सरकारले एप्पललाई यस विषयको अनुसन्धानमा सामेल हुन आग्रह गरेको बताएका छन् ।
एप्पले पनि जवाफमा भनेको छ, ‘राज्य–प्रायोजित ह्याकरहरू आर्थिक र प्राविधिक स्रोतसाधनले भरिपूर्ण हुन्छन्, उनीहरू दिनदिनै शक्तिशाली बन्दै गएका छन् । यस्ता आक्रमण पत्ता लगाउने तरिका खुफिया संकेतहरूमा आधारित हुन्छन् र कतिपय अवस्थामा अशुद्ध र अपूर्ण हुन्छन् । यो सम्भव छ कि आक्रमणको चेतावनी दिने केही सन्देशहरू गलत हुन सक्छन्, र केही आक्रमणहरू पत्ता लगाइको नहुन सक्छ ।’
एप्पल थप भन्छ, ‘हामीले कस्तो अवस्थामा त्यस्ता चेतावनीहरू जारी गर्छौं त्यो खुलाउन असमर्थ छौँ किनभने त्यसो गर्दा राज्य–प्रायोजित ह्याकरहरूले भविष्यमा बच्ने उपायको विकल्प पाउनेछन् ।’ एप्पलले समग्रमा आफ्नो चेतावनी प्रणालीले सही सूचना दिने र कहिलेकाहीँ भने गलत चेतावनी पनि जान सक्ने बताएको हो ।
बीबीसीहिन्दीका अनुसार भारतको सरकारले एप्पलको उत्तर अस्पष्ट भएको बताएको छ ।
यसअघि पनि मोदी सरकारले इजरायलले विकास गरेको सफ्टवेयर पेगासस प्रयोग गर्दै राहुल गान्धी लगायत दर्जनौँ पत्रकार, कार्यकर्ता र राजनीतिज्ञहरूको जासूसी गरेको खबर सार्वजनिक भइसकेको छ ।
मोदी सरकारले कसैको निगरानीका लागि पेगासस स्पाइवेयर खरिद गरेको थियो कि थिएन भन्ने प्रश्नहरूको जवाफ दिन अहिलेसम्म अस्वीकार गरेको छ ।