राजतन्त्रवादी भर्जेस गणतन्त्रिक व्यवस्थाः प्रचण्डको प्रष्ट र वर्षमानको बोल्ड सन्देश

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार शान्ति सम्झौताका हस्ताक्षरकर्ता दलहरूको बैठक राखेर सबैलाई सहमत गराए कि व्यवस्था जोगाउन एकजुट हुनु पर्छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा उनले पछिल्लो राजनीति अवस्था, व्यवस्थामाथि सुरु भएको प्रहारबारे दलहरूलाई ब्रिफिङ गरेका थिए ।

संघीयता, संविधान, गणतन्त्रविरुद्ध चलखेल हुनथाल्यो, खेतीपाती हुन थाल्यो चुनौती सिर्जना हुनथाल्यो राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्‍यो । देश गम्भीर संकटमा छ । यस्तोबेला प्रमुख प्रतिपक्षी पनि हाम्रो साथमा भइदिए हुन्थ्यो । गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा भइदिए त्यस्ता अराजक शक्तिहरूलाइ निस्तेज पार्न सक्छौँ’, प्रधानमन्त्रीको भनाई थियो।

विहीबार पनि प्रचण्डले व्यवस्थाबारे बोल्ड सन्देश दिएका छन्। प्रचण्डले जनयुद्धको मर्मलाई कसैले दबाउन नसक्ने बताएका छन्।

बिहीबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई जति दबाउन खोजे पनि पटक–पटक उठिराख्ने बताए।

उनले जनयुद्धलाई दबाइए चिहानबाट भए पनि फेरि उठ्ने बताए। हजारौँ मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले एकछिन दबाए पनि फेरि उठ्ने उनको भनाइ थियो।

‘…हजारौँ मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एकछिन दबाइयो भने पनि फेरि उठ्छ त्यो। कार्ल मार्क्स भन्नुभएको थियो– महान उद्देश्यको निम्ति समर्पित भएर त्याग गर्ने सहिदहरु कहिल्यै मर्दैनन्। अहिले एकछिन दबाइएर चिहानमा पुरिए पनि चिहानबाट फेरि ती जाग्छन्। र जिउँदा मान्छेका निम्ति प्रेरणा भएर फेरि आउँछन्। ती हजारौँ सहिदहरु कहिल्यै पनि दबिने छैनन्,’ उनले भने।

प्रधानमन्त्री दाहालले आफूले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेर अरु कुनै प्रधानमन्त्रीले पनि गर्न नसकेको काम गरेको बताए। पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा भूमिका खेलेको भन्दै उनले सो भूमिकालाई सम्मान गर्नु कर्तव्य हुने बताए।

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठूलो जनताको तहबाट भएको विद्रोह र पहलकदमी भएको जिकिर गरे। उनले जनयुद्धको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी रहेको भन्दै समयक्रममा यसको आधिकारिक र प्रमाणिक व्याख्या हुने बताए।

वर्षमानको पनि बोल्ड सन्देश

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पनि राजतन्त्रबादीहरूलाई कडा सन्देश दिएका छन्। उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि कुनै खतरा नरहेको बताएका छन् । उनले इतिहास भइसकेको वंश परम्परा आधारित राजतन्त्र कुनै हालतमा फर्कन नसक्ने उल्लेख गरे ।

निरंकुशताको आडमा व्यक्तिगत फाइदा लिएका केही व्यक्ति र शक्तिले विगतमा पनि गणतन्त्रप्रति विमति राखेको भन्दै उनले तिनै व्यक्तिले राजतन्त्रको वकालत गरेको पुनले चर्चा गरे ।

‘सानो समूहमा रहेका केही पश्चगामी र निरंकुशतन्त्रका पक्षपातीहरुले हिजोका दिनमा पनि गणतन्त्रप्रति विमति राखेका थिए । तिनीहरु स्वभाविक रुपले राजतन्त्रकै निरन्तरता चाहन्थे’, पार्टी सम्वद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले बिहीबार ललितपुरको लगनखेलमा गरेको कार्यक्रममा पुनले भने, ‘वंशानुगत राजतन्त्रबाट लाभ प्राप्त गरेका तत्कालीन दरकारका आसेपासे, ढोके, हुक्के र तिनका चम्चेहरुले राजतन्त्र चाहिन्छ भन्नुलाई विकल्कुल अस्वभाविक मान्नुपर्दैन ।’

पुनले राजतन्त्रमा जनताले राज्यका लाभ नपाएको स्पष्ट रहेको भन्दै आमजनता गणतन्त्रको पक्ष र राजतन्त्रको विपक्षमा रहेको दाबी गरे । ‘सधैं राजतन्त्रबाट लाभ लिएकको वर्ग र समुदायले गणतन्त्र भत्काउन पाए फेरि गुमेको स्वर्ग फर्कन्थ्यो कि भन्ने ठान्नु अन्यथा होइन’, उनले भने, ‘त्यो वर्ग र शक्ति आज असान्दर्भिक भइसकेको छ ।’

गणतन्त्र, संविधान, संघीयता र धर्मनिरपेक्षताजस्ता परिवर्तनका राजनीतिक उपलब्धी बचाउनु माओवादीसहित १२ बुँदे समझदारी, ०६२/०६३ को जनआन्दोलन शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियामा सहभागी मुलधारका राजनीतिक दलहरुको दायित्व भएको पुनले बताए ।

आधुनिक नेपालको राजनीति १२ बुँदे समझदारीको जगबाट अघि बढेकाले त्यस पक्षधर शत्तिहरुबीच दैनन्दिनका राजनीतिक एजेण्डामा विमति भए पनि उपलब्धी बचाउने सवालमा समानता रहेको उनको भनाइ थियो ।

‘आजको राजनीति गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीताको र सामाजिक न्यायको राजनीति हो । यसलाई समर्थन गर्ने मुलधारका राजनीतिक शक्तिहरुले यी परिवर्तनका आधार स्तम्भहरुलाई थप विकास, सुदृढ र परिस्कृत गर्दै जाँदा जनताको म्याण्डेटबाट गलहत्याइएको राजतन्त्र फर्कने कुनै गुञ्जायास छैन’, पुनले भने ।

३० वर्षे पञ्चायतभन्दा बहुदलका समयमा र बहुदलभन्दा गणतन्त्रको १६ वर्षमा स्वास्थ्य, शिक्षा, सडक, भौतिक पूर्वाधारसहित विकासका सबै सूचकांकमा चार गुणभन्दा बढी प्रगति भएको आँकडाले नै पुष्टि गरेको भन्दै उनले ‘केही पनि भएको छैन भन्ने’ पश्चगामीहरुले फैल्याउन खोजेको भ्रम मात्र भएको टिप्पणी गरे ।