प्रचण्डको सन्तुलित कूटनीतिको परिणामः सहयोगमा छिमेकीको सकारात्मक प्रतिस्पर्धा

मूलखबर संवाददाता
काठमाडौं

दुई साताअघि मात्र प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनयुद्ध सञ्चालनको आधार इलाका रुकुम पश्चिम पुगेका थिए।

रुकुम पश्चिममा आयोजित सहिद मेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले भनेका थिए- “हामीले छिमेकी र मित्र राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाएका छौं। अझै पनि बलियो हुने छ। मैले भारत, चीन र अमेरिकाको भ्रमण पनि गरेँ। ती देशहरू नेपालको समृद्धि, विकासको विषयमा निकै सकारात्मक रहेको देखिन्छन्।”

त्यही जनयुद्धको आधार इलाकामा केही दिनअघि ठूलो भूकम्प गयो। जाजरकोट र रुकुम पश्चिममा भूकम्पले ठूलो क्षति पुर्‍याएकको छ।  र प्रचण्डले कायम गरेको सन्तुलनको कूटनीतिले नेपाललाई लाभ हुन थालेको प्रमाण पछिल्लो भूकम्पका बेला छिमेकीले गरेको सहयोगको प्रतिस्पर्धा हो। कर्णालीका जाजरकोट र रुकुम-पश्चिमका भूकम्पपीडितका लागि राहत घोषणादेखि आपूर्तिसम्म छिमकी भारत र चीनबीच सकारात्मक प्रतिस्पर्धा देखिएको छ । यो नेपालले अपनाएको सन्तुलिन कूटनीतिको परिणाम हो।

चिनियाँ घोषणाअनुसार ३० करोड भन्दा बढीको राहत सामग्री आइपुगिसकेको छ । त्यस्तै भारतीय सेवाको विमानबाट थप राहत सामग्री आइपुगेको छ । छिमेकी भारतले दुई पटक गरेर भारतीय एयरफोर्सको दुई विमान अवतरण गरायो भने चीनले बुधबार बिहान एकैपटक जनमुक्ति सेनाको एयर फोर्सका दुई विमान पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएको थियो।

जाजरकोट भूकम्पलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनासाथ कात्तिक २० गते भारतीय सेनाको विशेष विमान ‘सी–१२०’ भूकम्प प्रभावित क्षेत्रनजिकै पर्ने नेपालगन्जमा अवतरण भयो।

गत शुक्रबार रातिको भूकम्पबाट प्रभावितका लागि आएको राहत बुझ्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का विमानस्थल पुगे। उपप्रधानमन्त्री खड्कालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विमानस्थलमै ती सामग्री हस्तान्तरण गरे।

चीन नेपालको दुःखमा सधैं साथी

चिनियाँ राजदूत छेन सङले छिमेकीलाई परेको दु;खमा आफूहरुले सधैं साथ दिने बताएका छन्। चिनियाँ जनमुक्ति सेनाको दुईवटा जहाजबाट जाजरकोट भूकम्पपीडितका लागि ल्याइएका राहत सामग्री पोखरामा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरणका क्रममा उनले यस्तो बताएका हुन्।

चिनियाँ राजदुत सङले चीन सरकारले पठाएका राहत सामाग्री बुझाउने क्रममा शुक्रबार रातिको भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।

बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मूल्य बराबरको सामाग्री उपप्रधानमन्त्री श्रेष्ठले बुझेका थिए। नेपाल र नेपाली जनताको दु:खमा आफ्नो देशको सधैँ साथसहयोग रहने उनले दोहोर्‍याए।

राष्ट्रपति सी चिनफिङले समेत पत्र पठाएर संवेदना जाहेर गरेको उनले बताए।

उता उपप्रधानमन्त्री श्रेष्ठले सहयोगका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे। नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुवै मुलुक एकअर्काको दु:खमा साथमा रहेको र यो द्रूत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए।

चीनबाट दुईवटा एयरक्राफ्टबाट चार हजार छ सय ब्लाङ्केट र छ सय टेन्ट आएका छन्। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ।

जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्।

उता, जाजरकोट र रुकुम भूकम्प पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ।

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसँगको औपचारिक भेटवार्ताका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले सहयोगको घोषणा गरेका हुन्।

सन्तुलित कूटनीतिको सकारात्मक परिणाम
प्रचण्डले नेपालले दुई छिमेकी सन्तुलन राख्ने र आकाशका छिमेकीलाई पनि उत्तिकै प्राथमिकता दिएर सहकार्य गर्न चाहेको सन्देश दिँदै आएका छन्। यस पटकको कार्यकालका प्रचण्डले छिमेकी देश मात्र होइन युरोप र अमेरिका पनि भ्रमण गरेर नेपालको विस्तार भैरहेको कूटनीतिक इन्गेजमेन्टको झल्को पनि दिएका छन्।

चीन र भारतलाई सन्तुलनमा राखेर उच्चतम लाभ लिने र अमेरिका लगायतका आकाशका छिमेकीसँग देशको हितलाई केन्द्रमा राखेर सहकार्य बढाउने प्रचण्डको प्रष्ट दृष्टिकोण देखिन्छ। जसको लाभ अफ्ठेरोको समयमा पनि देशले पाएको छ।