विश्व कूटनीतिमा चीनको चासोः मध्यपूर्वमा कस्तो भूमिका चाहिरहेको छ बेइजिङ
इजरेल र हमासबीचको लडाइँ चर्कँदै जाँदा एउटा असामान्य गतिविधि पनि सँगैसँगै देखिएको छ। त्यो हो शान्ति स्थापनाका निम्ति मध्यस्थताको प्रयासमा चीनको भूमिका। तर चीनले हासिल गर्न सक्ने कुराहरूमा केही सीमितता भने छ।
इजरेल र हमासबीचको सङ्घर्षले ठूलो क्षेत्रीय युद्धको स्वरूप लिन सक्ने डरका माझ चीनका वरिष्ठ कूटनीतिज्ञ वाङ यीले उक्त लडाइँका बारेमा गत सप्ताहान्ततिर वाशिङ्टनस्थित अधिकारीहरूसँग वार्ता गरेका छन्। अमेरिकाले कुनै समाधान खोज्न चीनसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि जनाएको छ।
मध्यपूर्वका लागि चीनका विशेष दूत झाइ जुन अरब नेताहरूसँग वार्ता गर्न त्यस क्षेत्रतर्फ प्रस्थान गरेपछि वाङले उनका इजरेली तथा प्यालेस्टिनी समकक्षीहरूसँग पनि वार्ता गरेका छन्। संयुक्त राष्ट्रसङ्घका बैठकहरूमा पनि चीन युद्धविरामको पक्षमा उभिने गरेको छ।
तनाव कम गर्न इरानसँगको आफ्नो निकट सम्बन्धलाई पनि चीनले सदुपयोग गर्न सक्ने आशा व्यक्त भइरहेको छ। इरानले गाजामा हमासलाई र लेबननमा हिज्बुल्लाहलाई समर्थन गर्छ।
फाइनान्शल टाइम्स पत्रिकाका अनुसार इरानीहरूसँग “शान्तिका लागि आह्वान गर्न” अमेरिकी अधिकारीहरूले वाङलाई जोड दिएका थिए।
चीनको भूमिका कस्तो हुन सक्छ
चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र यो वर्ष केही अघि बेइजिङले इरान र साउदी अरबबीच सम्बन्ध सुधारको दुर्लभ सफलता हासिल गरेको थियो।
तेहरानले गाजाको अवस्था सुल्झाउनका निम्ति “चीनसँग कुराकानी सबल तुल्याउन आफू तयार रहेको” बताएको छ।
यो द्वन्द्वका सबै पक्षसँग चिनियाँ सरकारको सन्तुलित सम्बन्ध रहेका कारणले गर्दा पनि तिनलाई इमान्दार मध्यस्थकर्ताका रूपमा लिन सकिने धारणा डन मर्फीको छ। उनी अमेरिकी रक्षा मन्त्रालयअन्तर्गत रहेको न्याश्नल वार कलेजमा चिनियाँ विदेशनीतिको अध्ययन गर्ने सहप्राध्यापक हुन्।
चीनको विशेष गरी प्यालेस्टिनी, अरबहरू, टर्की र इरानसँग सकारात्मक सम्बन्ध रहेको औँल्याउँदै उनी भन्छिन्, “इजरेलसँग असल सम्बन्ध भएको अमेरिकासँग मिलेर तिनीहरूले द्वन्द्वका सबै पक्षलाई एउटै टेबलमा ल्याउन सक्ने छन्।”
तर केही अन्य पर्यवेक्षकहरूको विचारमा मध्यपूर्वको राजनीतिमा चीन एउटा सानो खेलाडी मात्र हो।
मध्यपूर्वसँग चीनको सम्बन्ध बारेका विशेषज्ञ तथा एट्लान्टिक काउन्सिलका गैरआवासीय अध्येता जोनाथन फुल्टन भन्छन्, “चीन यो मामिलामा एक गम्भीर पात्र होइन। यस क्षेत्रका मानिसहरूसँग कुरा गर्दा चीनले कुनै समाधान हासिल गर्न योगदान दिन सक्ला भनेर कसैले पनि अपेक्षा गरेको पाइएन।”
यो द्वन्द्वका सम्बन्धमा चीनले सबैभन्दा पहिलो पटक दिएको वक्तव्यले इजरेललाई आक्रोशित तुल्याएको थियो। उसले चीनले हमासको निन्दा नगरेको र इजरेलको प्रतिरक्षा गर्न पाउने अधिकारबारे उल्लेख नगरेकोमा “गहिरो निराशा” व्यक्त गरेको थियो।
पहिलो वक्तव्यले त्यस्तो विरोध निम्त्याएपछि वाङ यीले “सबै देशहरूको आत्मप्रतिरक्षाको अधिकार हुने” भनेर इजरेललाई बताउनुपरेको थियो।
उनले अन्यत्र दिएको वक्तव्यमा इजरेलको कदम “आत्मप्रतिरक्षाको दायराभन्दा बाहिर पुगेको” पनि बताएका थिए।
चीनले किन चासो दिएको हो?
चीनको इजरेलसँगको सम्बन्धको पछिल्लो अवस्थामा विभिन्न अनिश्चितताहरू छन्। तर त्यसो हुँदाहुँदै पनि यो द्वन्द्वमा चीन किन सङ्लग्न हुन चाहन्छ त?
एउटा कारण मध्यपूर्वमा उसको आर्थिक स्वार्थहरू हुनु हो। यो द्वन्द्वले बृहत् रूप लिएमा त्यो चीनको हितमा नहुन सक्छ।
बेइजिङ हाल विदेशी तेलको निर्यातमा ठूलो स्तरमा निर्भर छ र विश्लेषकहरूका अनुसार त्यस्तो तेलको आधाभन्दा बढी हिस्सा खाडी राष्ट्रहरूबाट आउने गर्छ। चीनको विदेश तथा आर्थिक नीतिको जगका रूपमा रहेको बेल्ट एन्ड रोड इनिशटिभमा पनि मध्यपूर्वका देशहरूको भूमिका बढ्दो रूपमा महत्त्वपूर्ण बन्दै गएको छ।
अनि अर्को कारण यो द्वन्द्वमा चीनले आफ्नो प्रतिष्ठा चम्काउने सुनौलो अवसर देख्नु हो।
“प्यालेस्टिनीहरूको पक्षमा उभिँदा त्यो अरब देशहरूका साथै मुस्लिम बाहुल्य भएका देशहरू र ग्लोबल साउथको ठूलो हिस्साको साथ लागेको जस्तो देखिन पाइनेमा चीन विश्वास गर्छ,” डा मर्फी भन्छिन्।
यो युद्ध त्यस्तो समयमा भइरहेको छ जुन बेला चीनले विश्वका सामु आफूलाई अमेरिकाभन्दा उत्कृष्ट रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ।
चीनले मध्यपूर्वमा शान्ति स्थापना गर्न मात्र चाहेको हो र “प्यालेस्टिनी विषयमा कुनै स्वार्थपूर्ण रुचि नभएको” दाबी वाङको छ।
यो कुरामा बाँकी विश्वलाई आश्वस्त पार्ने चुनौती चीनसमक्ष छ।
बीबीसीबाट साभार