मध्यपूर्वमा चलिरहेको मध्ययुगः गाजामा मृतकको संख्या आठहजारभन्दा बढी
इजरायली आक्रमणमा परेर गाजामा ज्यान गुमाउनेको संख्या आठहजार ७९७ पुगेको छ । अक्टोबर ७ यता इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ । जसमध्ये तीनहजार ६४८ जना बालबालिका र दुईहजार २९० महिला रहेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ
इजरायली आक्रमणका कारण गाजाको अवस्था निरन्तर बिग्रिँदै गएको छ । उसले आक्रमणलाई थप सशक्त बनाइरहेको छ ।
इजरायलले गएको मंगलबारयता गाजा आक्रमणका क्रममा आफ्ना १५ सैनिकको ज्यान गएको बताएको छ ।
उता, अक्टोबर ७ को आक्रमणपछि पहिलोपटक गाजातर्फको इजिप्टको सीमा नाका खोलिएको छ । पहिलो चरणमा कम्तीमा ३२० विदेशी पासपोर्ट होल्डर र घाइते भएका प्यालेस्टाइनी नागरिक इजिप्ट प्रवेश गरेको बीबीसीले जनाएको छ ।
यसैबीच, राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा हमासका एक कमाण्डरलाई लक्षित गरी गरिएको आक्रमणमा दर्जनौं सर्वसाधारण व्यक्तिको मृत्यु भएको भन्दै बुधबार त्यसको भत्र्सना गरेको छ।
संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्यजारी गर्दै भनेका छन्, ‘गाजाका जनतामाथि परेको यो पछिल्लो ज्यादती हो, जहाँ युद्ध अझ डरलाग्दो चरणमा प्रवेश गरेको छ।’
यसैबीच, जोर्डनबाट प्राप्त समाचार अनुसार अक्टोबर ७ मा भएको आक्रमणको विरोधमा इजरायलले गाजाका हमास शासकविरुद्ध लिएको कदमको विरोधमा जोर्डनले आफ्नो राजदूतलाई ‘तत्काल’ फिर्ता बोलाउने बताएको छ।