
अमेरिकाले दोहोर्याएको दाबीः नेपाल इन्डो प्यासिफिकको महत्वपूर्ण साझेदार
अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले नेपाललाई इन्डो प्यासिफिकको महत्वपूर्ण साझेदार भएको भनाई दोहोर्याएका छन्।
नेपालका परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनबीच अमेरिकाको वासिंगटन डिसीमा भेटवार्ताका क्रममा उनले सो कुरा बताएका हुन्। ७६ वर्ष लामो कुटनैतिक सम्बन्धको अवधिमा नेपाल इन्डो प्यासिफिकको महत्वपूर्ण सहयोगी भएको अमेरिकाको दाबी छ।
ब्लिन्केनले नेपाल र अमेरिकाका बीचमा स्वतन्त्र, खुल्ला,सुरक्षित र सम्मुन्नत इन्डो प्यासिफिक ग्यारेन्टी गर्नका लागि एकसाथ कार्य भइरहेको पनि बताएका छन्। अक्टोबर ३० तारिक विहान डिसी आइपुगेका मन्त्री साउद र ब्लिंकेनबीच सोही दिन दिउँसो अमेरिकी विदेश मन्त्रालयमा दुईपक्षीय भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा नेपाली परराष्ट मन्त्री साउदले अमेरिका नेपालको विकासको साझेदार रहेको भन्दै अमेरिकाले स्वास्थ्य, शिक्षामा गरेको सहयोगका साथै संकट र समस्याका बेला गरेको सहयोगको प्रसंसा गरेका थिए।
डिसीस्थित नेपाली दूतावासले जारी गरेको सूचनाअनुसार, दुई नेताका बीचमा विकास साझेदारी, व्यापार र बजारमा पहुंच एवं लगानीका बारेमा कुराकानी भएको छ। यसैगरी प्रविधि, कृषि र खाद्य सुरक्षाका बारेमा पनि दुई विदेशमन्त्रीहरु बीच कुरा भएको दूतावासले जनाएको छ।
