हमास-इजरायल द्वन्द्वले गाजामा चरम मानवीय संकट, दुबैतर्फबाट कठोर सन्देश
गाजामा काम गर्ने संयुक्त राष्ट्र संघको मुख्य एजेन्सीले इन्धनको अभावका कारण गम्भीर मानवीय संकट चुलिएको र केही घण्टाभित्रै आफूले काम गर्न नसक्ने बताएको छ ।
युरोपेली संघका एक वरिष्ठ कूटनीतिज्ञले यस हप्ताको युरोपेली परिषद्को बैठकमा गाजामा सहायतालाई पहुँच दिने स्थिति बनाउन आवश्यक रहेको बताएका छन् । यस्तोमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा जमिन कब्जासहित आक्रमणको तयारी भइरहेको फेरि दोहोर्याएका छन् । तर, उनले कहिले हुन्छ भन्ने मिति भने खुलासा गरेका छैनन् ।
अमेरिकी सैन्य सल्लाहकारले इजरायललाई भूमि आक्रमण नगर्न आग्रह गरिरहेका छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा हमासले अक्टोबर ७ मा गरेको हमला बिना कारण नभएको भन्ने टिप्पणीलाई इजरायलले गलतढंगले चित्रण गरेको बताएका छन् ।
७ अक्टोबरमा हमासले गरेको आक्रमणमा इजरायलमा १४०० भन्दा बढीको ज्यान गएको बताइएको छ । हमासले २०० जनालाई अझै बन्दक बनाएर राखेको जनाइएको छ ।
उता इजरायली वेस्ट बैंकतर्फ पनि आक्रमण बढाएको र ७ अक्टोबरयता १४०० भन्दा बढी प्यालेस्टाइनीहरुलाई कब्जामा राखेको बताइएको छ ।
यसैबीच, गाजामा युद्धविराम नभएसम्म बन्धक बनाइएकालाई रिहाइ नगर्ने हमासले घोषणा गरेको छ । रुसको भ्रमणमा रहेको हमास प्रतिनिधिमण्डलका एक सदस्यले अक्टोबर ७ को आक्रमणमा बन्धक बनाइएकालाई रिहाइ गर्न नसकिने बताएका हुन् ।
इजरायलका प्रमुख सैन्य प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले हाल २२९ जना हमासको कब्जामा रहेको बताएका छन् । गाजामा बन्दी बनाइएका चारजनालाई हमासले रिहा गरिसकेको छ । अरु पनि जीवितै रिहा हुने अपेक्षा गरिएको छ ।
रुसले मस्कोमा हमास प्रतिनिधिमण्डललाई बोलाउनु पछाडि विशेष कूटनीतिक प्रयास हुनसक्ने ठानिएको छ । यसबीच अमेरिकाले सिरियामा इरानी र इरान समर्थक क्षेत्रमा आक्रमण गरेको बताएको छ ।